‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु।’
देशको सेवाका लागि नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले त्यतिबेला पनि बिर्सिएका थिएनन्, जतिबेला रसुवाको भोटेकोशी बाढीको भेलमा छिरेर खोज तथा उद्धारमा खटिनुपरेको थियो।
गएको भदौ १० गते भोटेकोशी र त्यसपछि त्रिशूली नदीको बाटो हुँदै विनाशकारी बाढीले विध्वंश मच्चायो।
त्यही दिनदेखि खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य टोली अझै पनि बाढी प्रभावित क्षेत्रमा खटिरहेका छन्।
महिना दिन नाघिसक्यो। कतै बाढीको भेलले हुत्ताएर, कतै जलविद्युत् आयोजनाको सुरुङमा फसेर, कतै जीवनको भीख माग्दै भाग्दाभाग्दै पहरामा छलिएर हराउनेहरू बाँचेका छन् कि भन्ने आशाको दियो अब लगभग निभिसकेको छ।
जीवित व्यक्ति नभेटिए पनि अब कतै शव भेटिन्छ कि भनेर खोज्ने टोलीमा सक्रिय नेपाली सेनाका जवानमध्येका एक हुन्, अभिषेक।
नदी उर्लिएर बस्ती पसेको बाढीले हेर्दाहेर्दै छिनभरमै सुन्दर बस्तीलाई बगर बनाएको त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि अभिषेकको मन भारी हुन्छ।
त्योभन्दा बढी कैयौँ सुन्दर जीवन चुँडेर लगेको क्षणले मन भक्कानिन्छ। बस्तीको सुन्दरता फर्किएला, तर ती चुँडिएका जीवन अब कहिल्यै फर्कने छैनन्।
भोटेकोशीमा बाढी आएको दिन चारैतिर पानी, लेदो र गेग्रानले भरिएको थियो।
‘मेरो आफन्त हराइरहेको छ, छिटो खोजिदिनुस्’ भन्ने दबाब बढिरहेको थियो। जतासुकै रुवावासी चलिरहेको थियो। जोखिम भने टरेकै थिएन। त्यसपछिको जोखिम फेरि कति ठूलो छ भन्ने अनुमान गर्न कठिन थियो। तर अभिषेकसहितको टोलीको पाइला रोकिएन। आफ्नो जीवन कसरी जोगाउने भन्ने चिन्ताभन्दा बढी अभिषेकलाई अरूको जीवन कसरी जोगाउने भन्ने चिन्ताले सताएको थियो।
'हामीलाई आफ्नो ज्यानको माया गरेर बसिरहने छुट थिएन। त्यसबेला सेकेन्ड–सेकेन्डको अत्यन्त महत्त्व थियो। केही सेकेन्डकै कारण कसैको ज्यान जोगिन्थ्यो त केही सेकेन्ड ढिला गरेकै कारण कसैको ज्यान जान सक्थ्यो। हामीलाई त कसरी अरूको ज्यान जोगाउन सकिएला भन्ने मात्रै चिन्ता थियो, त्यसबेला,' अभिषेक सम्झन्छन्।
\यही अदम्य साहस जुटाएर उनीसहितको टोली तत्काल प्रभावित क्षेत्रमा खटिएर खोज तथा उद्धारमा अग्रसर भयो। त्यस दिन नदीको बहाव बढिरहेको थियो। लेदो र गेग्रानले हिँडडुल गर्नसमेत निकै कठिन भइरहेको थियो। कतै हिँड्दा गडेका खुट्टा निकाल्नसमेत निकै गाह्रो हुन्थ्यो।
जल विज्ञान तथा अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा बाढी आएकै स्थानमा पुनः अर्को ताल बनेको, जुनसुकै समयमा फुट्न सक्ने र जोखिम यथावत् रहेको भन्दै सुरक्षित रहन पूर्वसूचना जारी गरिरहेको थियो। त्यो सूचना अभिषेक र उनको टोलीले नपाएको होइन। तर ज्यानै जोखिममा राखेर मुलुकको सेवा गर्छु भन्दै लिएको शपथले उनीलगायत उद्धार टोलीलाई डराएर बस्ने छुट दिएको थिएन।
'कतिबेला अर्को भेल आउँछ भन्ने निश्चित थिएन तर पनि डर लागेन। मर्नै परे पनि डर नमान्ने मानसिकताले हामीलाई साहस दिने रहेछ,' अभिषेक भन्छन्, 'त्यस क्षेत्रमा मोबाइल नेटवर्कले काम नगरेको समयमा हामीलाई ह्यान्डहेल्ड रेडियो सेटबाट जोखिमसम्बन्धी सूचना भने आइरहन्थ्यो।'
भोटेकोशीमा बाढीको जोखिम बढ्दै छ, तपाईंहरू सुरक्षित स्थानमा बस्नुहोस् भन्ने सूचना दिएर अभिषेकहरू भने त्यही असुरक्षित स्थानतर्फ जानुपर्ने हुन्थ्यो। ज्यानकै जोखिम मोलेर अरूलाई खोज्न निस्किएका अभिषेकको जिम्मेवारी थियो—जहाँ जीवनको सम्भावना छ, त्यहाँ पुग्ने।
पहिलो दिनको अवस्था सम्झँदा उनलाई अझै दर्दनाक लाग्छ।
'बाढीपछि जलविद्युत् आयोजनामा मानिस फसेका छन् कि भनेर उद्धार जतिसक्दो छिटो गर्नुपर्ने थियो तर टनेलमा लेदो यति बाक्लो थियो कि अगाडि बढ्नै सकिँदैनथ्यो। त्यहाँभित्र पानीको सतह कम भएको थिएन। गेग्रानले बाटो चिनिँदैनथ्यो,' उनी भन्छन्, 'उद्धारका लागि अघि बढ्नुअघि जोखिमको अवस्था बुझ्नुपर्ने थियो। तीन दिनसम्म पानी निकाल्ने र बाटो खुलाउने काम गरेपछि मात्रै कतिपय स्थानमा प्रवेश गर्न सम्भव भयो।'
टनेलमा छिरेपछि जोखिम बढेको अवस्था आए हाते रेडियो सेट (वाकी–टकी) नै उनीहरूको सबैभन्दा भरपर्दो साथी बन्थ्यो। कुनै समस्या आए तत्काल सूचना पुग्थ्यो। तर त्यसअघि नै सम्भावित जोखिमको आकलन गरेर उद्धार टोलीले कदम चाल्थ्यो।
यही अदम्य साहस बोकेर उद्धारमा खटिने अभिषेक एक्लै थिएनन्। उद्धारमा खटिने टोलीका प्रत्येक सदस्यले आफ्नो ज्यानभन्दा बढी प्राथमिकता अरूको जीवनलाई दिएका थिए।
अर्का जवान दीपक राईका लागि पनि भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिनुपर्ने त्यो समय सजिलो थिएन।
भोक, तिर्खा, थकाइ र डर लाग्यो भन्ने छुट राई र अन्य टोलीका सदस्यलाई थिएन। जलविद्युत् आयोजनाको गेग्रानले भरिएको अँध्यारो टनेल।
त्यही अँध्यारो टनेलमा टर्चलाइटको सहाराले जीवन बाँकी रहेकाको ज्यान र जीवन सकिएकाको शव खोज्न निस्कँदा राईजस्ता अन्य उद्धार टोलीका सदस्यलाई सहज पक्कै थिएन।
कति शव त सडिसकेका हुन्थे। हात समात्दा हातै आउने, खुट्टा समात्दा खुट्टा नै शवको अंगबाट छुटिएर आउने गरेको उनी सुनाउँछन्। सडिरहेका शवको दुर्गन्धले पेट बटारिएर वान्ता आउँथ्यो। भोक र प्यास मेटाउन त्यहाँभित्र केही खान सक्ने अवस्था नै हुँदैनथ्यो।
तर पनि आफ्ना ती बाधालाई प्रवाह नगरी टनेलमा जीवन खोज्न हिँड्ने टोलीले समयमा नै नखोजिदिएको भन्ने आरोपहरू आइरहन्थे। । प्रियजन फर्किएलान् कि भन्ने आशामा छटपटिएका आफन्त आवेगमा आउनु स्वाभाविक नै हो जस्तो लाग्ने उनीहरू बताउँछन्।
तालिम र अभ्यासले दिएको साहस
विपद्सम्बन्धी तालिम र अभ्यास नभएको भए यो किसिमको अदम्य साहस नआउने बताउँछन् दीपक।
'विपद्मा काम गर्न आवश्यक तालिम र अभ्यासले कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी बहन गर्न सिकाउने रहेछ। हामीले विपद्सम्बन्धी तालिम लिएका थियौँ र सहज भयो,' उनी भन्छन्, 'तालिमले सीप दिएको थियो। पर्याप्त उपकरणले साथ दिएको थियो।'
तर त्यससँगै आफ्नो कर्तव्यबोधले ठूलो शक्ति दिलाएको पनि उनी बताउँछन्।
'हामीलाई मोटिभेसनले काम गर्छ,' दीपक भन्छन्, 'त्यसबेला हामीले जति ढिला गर्छौँ, बाँचिरहेका मानिस पनि मर्न सक्छन् भन्ने कुरा मात्रै दिमागमा आउने रहेछ।'
सायद त्यही अभिप्रेरणाले गर्दा पनि होला, बाढी, लेदो, गेग्रान र अन्य कठिनाइ छिचोल्दै आफ्नो कर्तव्य पालनामा टोली चुकेन।
अभिषेक र दीपकलाई जस्तै जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्ने अठोट प्रमोद केसीमा पनि पलाएको थियो।
'बाढीपछिका सुरुआती चार दिन भने सबैभन्दा चुनौतीपूर्ण बनेको थियो। टनेलभित्र कतिपय स्थानमा लेदो सात फिटसम्म जमेको थियो। सडक र पुल बगेका थिए। पैदल हिँड्नसमेत कठिन अवस्थामा हराएकाहरूको खोजी गर्नुपर्ने थियो। घाइतेको उद्धार गर्नुपर्ने थियो। आफैँ जोखिममा पर्न सक्ने अवस्था भए पनि जोखिममा परेकालाई जोगाउनु हाम्रो कर्तव्य थियो,' उनी भन्छन्।
मुलुकको हरेक विपद्मा खटिएका सैनिकका लागि यी जोखिम नयाँ भने थिएन। त्यसबेला कतिपय आफन्तजनले फेरि कुनै जोखिम हुन्छ कि भन्ने चिन्ता जनाउँथे। तर कैयौँ बाढीको भेलपछि हराएका आफ्ना प्रियजन खोजेर बुझाउन पाए नै सबैभन्दा ठूलो सफलता हुन्थ्यो भन्ने लाग्थ्यो।
उद्धार गर्न सफल भएको क्षणमा टोली सदस्यहरू पनि खुसी हुन्थे।
नेपाली सैनिक टोलीका अन्य सदस्य सुजित जोशी, ज्ञानेन्द्र डाँगी, महेश कार्की, सुरेन्द्रकुमार रोकाय, इन्द्रबहादुर गुरुङ, दिनेश तामाङ र नारायण शर्माले पनि आफूले सेनामा भर्ती हुँदा खाएको शपथलाई सम्झँदै अहिलेसम्म खोजी कार्यमा तल्लीन छन्। सम्भव भएसम्म जीवन जोगाउने अभियानमा लाग्दालाग्दै सफल हुन नसकेको त्यो क्षणले भने सबैको मन भारी बनाइरहेको छ।
देशका लागि ज्यान दिने कसम खाएर सेनामा प्रवेश गरेका यी सैनिक जवानका लागि विपद्को मैदान पनि सेवाकै अर्को मोर्चा थियो। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा खटिँदा उनीहरूले मनमनै त्यही शपथ दोहोर्याए—आफ्नो ज्यान जोखिममा राखेर भए पनि अरूको जीवन जोगाउनेछौँ।
जीवन खोज्दै सुरूङभित्र
भोटेकोशीमा बाढी आएपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र हराएका मानिसको खोजी सुरु भयो। सुरुङभित्र पस्नु उद्धार टोलीका लागि जोखिमपूर्ण थियो।
नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाले उद्धार टोलीले अदम्य साहसका साथ काम गरेको बताउनुभयो।
'कतिपय हाम्रा उद्धार टोलीका सदस्यलाई ज्वरो आउने, छाला चिलाउने, वान्ता आउनेलगायतका स्वास्थ्य समस्या पनि देखियो। यो लगायत अन्य जोखिमका बाबजुद पनि खोजी तथा उद्धारमा खटिए,' उनले भने, 'जोखिम मोलेरै भए पनि अरूको सुरक्षा गर्नु हाम्रो दायित्व थियो।'
लाङटाङ जलविद्युत् आयोजनामा सेनाले बाढी आएको दिन भदौ १० गते नै हेलिकप्टरबाट रेकी गरेको थियो। आयोजनाको सुरुङमा भदौ १३ गतेदेखि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार सुरु गरिएको थापाले जानकारी दिए।
चिलिमे जलविद्युत् आयोजनामा पनि सेनाले भदौ १० गते नै रेकी गरेको थियो। भारतीय विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि त्यहाँ खोज तथा उद्धार सुरु भएको उनको भनाइ छ।
'माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै रेकी गरिएको थियो। चिनियाँ विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोज तथा उद्धार सुरु भयो। ११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरियो,' सहायक रथी थापाले भने, 'त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आएको १०औँ दिनमा दुई कर्मचारीको जीवितै उद्धार भयो। लामो प्रयासपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सकिएको त्यो क्षण उद्धार टोलीका लागि खुसीको थियो। एकदमै खुसी महसुस भयो।'
उनका अनुसार भोटेकोशीको बाढीपछि नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई निरन्तरता दियो। त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा आधार बनाएर टोली परिचालन गरिएको सहायक रथी थापाले बताए।
सडक सम्पर्क टुटेका ठाउँमा भने जमिनबाट पुग्न सम्भव थिएन। त्यहाँ ड्रोन उद्धारको अर्को माध्यम बन्यो। दुर्गम बस्तीमा अत्यावश्यक खाद्यान्न तथा राहत सामग्री पुर्याउन नेपाली सेनाले ड्रोन प्रयोग गरेको उनले जानकारी दिए।
नेपाली सेनाका हवाई साधनमार्फत प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म चार हजार २४२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये तीन हजार ९५९ नेपाली र २८३ विदेशी नागरिक छन्।
भोटेकोशीको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिमसम्म प्रभाव पारेपछि नेपाली सेनाका आठ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।