दाङको तुलसीपुरको बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म सोमबार डिभाइडर स्थापना गरिएको छ।
तुलसीपुरको एक प्रतिष्ठित शैक्षिक संस्था ज्ञानज्योति फाउन्डेसनको सहयोगमा राप्ती राजमार्ग अन्तर्गतको व्यस्त बजार क्षेत्र बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म एक सय ५० वटा सडक डिभाइडर स्थापना गरिएको हो।
ज्ञानज्योति फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर जिसीका अनुसार विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यस्त बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ती डिभाइडर खरिदका लागि दुई लाख रकम सहयोग गरेको थियो।
राप्ती राजमार्ग अन्तर्गतको ती दुई चोकका बीचमा सडक सुरक्षाका लागि आवश्यक पर्ने सडक संकेत, सडक चिह्न वा कुनै पनि सडक लेन नहुँदा समस्या थियो।
डिभिजन सडक कार्यालय, स्थानीय सरकार लगाएतका निकायले सडक सुरक्षाका लागि आवश्यक संकेत वा चिह्न बनाउन ध्यान नदिएको हुँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने हेतुले विद्यालय परिवारले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी होमबहादुर पराजुलीको आग्रहमा आर्थिक सहायता प्रदान गरेको विद्यालयका सिइओ जिसीले बताए।
डिएसपी पराजुलीका अनुसार आफूहरूको आग्रहमा सोही स्कुल परिवारले इप्रका तुलसीपुरलाई हालसालै भन्डै ४० हजार मूल्य बराबरको एउटा नाइट भिजन सिसिटिभी क्यामरा पनि खरिद गरी प्रदान गरेको छ।
राप्ती राजमार्ग अन्तर्गतको गुम्ह्रा चोक र मदन आश्रित चोकको बीचमा भएका लगालग सवारी दुर्घटनामा हप्ता दिनमै दुई जनाले ज्यान गुमाएपछि संचार माध्यमहरूले दुर्घटना स्थलमा हालसम्म कुनै पनि सडक सुरक्षाका चिह्नहरू नरहनु पनि दुर्घटनाको कारणका रूपमा औंल्याएका थिए।
त्यसपछि सुरूमा गुम्ह्रा चोक र मदन आश्रित चोकको बीचमा डिभाइडर स्थापना गर्न विनिल केसी नेतृत्वको उद्योग वाणिज्य संघले ८३ हजार ४०० रुपैयाँ प्रदान गरेको थियो।
यही ठाउँमा राप्ती बबई क्याम्पसकी छात्रा समेत दुर्घटनामा यही ठाउँमा बितेको हुँदा क्याम्पसले ६८ हजार ५०० प्रदान गरेको थियो। त्यो क्याम्पस संचालक समितिको कोषाध्यक्ष पनि केसी नै छन्।
लगत्तै नेपाली कांग्रेसका युवा नेता सुरेश हमाल नेतृत्वको राप्ती परोपकार संघ तुलसीपुरले ५० हजार रुपैयाँ थप डिभाइडर किन्नका लागि प्रहरीलाई सहायता प्रदान गरेको थियो।
ती सबै निकायले प्रदान गरेका डिभाइडरहरू यसअघि नै मदन आश्रित चोकदेखि गुम्ह्रा चोकको बीचमा स्थापना गरिएको थियो। ती डिभाइडर भने सडकमाथि त्यसै बसालेर प्लाष्टिकको डन्डी र केही डोरीले बाँधेर राखिएका छन्।
मदन आश्रित चोकदेखि गुम्ह्रा चोकको बीचमा अझै केही डिभाइडर अपुग छ।
राज्यले गर्नुपर्ने सडक सुरक्षा सम्बिन्ध काम यहाँका सामजिक संघसंस्थाले गर्नु एक उत्कृष्ट उदाहरण मान्न सकिने सरोकारवालहरू बताउँछन्।
‘डिभाइडर अपुग भएको ठाउँहरूमा थप अन्य सामाजिक संघ संस्थाहरूसँग आग्रह गरिएको छ,’ डिएसपी पराजुलीले भने, ‘केही सामाजिक संघ संस्थाहरू त्यसका लागि हातेमालो गर्न इच्छुक देखिनु भएको छ।’
राप्ती राजमार्ग अन्तर्गतको ‘क’लाइनमा पहिले नै बीरेन्द्रचोकदेखि बाहिनी चोकसम्म बीचको मेडियनमा रूख बिरूवा लगाइएको हुँदा त्यो क्षेत्र तुलनात्मक रूपमा धेरै सुरक्षित रहे पनि बाहिनी चोक मुनीको गुम्ह्रा चोकसम्मको सडक खण्ड खाली रहेको हुँदा सामाजिक संघ संस्थाले डिभाइडर किनेर दिएर उत्कृष्ट कार्य गरेको मान्नु पर्ने डिएसपी पराजुलीले बताए।
‘सडक इञ्जिनियरिङ अनुसार हुनुपर्ने आवश्यक संकेत वा चिह्न तथा सडक लेन छुट्ट्याउने काम भइनसकेको हुँदा त्यस क्षेत्रमा लगालग निकै दुःखद् दुर्घटनाहरू हुन पुगे,’ उनले भने, ‘त्यहाँको सडकको अवस्था र कमजोरी तथा दुर्घटना न्यूनीकरणका उपायहरू तपाईंहरू जस्ता पत्रकारहरूले औंल्याइदिएपछि हामीले सामाजिक संघ संस्थाहरूलाई आग्रह गरेपछि उहाँहरू सहयोगका लागि राजी खुसी तयार हुनु भएको हो।’
सोही सडक खण्डमा अब थोरै क्षेत्रमा डिभाइडर आवश्य रहेको हुँदा त्यसको लागि पनि अन्य केहीलाई आग्रह गरिएको डिएसपी पराजुलीले जानकारी दिए।