अमेरिकाले साउदी अरब र कतारमा थप मिसाइल प्रतिरक्षा प्रणाली पठाएको छ।
इरानमाथि पुनः सैन्य कारबाही हुने आकलनमा अमेरिकाले साउदी र कतारमा प्याट्रियट मिसाइल प्रतिरक्षा हतियार पठाएको हो।
अमेरिकी अनलाइन एक्सियसका अनुसार अमेरिकाले दुई देशमा कम्तिमा दुइटा प्याट्रियट प्रणाली पठाएको छ।
यो प्रणालीमा रडार, नियन्त्रण केन्द्र, मिसाइल प्रक्षेपण गर्ने लन्चर, सञ्चार तथा विद्युत् प्रणाली र ती लन्चरमा राखिने इन्टरसेप्टर क्षेप्यास्त्रहरू हुन्छन्।
अमेरिकाले इरानमा पुनः सैन्य कारबाही गरेको खण्डमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरी आक्रमण गर्न सक्छ। सँगै तेल प्रशोधन वा ऊर्जा केन्द्रमा पनि इरानले हमला गर्न सक्छ।
साउदीमा पठाइएको प्याट्रियट प्रणाली एउटा महत्त्वपूर्ण तेल प्रशोधन वा ऊर्जा केन्द्रको सुरक्षाका लागि र कतारमा पठाइएको प्रणाली प्राकृतिक ग्याससम्बन्धी महत्वपूर्ण संरचनाको सुरक्षाका लागि तैनाथ गरिएको एक्सियसले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आगामी केही सातामा इरानमाथि पुनः बमबारी अभियान सुरु गर्नेबारे आफूले विचार गरिरहेको बताएका थिए।
उनले इरानसँग सम्झौता नभए थप कडा सैन्य कदम चाल्ने संकेत गरेका थिए।
इरानसँगको युद्ध पुनः चर्किन सक्ने अवस्थाबीच अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति पनि बढाइरहेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले थप युद्धपोत, लडाकु विमान र सैनिकहरू मध्यपूर्वमा पठाइरहेको छ।
यसअघि अगस्टमा ट्रम्पले इरानका ऊर्जा संरचनासमेत लक्षित हुने गरी ठूलो सैन्य आक्रमण गर्नेबारे विचार गरिरहेका बेला साउदी र कतारका नेताहरूले उनलाई त्यस्तो कदम नचाल्न आग्रह गरेका थिए।
इरानमाथि आक्रमण भए त्यसको बदलामा आफ्ना तेल तथा ग्यास संरचनामाथि आक्रमण हुन सक्ने उनीहरूको चिन्ता थियो।
एक्सियसका अनुसार त्यसपछि ट्रम्पले तत्काल आक्रमण नगरी इरानमाथि आर्थिक नाकाबन्दीको रणनीति तय गरेका थिए।
अमेरिकाका लागि साउदी अरेबियाको हवाई क्षेत्र पनि महत्वपूर्ण छ।
इरानविरुद्ध ठूलो सैन्य कारबाही पुनः सुरु भए अमेरिकी सैन्य विमानलाई साउदीको हवाई क्षेत्र प्रयोग गर्नुपर्ने हुन सक्छ।
तर आफ्नो तेल पूर्वाधारको सुरक्षा सुनिश्चित नभए साउदीले अमेरिकी सेनालाई हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन कठिन हुने अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाउने क्रममा थप नौसैनिक शक्ति पनि पठाइरहेको छ।
अमेरिकी अधिकारीका अनुसार ‘यूएसएस थियोडोर रुजवेल्ट’ विमानवाहक युद्धपोत र त्यससँगको युद्ध समूह गत आइतबार क्यालिफोर्नियाबाट मध्यपूर्वतर्फ हिँडेको छ र नोभेम्बरको मध्यतिर त्यहाँ पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, ‘माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप’ पनि सोमबार मध्यपूर्वतर्फ हिँडेको छ। यसमा हजारौँ अमेरिकी मरिन सैनिक बोकेका तीनवटा पानीजहाज छन्।
यो समूह नोभेम्बरको अन्त्यसम्ममा मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ।