सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (इ-बिडिङ) ह्याक गरेको प्रकरणमा प्रहरीले थप आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले आठ जनालाई पक्राउ गरेको एसपी दीपकराज अवस्थीले जानकारी दिए।
भक्तबहादुर लामा, विष्णुमान लामा, रितुबहादुर कार्की, किरण मल्ल, नारायणप्रसाद सिपिखु, ध्रुव खनाल, गंगाबहादुर सिलवाल र स्वदेश पोखरेल पक्राउ परेका हुन्।
पक्राउ परेका सबै जना निर्माण व्यवसायीहरू हुन्।
पछिल्लो समय सरकारले सार्वजनिक खरिदतर्फ अनलाइन बिडिङ बन्द छ। केही समय अगाडि इ-बिडिङमा ह्याक गरी निर्माण व्यवसायीहरूले हिनामिना गरेको खुलेको थियो।
त्यही घटनामा थप निर्माण व्यवसायीहरू संलग्न भएको देखिएपछि कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
‘यो पहिले नै ह्याक भएको घटना हो। कार्यालयले मनिटरिङ गर्दा फेरि देखिँदा थप व्यवसाय कम्पनीको नाम खुलेपछि पत्राचार भई आएको थियो,’ एसपी अवस्थीले भने।
यसअघि पहिलो चरणको अनुसन्धानको क्रममा प्रहरीले राप्रपाका नेता विक्रम पाण्डेसहितलाई पक्राउ गरेको थियो।
उनीसहित २२ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
त्यसमध्ये ह्याकिङमा संलग्न दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
उनी सरकारी कर्मचारी समेत हुन्। सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत देउजालाई प्रोग्रामिङ, क्लाउड सर्भर, प्रोजेक्ट टेस्टिङ लगायत सफ्टवेयरसम्बन्धी ज्ञान थियो।
देउजालाई पुर्पक्षका लागि थुनामा पठाउँदा पाण्डेलाई चार लाख धरौटीमा छाड्न आदेश दिएको थियो।