इरानले हमला गराउने नयाँ सूचना पाएपछि अमेरिकाले बेलायतमा तैनाथ आफ्ना सबै १२ वटा बी-१ बमवर्षक विमान (बम्बर) तत्काल फिर्ता गरेको छ।
दक्षिणी इंग्ल्यान्डस्थित आरएएफ फेयरफोर्डबाट ती विमानलाई सप्ताहन्तमै अमेरिकातर्फ पठाइएको भनेर अमेरिकी अधिकारीहरूका हवाला दिंदै द न्युयोर्क टाइम्सले लेखेको छ।
अमेरिकी सेनाले शान्तिकालमा सहयोगी मुलुकको हवाई अड्डाबाट यति ठूलो संख्यामा बमवर्षक विमान यति छोटो समयमा फिर्ता लगेको घटनालाई असामान्य मानिएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार खतरा यति गम्भीर ठानियो कि हावामै इन्धन भर्ने विमान समेत नउडिकनै केही बमवर्षक विमान र तिनका चालक दल अमेरिका फर्किनका लागि उडिसकेका थिए।
आइतबारसम्म कम्तीमा तीन वटा बी-१ बमवर्षक विमान अमेरिकाको दक्षिण डकोटास्थित आफ्नो मुख्य हवाई अखडामा पुगिसकेका थिए।
अमेरिकी युरोपेली कमान्डले आइतबार आरएएफ फेयरफोर्डमा तैनाथ सबै अमेरिकी बमवर्षक विमान अमेरिकाका आफ्नै अखडातर्फ फर्किरहेको पुष्टि गरेको छ।
तर ती विमान फिर्ता गर्नुको कारण भने उसले खुलाएको छैन।
‘विश्वव्यापी सैन्य तयारी र परिचालन आवश्यकतालाई समर्थन गर्न अमेरिकी वायुसेनाका बमवर्षक विमानहरू नियमित रूपमा विश्वका विभिन्न स्थानमा परिचालन हुन्छन्,’ कमान्डले भनेको छ।
बेलायतको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य विमानको आवागमनबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
अमेरिकी अधिकारीहरूले विमान फिर्ता गर्नुको तत्काल कारण बनेको नयाँ सूचनाको प्रकृति खुलाएका छैनन्।
एक अमेरिकी अधिकारीका अनुसार यो चेतावनी तीन साताअघि प्राप्त भएको सुरक्षा सूचनासँग सम्बन्धित थियो। तर पछिल्लो २४ घन्टामा खतरा अझ गम्भीर बनेको थियो।
आरएएफ फेयरफोर्डमा केही बी-१ बमवर्षक विमान एक साताअघि मात्रै नियमित सैन्य रोटेसन अन्तर्गत पुगेका थिए। अमेरिकी र अन्य पश्चिमा गुप्तचर निकायले सेप्टेम्बरमा फेयरफोर्डमा इरान समर्थित सम्भावित हमलाको चेतावनी दिएका थिए।
त्यसका लागि अवरोध गरिएका सञ्चार, सूचनादाता र अन्य गुप्तचर स्रोतबाट प्राप्त जानकारी प्रयोग गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आफ्नो देशका गुप्तचर अधिकारीहरूले बेलायतलाई इरानबाट प्रायोजित सम्भावित हमलाबारे चेतावनी दिएको बताएका छन्। तर त्यतिबेला कुनै निश्चित स्थान भने तोकिएको थिएन।
गुप्तचर मूल्यांकनमा सम्भावित हमलापछि ड्रोनमार्फत थप आक्रमण हुन सक्ने चेतावनीसमेत दिइएको थियो।
अमेरिकाले बी-१ बमवर्षक विमान फिर्ता गरेको निर्णय फेयरफोर्ड वरिपरि शंकास्पद गतिविधि बढेको एक सातापछि आएको हो।
गत साता बेलायती प्रहरीले फेयरफोर्ड हवाई अखडानजिकै सेता भ्यानमा यात्रा गरिरहेका पाँच जनालाई पक्राउ गरेको थियो। ती भ्यानमा विस्फोटक पदार्थ फेला नपरेपछि पक्राउ परेका पाँचै जनालाई अर्को दिन धरौटीमा रिहा गरिएको थियो। तर उनीहरू अझै अनुसन्धानको दायरामा रहेको प्रहरीले बताएको छ।
त्यसपछि बिहीबार बेलायती प्रहरीले बेलायती–इरानी दोहोरो नागरिकता भएका एक व्यक्तिलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरेको थियो।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले इरानले ती घटनाको योजनामा भूमिका खेलेको आफ्नो सरकारको विश्वास रहेको बताएका छन्।
अमेरिका, बेलायत, जर्मनी र इसराइलका अधिकारीहरूले घटनाको सम्बन्ध इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजिसी) वा तेहरानस्थित अर्को सैन्य संरचनासँग रहेको विश्वास गरेका छन्।
इरानले भने यी आरोप अस्वीकार गर्दै आएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले जुलाईमै अमेरिकी सेनालाई फेयरफोर्ड प्रयोग गर्न दिइएको विषयमा बेलायतलाई चेतावनी दिएको थियो।
गार्ड्सले अमेरिकी सेनालाई उक्त आधारबाट इरान विरुद्ध आक्रमण गर्न दिइए ‘लन्डन पनि अमेरिकी कारबाहीका लागि जिम्मेवार हुने’ चेतावनी दिएको थियो।
इरानले आफ्नो भूमिमाथि आक्रमण गर्न प्रयोग हुने कुनै पनि सैन्य अखडा आफ्ना सेनाका लागि ‘वैध लक्ष्य’ हुने बताएको थियो।
बमवर्षक विमान लडाकु विमानभन्दा धेरै नै महङ्गा हुन्छन्। सस्ता ड्रोनले गरेको हमलामा धेरै महङ्गा बमवर्षक विमान नष्ट हुनसक्ने खतराका कारण अमेरिकाले बेलायतबाट ती विमान हटाएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)