सामाजिक, शैक्षिक तथा मानवीय सेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरू ‘राष्ट्रिय सामाजिक सेवा सम्मान–२०८३’ बाट सम्मानित भएका छन्।
‘सामाजिक संघ–संस्थाहरूबीचको एकता : आजको आवश्यकता’ भन्ने नारासहित सगरमाथा प्रतिष्ठान नेपालको आयोजना तथा विभिन्न सामाजिक संघ–संस्था र बालगृहहरूको सहकार्यमा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।
राष्ट्रिय बाल दिवस–२०८३ तथा विजया दशमी–२०८३ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान, चियापान, अन्तरक्रिया तथा कदर–सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरे।
कार्यक्रममा सुनौलो पाइला बाल गृहकी संस्थापक अध्यक्ष रोजिना बिष्टलाई विशेष कदर–सम्मान प्रदान गरिएको थियो।
प्रतिष्ठानका संरक्षक तथा सल्लाहकार लक्ष्मी किशोर श्रेष्ठ, महासचिव एवं कार्यक्रम संयोजक भरत ढकाल, अध्यक्ष नरबहादुर लिम्बू लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा अभियन्ताहरूको कार्यक्रममा उपस्थिति थियो।
सो अवसरमा बालगृह तथा सामाजिक संस्थाहरूले सामना गरिरहेका समसामयिक चुनौती, राज्यका नीति तथा सामाजिक संस्थाबीचको सहकार्यका विषयमा अन्तरक्रिया गरिएको थियो।
सहभागी वक्ताहरूले समाज रूपान्तरणसँगै बालबालिकाको अधिकार सुनिश्चित गर्न सामाजिक संघ–संस्थाहरूबीच सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए।