लमजुङको भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत आयोजनाको तारबारमा आइतबार दिउँसैदेखि चितुवा झुन्डिरहेको छ।
तारबारमा अड्किएर डोरीमा झुन्डिएको चितुवाको पछाडिका खुट्टामा डोरी बाँधिएका छन्। डोरीसँगै पासो देखिएको छ। जसले गर्दा चितुवा फुत्किन सकेको छैन।
जलविद्युत आयोजनाले आफ्नो बाँध, आवास र संरचनाहरूमा तारबार लगाएको छ। त्यही तारबार नाघ्ने क्रममा चितुवाको खुट्टामा अल्झिएको डोरी तारबारमा बेरिएको हो।
तारबार नाघेर चितुवा जलविद्युत आयोजनाको मैदानभित्र प्रवेश गरिसकेको छ। तर तारबारमा अड्किएको डोरीले चितुवालाई अघि बढ्न दिएको छैन।
चितुवाको खुट्टामा बाँधिएको डोरी निकै बलियो भएको र डोरीमा चाबी भएको बताइएको छ। मृगका लागि थापिएको पासोमा चितुवा परेर पासोसहित कुदेको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शीको अनुमान छ।
जिल्ला वन कार्यालय लमजुङका प्रमुख शिव श्रेष्ठले पनि चितुवाको खुट्टा पासोमा अल्झिएको बताएका छन्। यसले गर्दा तारबार नाघिसकेको चितुवा डोरीमा झुन्डिएको हो।
'चितुवा ट्र्यापमा परेको देखिएको छ,' उनले भने, 'पोखराबाट हामीले डार्ट टोली बोलाएका छौं।'