दरम खोलाको आडैमा थियो– बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय।
गत असोज ११ मा दरम खोलामा आएको बाढीले यो सिंगो भवनलाई खोलामा लडाएको छ।
पहिलो कार्याकालमै कार्यालय भवन बनाउन वडाध्यक्ष तेजबहादुर थापाले निकै मेहनत गरेका थिए। दोस्रो कार्यालय पूरा नहुँदै भवन बन्यो। सेवाप्रवाह थालियो। निकै मेहनत गरेर ठडाएको कार्यालय भवन आँखैअगाडि दरम खोलामा ढल्दा वडाध्यक्ष थापा निकै भावुक छन्।
बिहान–बेलुका उनको दमखोलामा लडेको भवन हेर्छन्। लडेको भवनबाट केही अति आवश्यक सामान झिक्न सकिने आशमा जोखिम मोलेर भित्र छिर्छन्।
भवनबाट कतिबेला कुर्ची, कतिबेला, टेबल त कतिबेला कम्प्युटरका पाटपुर्जा निकालेर बाहिर आउँछन्। बाढीले भवन लडाउँला भन्ने गाउँका कसैले पनि कल्पना गरेका थिएनन्। जब दरम खोलामा बाढी आयो, तब खाली जमिन कटान गर्दै भवनसम्म आइपुग्यो। अन्ततः भवन नै लडायो। यतिबेला भवन दरम खोलामा ढलेको छ। भवन लडेपछि अध्यक्ष थापा रातमा समेत निदाउन सकेका छैनन्।
संघीयता स्थापनापछिको पहिलो स्थानीय चुनावमा निर्वाचित भएपछि थापाले सुरूमै भवन बनाउन पहल थालेका थिए। करिब ८० लाख रूपैयाँ लागतमा २०७७ साल माघमा भवन तयार भएको थियो। तीन रोपनी क्षेत्रफलमा निर्मित भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो। यसपछि वडाध्यक्ष थापा गाडी पार्किङ र बगैँचा सहितको भवन निर्माण गर्न सफल भएका थिए।
अहिले भवन खोलामा लडेको अवस्थामा छ भने बगैँचा र पार्किङ स्थलको नाम–निशान छैन।
साविकको मल्म गाविस विभाजित भएर वडा नयाँ बनेकाले सुरूआतमा वडा कार्यालयसँग आफ्नै भवन थिएन। भवन बन्नुअघि विद्यालयको कोठा भाडामा लिएर वडा कार्यालय चलेको थियो। कार्यालयले स्थानीय भैरव माध्यमिक विद्यालयको खाली कोठा प्रयोग गरेबापत मासिब ६ हजार रूपैयाँ भाडा तिर्थ्यो।
बाढीले भवनको जमिन कटान गर्न थालेपछि स्थानीयले अतिआवश्यक कागजपत्र निकालेका थिए। अन्य सामान भवनैसँग खोलामा पुगेका छन्। अहिले पनि भवनबाट केही सामान निकालिरहेका छन्। लडेको भवनमा पसेर अध्यक्षले सामान निकाल्न थालेपछि गाउँका अरू युवाले पनि साथ दिने गरेका छन्।
बाढीले अध्यक्ष थापाको लाखौँ रूपैयाँ मूल्य पर्ने धान खेत पनि बगर बनाएको छ। तर उनलाई आफ्नो धानखेतको भन्दा बढी चिन्ता वडा कार्यालय भवनको छ।
‘मेरो धान खेत बगेर मलाई केही चिन्ता लागेको छैन। म एकपटक पनि त्यो खेतमा पुगेको छैन, तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु। यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ उनले सुनाए।
भवन नभए पनि जनता सेवा पाउनबाट विमुख नहुने उनी सुनाउँछन्।
बाढीले भवन भत्काएपछि अहिले नजिकैको गाउँको एउटा घर भाडामा लिएर सेवा दिइएको अध्यक्ष थापाले बताए।
उनलाई भवनसँगै आफ्नो इतिहास मेटिने चिन्ताले निकै सताएको छ। दुई कार्यकाल वडाध्यक्ष भएर गरेको कामको दस्तावेज मेटिने गरी बाढीले भवन ढलाएकोमा उनी निकै दुःखी छन्।
‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो, यहाँ मेरो दुई/दुई कार्यकालको एक/एक थोपा पसिना छ। मैले गरेको एउटा उपलब्धि थियो तर त्यो मेटियो,’ भावुक भएर उनले भने।
बाढीले भवनसँगै १५ लाख रूपैयाँ लगातमा जडान गरेको सोलार बत्तीसमेत बगाएको छ।
यो भवन गलकोटका ११ वडामध्ये सबैभन्दा पहिले निर्माण गरिएको थियो। खोलामा लडेको भवन अझै पनि बलियो रहेको अध्यक्ष थापाले बताए। उठाएर पुनःस्थापना गर्न मिल्ने भए गर्ने उनको योजना छ ।
बाढीले गलकोट नगरपालिका क्षेत्रका २२ घरमा क्षति पुर्याएको छ। नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले घर, गोठ तथा व्यवसायमा क्षति पुगेको हो।
बाढीले गलकोट नगरपालिका–५ हरिचौर र ६ चरौंदीमा सबैभन्दा बढी क्षति पुगेको छ।
तस्बिरहरू:
-1790925160.jpg)
-1790925159.jpg)
-1790925155.jpg)
-1790925153.jpg)
-1790925153.jpg)
-1790925154.jpg)
-1790925154.jpg)
-1790925153.jpg)
-1790925152.jpg)
-1790925152.jpg)
-1790925151.jpg)
-1790925152.jpg)
-1790925151.jpg)
-1790925151.jpg)
शब्द/तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी