अमेरिकाले इरानमा फेरि सैन्य शक्ति बढाउन थालेको छ।
इरानमाथि फेरि सैन्य आक्रमणको आकलनबीच अमेरिकाले मध्यपूर्वी क्षेत्रमा सैनिक, युद्धपोत, लडाकू विमान र हतियारको तैनाथी बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
यही साता मात्रै करिब ९ हजार सैनिकहरू क्यालिफोर्नियाको सान डियागोबाट मध्यपूर्व प्रस्थान गरेको कतारी मिडिया अल जजिराले लेखेको छ।
‘यूएसएस थियोडोर रुजवेल्ट’ लडाकू विमानवाहक युद्धपोत र त्यससँगको युद्ध समूह गत आइतबार क्यालिफोर्नियाबाट मध्यपूर्वतर्फ हिँडेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
यो युद्धपोत नोभेम्बरको मध्यतिर मध्यपूर्व पुग्ने अनुमान छ।
त्यस्तै मकिन आइल्याण्ड युद्धपोतको नौसैनिक समूह मकिन आइल्याण्ड एम्फिबियस रेडी ग्रुप पनि सोमबार मध्यपूर्वतर्फ हिँडेको बताइएको छ।
यो समूह नोभेम्बरको अन्त्यसम्ममा मध्यपूर्व पुग्ने अनुमान छ।
समग्रमा करिब ७ हजार नौसेना र २ हजार मरिन सेना मध्यपूर्वतर्फ हिँडेको अल जजिराले लेखेको छ।
यससँगै क्षेत्रमा अमेरिकी युद्धपोत, लडाकु विमान र सैनिकको संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ।
अलजजिराका अनुसार रुजवेल्ट युद्ध समूह आइतबार क्यालिफोर्नियाको सान डिएगोबाट मध्यपूर्वतर्फ हिँडेको थियो। त्यसको एक दिनपछि माकिन आइल्यान्ड नेतृत्वको समुद्री सैन्य समूह पनि त्यसतर्फ अघि बढेको अमेरिकी अधिकारीले बताएका छन्।
यी समूहहरू मध्यपूर्व पुगेपछि क्षेत्रमा एकैपटक तीनवटा अमेरिकी विमानवाहक युद्ध समूह र दुईवटा एम्फिबियस ल्यान्डिङ समूह रहनेछन्।
मध्यपूर्वमा करिब ५० हजार अमेरिकी सैनिक यसअघि नै तैनाथ छन्।
नयाँ तैनाथीसँगै थप हजारौँ सैनिक र एफ–३५ जस्ता लडाकु विमान पनि क्षेत्रमा पुग्नेछन्।
अमेरिकी अधिकारीहरूले संवेदनशील सैन्य अभियानबारे नाम नबताउने सर्तमा दिएको जानकारी उद्धृत गर्दै गार्डियन र अरब न्युजले तीनवटा विमानवाहक युद्ध समूह अक्टोबरको अन्त्यसम्ममै मध्यपूर्वमा हुन सक्ने जनाएका छन्।
यसले क्षेत्रमा अमेरिकी नौसैनिक र मरिन सैनिकको संख्या २० हजारभन्दा माथि पुग्ने र सयौँ सैन्य विमान पनि तैनाथ हुनेछन्।
अहिले युएसएस जर्ज एच.डब्ल्यू बुस र युएसएस जर्ज वासिङ्टन लडाकू विमानबाहक युद्धपोत मध्यपूर्वमै छन्।
त्यस्तै, ‘यूएसएस बक्सर’ एम्फिबियस रेडीनेस ग्रुप पनि त्यो क्षेत्रमा तैनाथ छ। रुजवेल्ट आइपुगेपछि वासिङ्टनलाई जापान आसपासको समुद्री क्षेत्रमा पठाउन सकिने सम्भावना रहेको गार्डियनले जनाएको छ।
अमेरिकाले मध्यपूर्वमा सैन्य शक्ति बढाइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः ठूलो बमबारी हुन सक्ने संकेत दिइरहेका छन्।
बिहीबार प्रकाशित टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले नोभेम्बर ३ को मध्यावधि निर्वाचनपछि इरानमाथिको बमबारी बढाउन सक्ने सम्भावना रहेको बताएका छन्।
‘यो सम्भव छ,’ ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे भनेका छन्। तर त्यसको रणनीति वा कुन स्थानलाई निशाना बनाउने भन्नेबारे भने उनले विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।
इरानले पछिल्लो समय राखेको युद्धविरामसम्बन्धी प्रस्ताव पनि ट्रम्पले अस्वीकार गरेको थिए। इरानले महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव गरेको भए पनि समग्र प्रस्ताव आफूलाई स्वीकार्य नभएको ट्रम्पले बताएका छन्।
अमेरिकाको सैन्य तैनाथी बढ्नुको अर्को संकेत प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ।
एक्सियसका अनुसार अमेरिकाले पछिल्ला सातामा साउदी अरब र कतारमा एक–एकवटा थप प्याट्रियट प्रतिरक्षा प्रणाली पठाएको छ।
इरानमाथि पुनः ठूलो सैन्य कारबाही भए इरानले खाडी क्षेत्रका तेल तथा ग्यास संरचनामा आक्रमण गर्न सक्ने चिन्ताबीच ती प्रणाली पठाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
यसअघि पनि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैन्य स्रोतहरू थप बलियो बनाउँदै आएको छ।
प्याट्रियट प्रणाली, युद्धपोत, लडाकु विमान र सैनिकको नयाँ तैनाथीले इरानविरुद्ध सैन्य विकल्प खुला राख्ने अमेरिकी रणनीति देखाएको अलजजिराले अमेरिकी रक्षा मन्त्रालय र ह्वाइट हाउसका स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
अलजजिराका अनुसार अमेरिकी रक्षा मन्त्रालयले इरानसँग सम्झौता भए पनि हाल तैनाथ गरिएका सैन्य स्रोत फिर्ता लैजाने योजना बनाएको छैन।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि राष्ट्रपति ट्रम्पले नयाँ आक्रमणको आदेश दिए अमेरिकी सेना त्यसका लागि तयार रहेको बताएका छन्।
यसरी अमेरिकाले कूटनीतिक प्रयाससँगै सैन्य तयारी पनि बढाइरहेको देखिन्छ। एकातिर इरानसँग वार्ता र युद्धविरामका सम्भावना खुला राखिएको छ भने अर्कोतिर मध्यपूर्वमा ठूलो सैन्य शक्ति केन्द्रित गरेर नयाँ आक्रमणको विकल्प पनि तयार राखिएको छ।
अमेरिकाको यो सैन्य तैनाथी त्यहाँको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा भइरहेको छ।
ट्रम्पले नोभेम्बर ३ पछि इरानमाथि थप आक्रमण हुन सक्ने संकेत गरेका कारण नयाँ सैन्य तैनाथीलाई आगामी अमेरिकी रणनीतिसँग जोडेर हेरिएको छ।