जर्मनीका पूर्वगुप्तचर प्रमुख अगस्ट हानिङ राष्ट्रद्रोहको शंकामा पक्राउ परेका छन्।
अभियोजनकर्ताहरूले यसलाई शीतयुद्धपछि जर्मनीको राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबभन्दा ठूलो सुरक्षा चुहावटमध्ये एक हुन सक्ने बताएका छन्।
८० वर्षीय हानिङलाई मंगलबार बिहान नेदरल्यान्ड्सको सिमाना नजिकै पर्ने स्टाइनफर्ट काउन्टीबाट पक्राउ गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
हानिङमाथि पछिल्ला १६ वर्षमा जर्मनीको विदेशी गुप्तचर निकाय बिएनडीको उच्च तहबाट हजारौं गोप्य दस्तावेज गैरकानुनी रूपमा प्राप्त गरेको र तीमध्ये कम्तीमा केही सूचनाबाट विदेशी शक्तिलाई जानकारी बिक्री गरेको आरोप छ।
यद्यपि, अनुसन्धानबारे थाहा भएका अधिकारीहरूका अनुसार हालसम्मको अनुसन्धानमा रूसलाई प्रत्यक्ष रूपमा जोडिएको छैन।
हानिङ सन् १९९८ देखि २००५ सम्म बिएनडीका प्रमुख थिए। त्यसपछि सन् २००५ देखि २००९ सम्म उनले जर्मनीको गृह मन्त्रालयमा सबभन्दा वरिष्ठ निजामती कर्मचारीका रूपमा काम गरेका थिए।
उनले आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
बिएनडीमा सेवारत एक वरिष्ठ अधिकारीलाई पनि राष्ट्रद्रोहमा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ।
उनलाई बाभेरियास्थित घरबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले म्यानफ्रेड डी भनेर चिनाएको ती अधिकारी हानिङ बिएनडी प्रमुख हुँदा उनका चिफ अफ स्टाफ थिए।
हानिङ गृह मन्त्रालयमा गएपछि पनि उनीसँगै त्यहाँ काम गरेका थिए।
पछि बिएनडीमै फर्किएका उनले सन् २०१२ देखि यस वर्षसम्म लगातार तीन जना बिएनडी प्रमुखका चिफ अफ स्टाफका रूपमा काम गरेका थिए। यस क्रममा म्यानफ्रेड डीलाई संस्थाको सबैभन्दा संवेदनशील निर्णय प्रक्रिया र गोप्य दस्तावेजमा उच्चस्तरीय पहुँच थियो।
जर्मन संघीय अभियोजकका अनुसार दुवै जनाले सन् २०१० को वसन्तमा एउटा सहमति गरेका थिए। त्यसअनुसार डीले बिएनडीबाट प्राप्त महत्वपूर्ण गुप्तचर सूचना निरन्तर हानिङलाई दिने र त्यसबापत पारिश्रमिक लिने व्यवस्था भएको अनुसन्धानकर्ताहरूको दाबी छ।
अभियोजकका अनुसार हानिङले ती सूचनालाई आफूले सञ्चालन गर्दै आएको निजी परामर्श व्यवसायमा प्रयोग गर्ने योजना बनाएका थिए।
अनुसन्धानबाट हालसम्म म्यानफ्रेड डीले हानिङलाई करिब दुई हजार दस्तावेज उपलब्ध गराएको खुलेको छ। तीमध्ये धेरै बिएनडीभित्र मात्र प्रयोगका लागि तयार गरिएका गोप्य दस्तावेज थिए।
ती दस्तावेजमध्ये जर्मन चान्सलर र सुरक्षा स्वीकृति पाएका सीमित मन्त्रीहरूका लागि तयार गरिने उच्चस्तरीय गुप्तचर ब्रिफिङसमेत रहेको बताइएको छ।
विदेशी गुप्तचर निकायलाई सूचना दिएको आशंका
अभियोजकहरूका अनुसार कम्तीमा एकपटक हानिङले बिएनडीका गोप्य दस्तावेजबाट प्राप्त सूचना प्रयोग गरेर ‘विदेशी गुप्तचर निकायका एक अधिकारी’का लागि ब्रिफिङ तयार गरेका थिए।
उक्त ब्रिफिङ हानिङको कब्जाबाट फेला परेको भए पनि त्यो वास्तवमै सम्बन्धित विदेशी गुप्तचर निकायसम्म पठाइएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन।
त्यसैगरी, उनले अर्को विदेशी गुप्तचर निकायका आफू निकट एक अधिकारीलाई वर्षौंदेखि अनौपचारिक रूपमा ‘राजनीतिक’ सूचना उपलब्ध गराउँदै आएको अभियोजकको भनाइ छ।
यो घटनाले जर्मनीका गुप्तचर साझेदारहरूबीच पनि गम्भीर प्रश्न उठाउन सक्ने देखिएको छ। युरोपको प्रमुख गुप्तचर निकायमध्ये एक बिएनडीले अमेरिकी सिआइए, बेलायतको एमआई ६ र फ्रान्सको डिजिएसईजस्ता निकायबाट अत्यन्त संवेदनशील सूचना नियमित रूपमा प्राप्त गर्छ।
यस्ता सूचनाको आदानप्रदान सम्बन्धित गुप्तचर निकायले आफ्ना सूचना सुरक्षित राख्ने र तेस्रो पक्षलाई चुहावट नहुने विश्वासमा निर्भर हुन्छ।
१९७४ पछि सबभन्दा चर्चित राष्ट्रद्रोहको मुद्दा
हानिङमाथिको आरोप सही ठहरिएमा उनी सन् १९७४ को ‘गुइयोम प्रकरण’पछि जर्मनीमा राष्ट्रद्रोहको आरोप लागेका सबैभन्दा उच्च ओहोदाका व्यक्ति बन्नेछन्।
सन् १९७४ मा तत्कालीन चान्सलर विली ब्रान्ड्टका निकट सहयोगी गुन्टर गुइयोम लामो समयदेखि पूर्वी जर्मनीको स्टासीका लागि जासुसी गर्दै आएको खुलेको थियो। त्यस घटनापछि ब्रान्ड्टले चान्सलर पदबाट राजीनामा दिएका थिए।
चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको सरकारले जर्मनीका गुप्तचर निकायमा व्यापक सुधार गर्ने तयारी गरिरहेको बेला हानिङ पक्राउ परेका हुन्। प्रस्तावित सुधारले गुप्तचर निकायलाई व्यापक अधिकार दिने अपेक्षा गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)