हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा पानी परिरहेको छ।
पछिल्लो तीन घन्टामा कास्कीको पोखरामा २९.४ मिलिमिटर वर्षा मापन भएको छ। मालेपाटनमा १२.८ मिलिमिटर, लमजुङको गिलुङमा १९ मिलिमिटर, बेसीसहरमा ४.२ मिलिमिटर, चितवनको नारायणी फिल्ड अफिस मापन केन्द्रमा १३.८ मिलिमिटर, बर्दियाको कुम्रा गाउँमा ७.४ मिलिमिटर, रानी जरूवामा ६.४ मिलिमिटर,डोटीको गैरमकम ३.२ मिलिमिटर, दार्चुलाको धर्मपानीमा ५.४ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा हल्कादेखि मध्यसम्मको वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग ,हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना छ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ।
तराई भू-भागका एक-दुई स्थानमा पनि राति मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।