नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुला मन्चमा हुँदैछ।
महाधिवेशनमा कुल ७ हजार २८ जना प्रतिनिधि सहभागी हुँदैछन्।
वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्य रहेका शिवाकोटीले महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
उनी कांग्रेसको १४औं महाधिवेशनमासमेत निर्वाचन प्रक्रियामार्फत लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित बनेका थिए।
यस्तै उनी विषेश महाधिवेशनमार्फत पनि केन्द्रीय सदस्य चुनिएका थिए।
१४औं महाधिवेशनमा निर्वाचित भएपछि उनले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुख भएर महत्वपूर्ण काम गरे।
तर, जेन-जी आन्दोलनमा प्रदर्शनकारीले कांग्रेस केन्द्रीय कार्यालय आगजनी गर्दा शिवाकोटीको नेतृत्वमा संकलन भएका कांग्रेसका महत्त्वपूर्ण दस्तावेजहरु जलेर नष्ट भएको थियो।
कांग्रेस राजनीतिमा आउनुअघि शिवाकोटी पत्रकारिता क्षेत्रमा सक्रिय थिए।
उनी तत्कालीन समयमा प्रतिनिधि सभाको सभामुख रहेका कृष्णबहादुर महरा र तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डसम्बन्धि समाचार लेखेर चर्चामा आएका थिए।
त्यसबखत बहालवाला सभामुख र संचारमन्त्रीको पद खोसिएको थियो।
नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य, महासचिव हुँदै कांग्रेसको मुलधारको राजनीतिमा भित्रिएका उनी गत प्रतिनिधि सभा निर्वाचनमा दोलखाबाट कांग्रेस उम्मेदवार बनेका थिए।
पत्रकारितामा रहँदा भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा कलम चलाएका शिवाकोटीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कारहरु प्राप्त गरेका छन्।
उनी कांग्रेस महाधिवेशनका लागि दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्।