असार ५ गते भित्रिएको मनसुन उत्तरार्द्धमा छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रने र बाहिरिने औसत मिति जुन १३ र अक्टोबर २ लाई मानेको छ। औसत मितिअनुसार बाहिरिने दिन आज हो।
यद्यपि भित्रने र बाहिरिने मिति केही तलमाथि हुँदै आएको छ।
मौसमविद सन्जीव अधिकारीले पश्चिम नेपालबाट मनसुन बाहिरिने आधारहरू क्रमशः पूरा हुँदै गएकाले अब केही दिनभित्रै मनसुन बाहिरिने सम्भावना रहेको बताएका छन्।
उनका अनुसार अहिले पश्चिम नेपालमा मनसुन बाहिरिने आवश्यक अवस्थाहरू बन्न थालेका छन्।
ती अवस्था एक–दुई दिन निरन्तर रहेपछि मात्र मनसुन औपचारिक रूपमा बाहिरिएको घोषणा महाशाखाले गर्नेछ।
‘पश्चिम नेपालबाट यी क्राइटेरियाहरू पूरा हुन लागिरहेको देखिन्छ। एक–दुई दिन हेरेर कन्फर्म भएपछि मनसुन बहिर्गमनको औपचारिक घोषणा गर्छौं,’ अधिकारीले भने।
नेपालबाट मनसुन बाहिरिन एउटै अवस्थाले मात्रै पुग्दैन। वायुमण्डलमा रहेको आर्द्रता कम हुँदै जानु, पूर्वबाट आउने मनसुनी हावा हटेर पश्चिमी वायु हाबी हुनु र वर्षा गराउने प्रणालीमा पनि परिवर्तन आउनुपर्छ।
मनसुन बाहिरिने क्रममा पूर्वबाट आउने मनसुनी हावा कमजोर हुँदै जान्छ भने पश्चिमबाट आउने हावा बलियो हुँदै जान्छ। त्यसैगरी वर्षा गराउने गतिविधि मनसुनी प्रणालीका कारण नभई पश्चिमबाट आउने प्रणालीका कारण हुन थालेपछि मनसुन बाहिरिने प्रक्रिया पूरा भएको मानिन्छ।
‘धेरै क्राइटेरिया हुन्छन्। सामान्य रूपमा हेर्दा वायुमण्डलमा मोइस्चर कम हुनुपर्छ, पूर्वीय वायु हट्दै पश्चिमी वायुले डोमिनेट गर्नुपर्छ। वर्षाका गतिविधिहरू पूर्वबाट आएको मोइस्चरले नभई पश्चिमबाट आएको प्रणालीले हुनुपर्छ,’ अधिकारीले भने।
मनसुन बाहिरिने क्रममा तल्लो वायुमण्डलको अवस्थासँगै माथिल्लो वायुमण्डलको अवस्था पनि हेरिन्छ। विशेषगरी जेट स्ट्रिमको अवस्थालाई समेत निगरानी गरिन्छ। उपल्लो वायुमण्डलमा सबट्रपिकल जेट स्ट्रिमको प्रभाव देखिन थालेपछि मनसुन कमजोर हुँदै गएको वा बाहिरिने अवस्थामा पुगेको बुझिन्छ।
अधिकारीका अनुसार अहिले पश्चिम नेपालमा यीमध्ये धेरै आधारहरू पूरा हुने क्रममा छन्। त्यसैले यसपालि मनसुन औसत मितिभन्दा धेरै ढिलो बाहिरिने अवस्था भने देखिएको छैन।
‘अब नेपालबाट धेरै दिन मनसुन रहँदैन। थोरै दिनभित्रै पश्चिम नेपालबाट बाहिरिने सम्भावना अलि बढी नै छ,’ उनले भने।
भारतमा पनि मनसुन बाहिरिने प्रक्रिया सुरु भइसकेको छ। तर भारत ठूलो भूभाग भएकाले त्यहाँ सबै क्षेत्रबाट मनसुन बाहिरिन अझै समय लाग्ने अधिकारीले बताए।
नेपालमा मनसुन बाहिरिएपछि पनि तत्कालै वर्षा पूर्ण रूपमा रोकिने भने होइन। पश्चिमी वायु वा स्थानीय मौसम प्रणालीका कारण वर्षा हुन सक्छ। त्यसैले मनसुन बाहिरिनु र नेपालमा वर्षा पूर्ण रूपमा रोकिनु एउटै कुरा होइन।
अहिले भने देशका धेरै ठाउँमा वर्षाको सम्भावना न्यून रहेको अधिकारीले बताए। उनका अनुसार आज पनि हिजोजस्तै एकदमै कम ठाउँमा मात्रै वर्षा हुने सम्भावना छ। पर्सितिर वर्षाको गतिविधि केही बढ्न सक्ने देखिए पनि ठूलो वर्षाको सम्भावना छैन।
‘एक–दुई ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्छ,’ उनले भने।
यसरी हेर्दा अबको केही दिन नेपालमा मनसुनको अन्तिम चरण रहनेछ। पश्चिमबाट आउने हावा बलियो हुँदै जाँदा र मनसुनी हावा कमजोर हुँदै गएपछि मनसुन क्रमशः नेपालबाट बाहिरिनेछ। औपचारिक घोषणा भने आवश्यक सबै अवस्था एक–दुई दिन पुष्टि भएपछि गरिने मौसमविद् अधिकारीले बताएका छन्।