महिलामा विभिन्न अंगको क्यान्सर हुने भए पनि स्त्री प्रजनन अंगसँग सम्बन्धित क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको स्त्री क्यान्सर रोग विशेषज्ञ तथा रोबोटिक सर्जन डा. वीरेन्द्र भगतले बताएका छन्।
महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर धेरै देखिन्छ। स्त्री क्यान्सर रोग विशेषज्ञका रूपमा आफूले मुख्यतः पाठेघरको मुख, डिम्बाशय, पाठेघर र योनीको क्यान्सरका बिरामी हेर्ने गरेको उनले बताए।
यीमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुन्छ।
विकसित देशमा भने अवस्था फरक रहेको उनको भनाइ छ।
विकसित देशमा पाठेघरको भित्री झिल्लीको क्यान्सर बढ्दै गएको र गरिब देशमा रोकथामका सुविधा पर्याप्त नहुँदा पाठेघरको मुखको क्यान्सर बढी देखिन्छ। सरसफाइमा पर्याप्त ध्यान नदिनु, खोपको सुविधा नहुनु अनि जनचेतनाको अभाव यसको कारण हो।
पाठेघर र पाठेघरको मुखको क्यान्सरमा फरक छ। पाठेघरको भित्री भागमा रहेको झिल्लीमा क्यान्सर भए त्यसलाई पाठेघरको क्यान्सर भनिन्छ भने पाठेघरको सबभन्दा तल्लो भागमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ। यी दुवै क्यान्सरका कारण, लक्षण र उपचार फरक हुने उनले बताए।
'पाठेघरको झिल्लीको क्यान्सरमा सुरूआती चरणमै लक्षण देखिन सक्छ। झिल्लीको मोटोपना बढ्दै जाँदा रक्तस्राव हुने, महिनावारीमा धेरै रगत जाने, अनियमित रक्तस्राव हुने, कहिलेकाहीँ पिप आउने तथा सेतोपानी बग्ने समस्या देखिन सक्छ,' उनले भने, 'पाठेघरको मुखको क्यान्सरमा भने फोहोर र गन्हाउने पानी बग्ने, शारीरिक सम्पर्क गर्दा रक्तस्राव हुने, रोग बढ्दै जाँदा धेरै रगत बग्ने र दुखाइ बढ्ने तथा पिसाब र दिसा गर्दा समस्या हुने लक्षण देखिन सक्छ।'
क्यान्सरको मात्रा बढ्दै गएपछि विभिन्न स्त्री क्यान्सरका लक्षण उस्तै–उस्तै देखिन सक्ने उनले बताए।
उनका अनुसार डिम्बाशय पेटभित्रको भागमा हुने र सामान्य अवस्थामा यसको आकार ३ देखि ४ सेन्टिमिटर हुन्छ। डिम्बाशयको क्यान्सरमा सुरूआती अवस्थामा कुनै लक्षण नदेखिन सक्ने भएकाले यो अन्य क्यान्सरभन्दा फरक हुन्छ।
डिम्बाशय ठूलो भएपछि मात्रै ग्यास्ट्रिक भएजस्तो हुने, पेट भारी हुने, खाना खाएपछि पेट फुल्ने, थोरै खाँदा पनि अघाउने र पेट दुख्ने जस्ता लक्षण देखिन सक्छ। यही कारण धेरैजसो बिरामी क्यान्सर जटिल अवस्थामा पुगेपछि मात्रै उपचारका लागि आउने गरेको उनको भनाइ छ। धेरै बिरामी तेस्रो र चौथो चरणमा पुगेपछि मात्रै अस्पताल आउने गरेका छन्।
योनीको क्यान्सर भने बाहिरी भागमा हुने भएकाले सुरूआतमै थाहा पाउन सकिने उनले बताए। योनीमा घाउ हुने र औषधि लगाउँदा पनि निको नहुने अवस्थामा बिरामी चिकित्सककहाँ पुग्ने गरेको उनको अनुभव छ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) का कारण हुने डा. भगतले बताए। एचपिभीले पाठेघरको मुखमा संक्रमण गराएपछि विस्तारै ८ देखि १० वर्षको अवधिमा क्यान्सर गराउन सक्छ।
'अन्य धेरै क्यान्सरको निश्चित कारण थाहा नहुने भए पनि पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपिभी भएको थाहा भएकाले यसको रोकथाम गर्न सकिन्छ। पाठेघरको मुखको पानीको जाँच तथा एचपिभी परीक्षण गर्न सकिन्छ,' उनले भने, 'क्यान्सर हुनुअघि तीन–चार वटा चरण हुने भएकाले समयमै पहिचान गर्न सके उपचार सहज हुन्छ। एचपिभी विरूद्धको खोप लगाउन सके पाठेघरको मुखको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ।'
स्क्रिनिङ र खोपलाई प्रभावकारी बनाउन सके पाठेघरको मुखको क्यान्सरको समस्या कम गर्न सकिने उनको सुझाव छ।
उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट जोगिन एचपिभी खोप महत्वपूर्ण रहन्छ। ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन सकिन्छ र यो उमेर समूहमा दुई डोज खोप पर्याप्त हुन्छ।
३५ वर्षसम्मका महिलालाई पनि एचपिभी खोप लगाउन सकिने र त्यसका लागि तीन डोज दिन मिल्छ। ९ देखि १४ वर्ष उमेर समूहकाले खोप निःशुल्क पाउने भए पनि १४ वर्ष कटेकाले आफैले किन्नुपर्छ। सामान्यतया एक डोजको मूल्य करिब ५ हजार रुपैयाँ पर्ने र काठमाडौंका धेरै अस्पतालमा यो खोप पाइने उनले जानकारी दिए। चिकित्सकको सल्लाह र निगरानीमा खोप लगाउन सकिन्छ।
वंशानुगत कारण भएमा परिवारको योजना पूरा भइसकेको अवस्थामा एक समयमा पाठेघर र डिम्बाशय नै निकाल्न सकिने विकल्प पनि रहेको उनको भनाइ छ।
यी चारवटै स्त्री क्यान्सर सुरूआती अवस्थामा पत्ता लागेमा शल्यक्रिया गर्न सकिने डा. भगतले बताए।
'केही क्यान्सरमा रेडियसन र केहीमा सुरूआतमै किमोथेरापी आवश्यक पर्ने हुन्छ। डिम्बाशयको क्यान्सरका बिरामीलाई सुरूआतमा तीन–चार साइकल किमोथेरापी दिइने तथा पाठेघर र पाठेघरको मुखको क्यान्सर सुरूआती चरणमै पत्ता लागेमा शल्यक्रिया गरिन्छ,' उनले भने, 'क्यान्सरको शल्यक्रिया पेट खोलेर वा दूरबिनको सहायताले गर्न सकिन्छ। ल्याप्रोस्कोपिक तथा रोबोटिक सर्जरी पनि गर्न सकिन्छ। सबै क्यान्सरमा रोबोटिक सर्जरी गर्न नमिल्ने भए पनि सुरूआती अवस्थामा रहेका केही क्यान्सरमा यसको प्रयोग गर्न सकिन्छ।'
डा. भगतले भारतको मेदान्ता अस्पतालमा काम गर्दा रोबोटिक सर्जरीमार्फत शल्यक्रिया गरेको बताए।
ल्याप्रोस्कोपिक सर्जरीमा पेटमा तीन–चार वटा प्वाल बनाएर शल्यक्रिया गरिने भए पनि रोबोटिक सर्जरीमा रोबोटको माध्यमबाट शल्यक्रिया गरिन्छ। रोबोटिक सर्जरीमा बिरामीलाई प्रत्यक्ष नछोई शल्यक्रिया गरिने र यसबाट घाउ कम हुने, अस्पताल बसाइ छोटो हुने तथा बिरामी चाँडै सामान्य अवस्थामा फर्किन सक्ने उनको भनाइ छ।
सुरूआतमा खर्च केही बढी देखिए पनि अस्पताल बसाइ कम हुने र बिरामी चाँडै निको हुने भएकाले यो धेरै महँगो नपर्ने उनको दाबी छ।