मनसुन बाहिरिरहँदा मुलुकका विभिन्न भूभागमा पानी परिरहेको छ।
केही ठाउँमा छोटो समयमै भारी वर्षा भएको छ। गएको चौबीस घन्टामा पूर्वदेखि सुदूरपश्चिमसम्मै पानी परेको छ। कोशी र लुम्बिनी प्रदेशका केही भूभागमा त भारी वर्षा नै भएको छ।
बाँकेको ढकेरी जलमापन केन्द्रमा सोमबार बिहान एक घन्टाको अवधिमा ६१ मिलिमिटर वर्षा मापन भएको थियो
ती क्षेत्रहरूमा आइतबारदेखि पानी पर्न थालेको हो।
मनसुन शनिबार नै सूदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशका केही भूभाग र गण्डकीका केही भूभागबाट बाहिरएको थियो।
मौसमविद् डेबिट ढकालका अनुसार मनसुन उत्तरार्द्धमा पुगेपछि पनि वायुमण्डलमा पर्याप्त आद्रता भएमा छिटपुट स्थानमा अपेक्षाभन्दा बढी वर्षा हुन सक्छ।
पछिल्लो समय पश्चिमी वायुको प्रभाव बढेकाले ती ठाउँमा पानी पर्ने क्रम र मात्रा बढेको उनले बताए।
‘मनसुनपछिको समयमा अलिकति बढी आद्रता आयो भने वर्षाको मात्रा बढ्न सक्छ। हामीले मध्यमसम्म वर्षा हुने पूर्वानुमान गरेका थियौँ। तर त्यहाँ बादल विकास भएर वर्षा हुँदा भारी वर्षा भएको देखिन्छ,’ ढकालले भने।
उनका अनुसार लुम्बिनी प्रदेशमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ।
त्यसैले त्यहाँका केही स्थानमा भारी वर्षा भए पनि अन्य प्रदेशमा भने मध्यमसम्मको वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए।
अहिले भइरहेको वर्षा कुनै नयाँ ठूलो मौसमी प्रणाली भित्रिएका कारण भने नभएको ढकालले स्पष्ट पारे। पश्चिमी वायु केही सक्रिय हुनुका साथै स्थानीय वायुको प्रभावले पनि वर्षा गराएको उनको भनाइ छ।
यसले आगामी तीन दिनसम्मै वर्षा हुने उनले बताए।
तर वर्षा गराउने कारण पश्चिमी वायु र स्थानीय वायुको प्रभावमा मात्रै सीमित छैन।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार अहिले पश्चिमी वायुले टाढाटाढाबाट जलवाष्प बोकेर ल्याइरहेको छ।
पूर्वी नेपालमा मनसुन अझै सक्रिय रहेकाले बंगालको खाडी र अरेबियन सागरबाट आउने जलवाष्पयुक्त हावाले पनि वर्षाका लागि अनुकूल अवस्था बनाएको हो।
पश्चिमी वायुले भूमध्यसागरीय क्षेत्रबाट जलवाष्प ल्याइरहेको र पूर्वमा बाँकी रहेको मनसुनले पनि वायुमण्डलमा आद्रता थपिरहेको पोखरेलले बताए।
विभिन्न दिशाबाट आएको जलवाष्प र वायुमण्डलको अवस्थाले गर्दा मनसुन कमजोर हुँदै गएको समयमा पनि पानी परिरहेको उनको भनाइ छ।
कहिलेसम्म पर्छ पानी?
डा. पोखरेलका अनुसार असोज २० गते पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
मंगलबार मुख्यतः चुरे क्षेत्रका धेरै ठाउँमा वर्षा हुने र त्यसपछि वर्षा हुने क्षेत्र पूर्वबाट पश्चिमतर्फ विस्तार हुने देखिएको उनले बताए।
उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम हुँदै लुम्बिनीसम्मका भूभागमा वर्षाको सम्भावना छ। सुदूरपश्चिमका केही स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने उनको अनुमान छ। काठमाडौं उपत्यकामा पनि आगामी तीन दिनसम्म राम्रै पानी पर्ने सम्भावना रहेको उनले बताए।
‘पानी पर्ने क्रम अपराह्नदेखि सुरु भएर साँझसम्म रोकिन सक्छ। तर केही ठाउँमा आजदेखि पर्सीसम्म लगातार पानी पर्न पनि सक्छ,’ पोखरेलले भने।
उनका अनुसार त्यसपछि वर्षाको मात्रा केही घट्ने भए पनि पानी पर्ने क्रम पूर्ण रूपमा रोकिने छैन।
कमजोर पश्चिमी वायुको प्रभाव र माथिल्लो वायुमण्डलमा हुने वायुको बहावका कारण नेपाल आसपास न्यूनचापीय रेखा बन्न सक्ने र त्यसले वर्षालाई निरन्तरता दिन सक्ने उनले बताए। यस्तो अवस्थाले एक हप्ता वा त्योभन्दा केही बढी समयसम्म पनि छिटपुट वर्षा गराउन सक्ने उनको भनाइ छ।
मौसमविद् ढकाल पनि आगामी तीन दिनसम्म छिटपुट वर्षाको सम्भावना रहेको बताउँछन्।
उनका अनुसार लुम्बिनीबाट पूर्वतर्फ र गण्डकीबाट पूर्वतर्फका भूभागमा मनसुन अझै बाँकी छ। ती भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्नेछ।
घटस्थापनापछि मौसम खुल्ने अनुमान
पोखरेलका अनुसार घटस्थापनासम्म पानी पर्ने सम्भावना धेरै छ। त्यसपछि भने मौसम खुल्दै जाने र घाम लाग्ने अवस्था देखिएको छ। यद्यपि त्यसपछि पनि वर्षा पूर्ण रूपमा बन्द हुने निश्चित नभएको उनले बताए।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ अर्थात् असोज १६ हो। यसपालि मनसुन औसत मितिभन्दा एक दिनपछि शनिबारदेखि पश्चिमी भूभागबाट बाहिरिन थालेको थियो। त्यस दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको थियो।
मनसुन बाहिरिन थालेपछि देशभर एकैपटक मौसम खुल्छ भन्ने नहुने पोखरेल बताउँछन्।
'पूर्वी भूभागमा मनसुनको प्रभाव बाँकी रहनु, पश्चिमी वायु सक्रिय हुनु र स्थानीय वायुमण्डलीय अवस्थाले पनि वर्षालाई निरन्तरता दिन सक्छन्। त्यसैले अबका केही दिन वर्षा हुने क्षेत्र र यसको मात्रा ठाउँअनुसार फरक पर्नेछ,' उनले भने।
कतै हल्का र छिटपुट वर्षा हुनेछ भने कतै छोटो समय भारी वर्षा पनि हुन सक्छ।
घटस्थापनापछि मौसममा सुधार आउने अपेक्षा गरिए पनि त्यसअघि नै देशभर पानी पर्ने क्रम पूर्ण रूपमा रोकिने सम्भावना भने कम रहेको उनले बताए।