कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख एवं इन्जिनियर दीपा कार्की सहित ३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियर कार्की सहित ३ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दीपा कार्की, गोकर्णेश्वर नगरपालिका-८ बस्ने आस्मा कार्की र सोही वडामा बस्ने आशिष पौडेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार सेवाग्राहीसँग घर नक्सा पास, भवन निर्माण स्वीकृति तथा स्ट्रक्चरल एनालाइसिस (Structure Analysis) लगायतका विभिन्न प्राविधिक सेवा प्रवाह गर्ने सिलसिलामा उनीहरूले घुस लिने गरेको पुष्टि भएको छ।
उनीहरूलाई जनही फरक फरक बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो।
स्थानीय तहका निकायहरूमा सेवाग्राहीलाई सास्ती दिने र आर्थिक अनियमितता तथा घुसखोरीमा संलग्न हुने कर्मचारीहरूमाथि निगरानी बढाउँदै अख्तियारले अनुसन्धानलाई थप तीव्रता दिएको छ।