बझाङमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा सुर्मा गाउँपालिका–४ का २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक बिष्टले बताए।
दुर्घटनामा जयपृथ्वी नगरपालिका–८ की २५ वर्षीया बिपना बोहरा र भारतको कलकत्ताका ४५ वर्षीय सुवाशिस दास गुप्ता घाइते भएका छन्।
घाइतेमध्ये गुप्ताको अवस्था सामान्य रहेको छ भने बोहराको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
बिहीबार बिहान १० बजेतिर कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप सुर्मा गाउँपालिका–४ को दौलीचौरबाट सुर्मा गाउँपालिका–२ को दोगडीतर्फ जाने क्रममा भित्री सडकमा दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब २० मिटर तल खसेको थियो।
जिप स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ जाँदै थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।