सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन्।
बिहीबार मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सो निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा आइजिपी पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिए।
साथै सो क्षेत्रमा कार्यरत कमाण्डरहरूलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।
सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न उनले निर्देशन दिए।
उनले सीमामा बसोवास गर्ने स्थानीय बासिन्दाहरूसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरूको सहजताका लागि समेत ध्यानमा राखी कार्य गर्नुपर्ने बताए।
उनले वर्षातको समयलाई मध्यनजर गर्दै बाढी तथा डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरूलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिए।