दाङमा बसले अटोलाई ठक्कर दिँदा माउली हजुरआमा र नातिनीको मृत्यु भएको छ।
प्युठानको सरूमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमीसरा बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू नाताले माउली घरकी हजुर आमा र नातिनी हुन्।
दुर्घटनामा परी अटो चालक तथा मृतक शिशुका बुवा प्यूठानको सरुमारानी गाउँपालिका – ५ पाखापानीका ३३ वर्षीय जीतबहादुर पल्ली मगर, उनकी २० वर्षीया श्रीमती संगिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्।
घाइतेमध्ये संगिताको अवस्था गम्भीर छ भने उनका श्रीमानको अवस्था मध्यम छ। प्रहरीका अनुसार उनीहरूका दम्पतीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
मध्यम अवस्थाका अधिकारीको भने लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रमेश तिमिल्सिनाका अनुसार दिउँसो पौने ४ बजेतिर यो दुर्घटना भएको थियो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १५७१ नम्बरको अटोलाई विपरीत दिशा अर्थात पूर्वबाट पश्चिम तर्फ (भालुवाङबाट लमही तर्फ ) आउँदै गरेको लु.प्र.०२–००१ ख ०१११ नम्बरको यात्रुबाहक बसले लमही नगरपालिका–३ मजगाउँ चोकमा ठक्कर दिएको थियो।
ठक्करबाट अटोमा सवार हजुर आमा र नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार छोरीको उपचार लागि उनीहरू प्युठानबाट आएर उपचारपछि लमही बजारबाट प्युठान फर्किने क्रममा दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्र गतिमा लमहीतर्फ आउँदै गरेको यात्रुबाहक बससँग ठोक्किएका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।