मुटु तथा फोक्सो प्रत्यारोपणको सम्भावना, प्राविधिक तयारी तथा यसका चुनौतीहरूबारे छलफल गर्दै काठमाडौँमा दुई दिने सम्मेलन सम्पन्न भएको छ।
त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आयोजनामा काठमाडौंमा भएको मुटु तथा फोक्सो प्रत्यारोपण सम्मेलनमा नेपालमा प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक तयारी, जनशक्ति, कानुनी प्रक्रिया र सम्भावित जटिलताबारे छलफल गरिएको छ।
सम्मेलनमा इटालीबाट आएका सात जना विशेषज्ञले मुटु तथा फोक्सो प्रत्यारोपणसम्बन्धी १२ वटा कार्यपत्र प्रस्तुत गरेका थिए।
दुई दिने सम्मेलनमा मुटु, फोक्सो तथा एनेस्थेसिया क्षेत्रका करिब १५० जना सहभागी थिए।
सम्मेलनका क्रममा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका डीन प्रा. डा. मोहनराज शर्मा, मानव अङ्ग प्रत्यारोपण समन्वय समितिका अध्यक्ष डा. सम्पूर्णमान तुलाधर,त्रिवि मनमोहन सेन्टरका निर्देशक प्रा. डा. रत्नमणी गजुरेल,त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा.सुवास आचार्य लगायतको उपस्थिति रहेको थियो।
सो क्रममा आईओएमका डीन प्रा. डा. मोहनराज शर्माले मुटु तथा फोक्सो प्रत्यारोपणको सुरुवातको लागि आईओएमले आफ्नो तरफबाट भरपुर प्रयत्न गर्ने बताए।
सम्मेलनमा प्रत्यारोपणका लागि अंग छनोट, कसलाई प्रत्यारोपण गर्न मिल्ने, अंगलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने समय, शल्यक्रियाका क्रममा आउन सक्ने जटिलता, प्रत्यारोपणपछि बिरामीको हेरचाहलगायत विषयमा छलफल भएको थियो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागीय प्रमुख प्राध्यापक डा. अनिल भट्टराईका अनुसार नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपणका लागि आवश्यक चिकित्सकीय जनशक्ति र अन्य पूर्वाधारको अवस्था सकारात्मक छ। तर अस्पतालको लाइसेन्सका कारण सेवा सुरु हुन सकेको छैन।
‘मुटु र फोक्सो प्रत्यारोपण गर्न चिकित्सकको लाइसेन्ससँगै अस्पतालको लाइसेन्स पनि चाहिन्छ। चिकित्सकको लाइसेन्स हामीले पाइसकेका छौँ, तर अस्पतालको लाइसेन्स नभएका कारण गर्न सकिरहेका छैनौं,’ डा. भट्टराईले भने।
उनका अनुसार सम्मेलनले नेपालमा मुटु तथा फोक्सो प्रत्यारोपण गर्न सकिने निष्कर्षसमेत दिएको छ।
‘समग्रमा सबै कुरा गर्न सकिन्छ भन्ने भयो। अब बाँकी कुरा भनेको मुटु प्रत्यारोपण कसरी गर्न सकिन्छ भन्ने चिकित्सकीय प्रश्न हो,’उनले भने।