खोटाङ घर भएकी २४ वर्षीया शितल (नाम परिवर्तन) गर्भवती भएपछि श्रीमानसँगै काठमाडौंमा बस्न थालिन्। उनका श्रीमान सवारी चालक हुन्। उनी तार्केश्वर नगरपालिकामा आफन्तहरूको नजिकै डेरा लिएर बस्छिन्।
गर्भावस्थामा कुनै समस्या नहोस् भनेर घर-परिवारकै सल्लाहमा काठमाडौंमा बस्न थालेकी हुन्। उनको स्वास्थ्यमा समस्या आइरहने भएका कारण सुरूआती चरणदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली चेकजाँच गराइन्।
बेलाबेलमा पेट दुख्ने समस्या भइरहँदा महिनामा एक पटक अस्पताल पुगिरहन्थिन्। ७/८ महिना पुग्दा पनि गर्भको बच्चाको तौल नपुगेको भन्दै उनलाई पोषिलो खानेकुरा खान भनियो। शितलले पनि चिकित्सकहरूले भनेअनुसार नै गरिन्।
असोज ६ गते राति ११ बजेतिर सुत्केरी बेथा लागेपछि उनका श्रीमानले अस्पताल ल्याएका थिए। बिहान ५ बजेतिर अपरेसन गरेर बच्चा निकालियो। त्यसपछि छोरीलाई चिकित्सकहरूले लिएर गएको शितल बताउँछिन्।
'अर्धबेहोस अवस्थामा भए पनि बच्चालाई किन लगियो, के भयो भन्ने चिन्ता थियो। तत्काल कसैलाई सोध्न पनि सकिनँ,' शितलले भनिन्,' एक डेढ घन्टापछि बच्चालाई आइसियूमा राखिएको छ भनेर थाहा भयो। तर किन के भएको भन्नेकुरा थाहा पाइनँ।'
अपरेसन कक्षबाट निकालिएको ३/४ घन्टासम्म पनि बच्चालाई देख्न पाएकी थिइन। एकैपल्ट ५ घन्टापछि साँझपख मात्र छोरीलाई देख्न पाइन्। छोरीको स्वास-प्रश्वासमा समस्या भएर आइसियूमा राखेको पछि थाहा पाएको उनी बताउँछिन्।
एक साता अस्पतालमा बसेपछि डिस्चार्ज गरियो। डिस्चार्ज गर्दा १५/२० दिनपछि टाँका काट्न आउन भनियो। त्यसबाहेक आफूलाई केही जानकारी नदिएको उनी बताउँछिन्।
'कुन औषधि कतिबेला खानेबाहेक अरू केही पनि भनिएको थिएन,' उनले भनिन्, 'अनुभवी नभएका कारण आफूहरूले पनि सोधेनौं। तर डेरा फर्किएको एक दुई दिनमै घाउ चर्किन थाल्यो।'
उनी राम्रोसँग दायाँ-बायाँ फर्किन सक्दिनथिइन्। टाँका कस्तो भइरहेको छ भनेर हेर्न सकेकी पनि थिइनन्। बाक्लो कपडा लगाएर घाममा पनि सुतिन्।
शरीरका अन्य भागमा तेल लगाए पनि घाउमा भने पारिनन्। अलिअलि चर्किँदा उनले त्यसलाई सामान्य होला भन्ने ठानिन्। उनका श्रीमानले पनि त्यसलाई सामान्य होला भन्ने सोचे। तर घाउ भित्रभित्रै पाकेर बाहिरी भागमा पनि पहेँलो देखिन थालेपछि उनका श्रीमानले पुन:प्रसूति गृहमै लिएर आए।
'चिकित्कसहरूले घाउ राम्रोसँग सफा नगरेको भन्दै तत्काल भर्ना गरेर बस्न भनियो,' शितलले भनिन्, 'के गर्नु हुन्छ? के गर्नु हुँदैन भनेर भनिएकै थिएन। त्यसैले घाउ पाक्यो।'
उनलाई डिर्चाज गर्नुअघि चिकित्सकहरूले घाउको कसरी हेरचाह गर्ने, शिशुको कसरी केयर गर्ने भन्नेबारेमा केही पनि नभनेको उनको आरोप छ।
चिकित्सकले भनेका भए त्यही अनुसार आफूले हेरचाह गर्थे। यसरी पटकपटक अस्पताल आएर भर्ना भइरहनु पर्दैन थियो भन्ने शितललाई लाग्छ।
उनको घाउको टाँका पाकेकाले पुन:निकालेर अस्पतालमा भर्ना गरियो। चार/पाँच दिन राखेपछि फेरि टाँका लगाउने तयारी भइरहेको उनी बताउँछिन्।
'पहिला नै हेरचाहको बारेमा भनिदिएको भए आफूले थप अस्पतालमा बस्नु पर्दैनथ्यो,' उनले भनिन्, 'थाहा नहुने मान्छेलाई सबैकुरा सिकाइदिए हुन्थ्यो जस्तो लाग्छ।'
उनीमात्र होइन्, सिन्धुली घर भएकी २१ वर्षीया आशा (नाम परिवर्तन) सुत्केरी भएको १३ दिनपछि पुन: अस्पतालमा भर्ना भएकी छन्। उनले पनि अपरेसन गरेर बच्चा निकालिएको थियो।
बच्चाको स्वास्थ्यमा केही समस्या नभएको भनेपछि ४ दिनको दिनमा घर पठाइदियो। त्यतिबेला १०/१५ दिनमा अपरेसनको टाँका काट्न आउनुपर्छ। साथसाथै बीचमा केही समस्या देखिएमा अस्पताल आउनु भनेर पठाइदिएको उनी बताउँछिन्।
उनकी सासूले दिनहुँ मनतातो पानी घाउ सफा गरिरहनुपर्छ भनेर सिकाइन्।
आशाका श्रीमानले पनि दिनमा एक पटक घाउ सफा गरिदिन्थे। त्यै पनि उनको टाँका पाक्यो। शरीर हलचल हुनसाथ घाउको दुखाइ बढ्न थाल्यो। त्यसपछि उनी अस्पतालमा चेकअपका लागि आएकी थिइन्। अस्पतालले पुन:भर्ना राखिदियो।
'राति अरू सुतिहाल्छन्। बच्चालाई दूध खुवाउनुपर्यो। अलिअलि हलचल हुनसाथ घाउ दुख्ने, पाक्ने हुने रहेछ,' उनले भनिन्, 'सुत्केरी र बच्चा कसरी हेरचाह गर्ने भनेर डिस्चार्ज हुँदा केही जानकारी नै दिएनन्। पहिलो सन्तान भएकाले आफूलाई पनि थाहा भएन।'
उनले थपिन्, 'अस्पतालमा हुँदा केही सोध्दा पनि वाक्कै माने जस्तो र झर्किने गर्ने हुँदा सोधिरहन मन लाग्दैन। चिकित्सकहरू सुत्केरीलाई नै सबै थाहा हुन्छ जस्तो व्यवहार गर्नुहुन्छ।'
चिकित्सकहरूको स-सानो सहयोगले पनि सुत्केरीहरूलाई सहज हुन्थ्यो। अस्पतालमा बस्दा त गाह्रो हुनसाथ भनिन्छ। तत्काल उपचार पाउने सम्भावना पनि उच्च हुन्छ। अस्पतालबाट घर फर्किएलगत्तै धेरै कठिनाइ सुरू हुने उनी बताउँछिन्।
उनका अनुसार बच्चाको जन्म त भयो, तर त्यसपछिको संवेदनशील अवधिमा आमाको स्वास्थ्य कसरी जोगाउने, के खाने, के नखाने र घरमा कसरी हेरचाह गर्ने भन्ने विषयमा अस्पतालबाट चित्तबुझ्दो र विस्तृत परामर्श हुँदैन।
अस्पतालले डिस्चार्ज गर्दा 'आराम गर्नुहोला, पौष्टिक खानुहोला' भन्ने सामान्य सल्लाह दिन्छन्। व्यावहारिक रूपमा आइपर्ने समस्याहरूबारे विस्तृत जानकारी नदिँदा धेरै सास्ती भोग्नु परेको उनीहरूको गुनासो छ।
ललितपुरकी ३२ वर्षीया सीमा (नाम परिवर्तन) असोजको २ गते पहिलो सन्तानकी आमा बनिन्। नर्मल सुत्केरी भएकाले २ दिनको बसाइपछि पाटन अस्पतालले उनलाई डिस्चार्ज गरिदियो।
अस्पतालबाट फर्किँदा औषधि र भिटामिनका चक्कीहरू त थमाइदिएको थियो। थप केही नभनेको उनी बताउँछिन्।
'सुत्केरीलाई घिउ, ज्वानो र तातो झोल मात्र खुवाउनुपर्छ भनी परिवारका पाको पुस्ताले भन्नुहुन्छ। तर, डाक्टरले चाहिँ प्रोटिनयुक्त सन्तुलित खाना खानु भन्नुभएको थियो, त्यसमै पनि अन्यौल परेँ,' उनी भन्छिन्, 'घरको खानेकुरा खाइरहँदा पनि दूध नै आएन। साथसाथै एक सातासम्म रगत बग्न पनि कम भएन।'
उनले बच्चालाई ल्याक्टो खुवाइरहँदा केही समस्या हुने हो कि सोचेर एक सातापछि फेरि अस्पतालमा सोधपुछका लागि गइन्। त्यहाँ चिकित्सकहरूले पम्प गरेर आफ्नो दूध निकालिदिएको उनी बताउँछिन्।
उनका अनुसार रगत किन धेरै गइरहेको छ भनेर चेकजाँच भयो। र औषधि दिइयो। कुनैकुनै सुत्केरीको सामान्यभन्दा अलि बढी रगत बग्छ भनेर फर्काइयो।
'सुत्केरीपछि रगत धेरै बगिरहँदा कति दिनसम्म सामान्य मान्ने हो र कहिले अस्पताल आउने भन्ने पनि नभन्दा धेरै दिन पीडामा रहनुपर्यो,'सीमाले भनिन्, 'यौनाङ्गको घाउको बारेमा नभन्दा त्यहाँ पनि जलन भोग्नुपर्यो।'
नर्मल बच्चा जन्माएकी उनलाई घर फर्किएपछि घाउ कसरी सफा राख्ने, कति बेला हिँडडुल गर्ने र कस्ता लक्षण देखिएमा आपतकालीन रूपमा अस्पताल फर्कने भन्ने बारेमा स्पष्ट निर्देशन दिइएन।
घाउ दुख्दा के गर्ने, नसा तन्किएजस्तो हुँदा डराउनुपर्ने हो कि होइन? यसबारे सोध्ने ठाउँ नै पाइएन। तर डिस्चार्जको पर्चमा लेखिदिएको त हुनेरहेछ। अक्षर बुझ्न गाह्रो, अनि बुझाइदिने मान्छे कोही नभएकाले पनि आफूलाई गाह्रो भएको उनको भनाइ छ।
प्रसूति पछिको (पोस्टपार्टम) हेरचाहको पाटो निकै कमजोर छ, जसले गर्दा महिलाहरूले अनावश्यक रूपमा प्रसवोत्तर डिप्रेसन (पोस्टपार्टम ब्लुज) जस्ता समस्या झेल्नुपरेको उनको आरोप छ।
महिला, कानुन र विकास मञ्चले नेपालको गर्भावस्था, प्रसव र पसवोत्तर महिलाहरले भोगेको दुर्व्यवहार, हिसा र अधिकार उल्लंघन सम्बन्धी गरेको अध्ययनले पनि अस्पतालहरूले १३.९ प्रतिशत सुत्केरी (प्रसव महिला) लाई सेवाबारे कुनै जानकारी नै नदिने उल्लेख गरेको छ।
महिला, कानुन र विकास मञ्चले सातै वटा प्रदेशको १४ वटा जिल्लामा अध्ययन गरेको थियो। ती जिल्लाभित्र २/२ वटा पालिकामा अध्ययन गरेको हो। जसमा एउटा पालिकाभित्र २० गर्भवती, २० प्रसव महिला र २० प्रसवोत्तर गरी ६० जनासँग प्रत्यक्ष कुराकानी गरेको छ।
२८ वटा पालिकाको १६८० जनामहिला (५६० गर्भवती,५६० प्रसव र ५६० प्रसवोत्तर) सँग कुराकानी गरेको उक्त अध्ययन प्रतिवदेनमा उल्लेख गरिएको छ।
अध्ययनको कुल उत्तरदाताहरूमध्ये १४.३ प्रतिशत प्रसव महिलाहरूले सेवा लिदा कुनै जानकारी नदिने गरेको बताएका छन्।
साथसाथै १४.६ प्रतिशत र १३.९ प्रतिशत महिलाहरूले सेवा नदिने क्रममा कुनै जानकारी नदिने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैले हामीले सुत्केरी हेरचाहबारे अस्पतालले जानकारी दिन्छ कि दिँदैन भनेर हामीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीसँग कुराकानी गरेका छौं।
थापाथली अस्पतालको सूचना अधिकारी रानु थापाका अनुसार कुनै पनि महिला गर्भको चेकजाँच गर्न आएदेखि अस्पतालले कहिले/ कहिले चेकजाँच गर्ने कस्तो अवस्थामा अस्पताल आउने भनेर जानकारी दिइन्छ। चेकजाँच गर्न आउने क्रममा डाक्टरहरूले उनीहरूले ती कुरा भन्ने गरेका छन्।
साथसाथै, बच्चा जन्मिएर डिस्चार्ज हुने बेलामा सुत्केरीलाई औषधि र सरसफाइबारे जानकारी दिइन्छ। डाक्टरको प्रेस्क्रिप्शन अनुसार प्रयोग गर्ने समयहरू उनीहरूलाई बताउने गरिन्छ।
यसका लागि कुनै एउटा टोली छुट्टाइएको छैन। तर ड्युटीमा खटिएकाका नर्सहरूले सुत्केरीको डिस्चार्ज हुने क्रममा औषधि खाने समयअवधि र सरसफाइसँगै केही समस्या परेमा अस्पताल आउन भनिने गरेको सूचना अधिकारी थापा बताउँछिन्।
'हामीले सुत्केरीलाई मुख्य कुराहरू भनेर पठाएका हुन्छौं। तर कसरी हेरचाह गर्ने भनेर विस्तृत रूपमा काउन्सिलिङ गर्ने भन्ने हुँदैन। त्यस्तो नियम पनि छैन,' उनले भनिन्, 'मोटामोटी कुराहरू भनिएका हुन्छौं। केही समस्या भए वा देखिएमा सुत्केरी पुन: अस्पतालमा आउँछन्।'
उनका अनुसार अस्पतालमा बिरामीको अत्यधिक चाप हुन्छ। नर्मल डेलिभरी भएकालाई बढीमा दुई दिन र अपरेसन (सिजर) भएकाहरू ३ देखि ५ दिनसम्म अस्पतालमा राख्ने गरिएको छ।
अस्पतालमा बस्दा मिल्क बैंकका साथै ब्रेस्ट फिडिङ काउन्सिलर, नर्सिङ स्टाफ र स्टुडेन्टहरूले दैनिक रूपमा स्तनपान र काउन्सिलिङको काम गर्दै आएका छन्। तर, सुत्केरीपछिको व्यक्तिगत सरसफाइ र हेरचाहका लागि छुट्टै विशेष कक्षा नै भने सञ्चालन नहुने उनी बताउँछन्।
यसको प्रमुख कारण अस्पतालमा हुने बिरामीको अत्यधिक चाप हो। अस्पतालमा दैनिक ७० देखि १०० जनाभन्दा बढी प्रसूति सेवा (डेलिभरी) हुने गरेको छ।
अस्पतालको पोस्टन्याटल वार्ड (PNC) मा १०५ वटा बेडहरू छन्। त्यो सधैं भरिभराउ हुन्छ। देशैभरबाट प्रसूति सेवाका आउँछन्। जसले गर्दा चाप अत्यधिक हुने गरेको छ। त्यसैले हरेक सुत्केरीसँग वान-टु-वान (व्यक्तिगत रूपमा) लामो समय दिएर छुट्टै काउन्सिलिङ वा प्रसव सेवाबारे जानकारी दिने अभ्यास नभएको उनी बताउँछिन्।
'डिस्चार्ज हुने बेलामा मुख्यमुख्य कुराहरू भन्ने गरेका छौं। त्यतिबेला उहाँहरूले नसुन्नु भएको पनि हुनसक्छ। साथसाथै कहिलेकाहीँ धेरै सुत्केरी भएकाले ड्युटीमा खटिएका नर्सले भन्न बिर्सिनु भएको पनि हुनसक्छ,' उनले भनिन्।
फलोअपमा कहिले आउने, कुन-कुन औषधि नियमित खाने,सुत्केरी तथा बच्चाको हेरचाह कसरी गर्ने, अपरेसन गरिएको घाउलाई कसरी सफा राख्ने भन्नेबारे डिस्चार्ज लेटरमै लेखेर र मौखिक रूपमा सम्झाएर पठाइन्छ। भिडमा सबैलाई व्यक्तिगत समय दिन कठिन भए पनि मुख्य र अत्यावश्यक जानकारी दिएर पठाउने गरिएको उनी बताउँछिन्।
थापाथली अस्पतालमा काम गरिरहेकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ अस्पतालमा समयको अभाव र सुत्केरीको चापका कारण विस्तृत परामर्श दिन नसकिएको उनी स्वीकार गर्छिन्।
उनका अनुसार नेपालका अधिकांश अस्पतालमा प्रसूतिअघिको (एन्टनटल) हेरचाहमा जति ध्यान दिइन्छ, प्रसव र प्रसूतिपछिको (पोस्टपार्टम) हेरचाहमा त्यति जोड दिइने गरिएको छैन।
'हामीले औषधि र आधारभूत कुरा लेखेर दिन्छौं, तर घरमा गएर परिवारले कसरी हेरचाह गर्ने भन्नेबारे 'काउन्सिलिङ' गर्ने छुट्टै संरचना वा समय अस्पतालमा कमै हुन्छ। यसले गर्दा सुत्केरीहरूमा समस्या बल्झिने जोखिम हुन्छ,' उनले भनिन्।
घरमा सुत्केरीको हेरचाह कसरी गर्ने?
सन्तुलित र पोषिलो आहार-सुत्केरीलाई परम्परागत तातो झोल सँगै दाल, गेडागुडी, हरिया सागसब्जी, अण्डा, माछा/मासु जस्ता प्रोटिनयुक्त खाना प्रशस्त खुवाउनुपर्छ। यसले शरीरलाई छिटो शक्ति दिन्छ र दूध उत्पादन बढाउँछ।
हाइड्रेशन (पानीको मात्रा)-शरीरमा पानीको कमी हुन दिनु हुँदैन। मनतातो पानी, दूध वा झोलयुक्त पदार्थ नियमित पिउनुपर्छ।
घाउको सरसफाइ- अपरेसन (सिजेरियन) गरिएको घाउलाई सुख्खा र सफा राख्नुपर्छ। चिकित्सकले दिएको एन्टिबायोटिक र पेनकिलर नियम अनुसार खानुपर्छ। घाउबाट पिप बगेमा वा अत्यधिक दुखेमा तुरून्त डाक्टरकहाँ जानुपर्छ।
मानसिक र शारीरिक आराम- सुत्केरीलाई पूर्ण आरामको आवश्यकता हुन्छ। बच्चा उठ्दा आमा पनि उठ्नुपर्ने हुँदा परिवारका अन्य सदस्यले बच्चाको हेरचाहमा सघाएर आमालाई सुत्ने वातावरण मिलाइदिनुपर्ने हुन्छ। अत्यधिक रक्तस्राब भएमा, अत्यधिक टाउको दुख्ने वा रिङ्गटा लाग्ने भएमा, ज्वरो आएमा वा सास फेर्न गाह्रो भएमा तुरून्त अस्पताल आउनुपर्ने हुन्छ।
प्रसूति सेवालाई केवल बच्चा जन्मिनुमा मात्र सीमित नराखी, जन्मपश्चात् आमाको शारीरिक र मानसिक पुनरुत्थानसम्म जोड्न अस्पताल र स्वास्थ्यकर्मीहरूले विशेष परामर्श कक्षको व्यवस्था गर्नु आजको आवश्यकता हो।
किनकि आजकाल संयुक्त भन्दा पनि एकल परिवार हुन्छन्। त्यसैले सुत्केरी हेरचाहबारे जानकारी नहुने महिला कानुन र विकास मञ्चको कार्यक्रम व्यवस्थापक तथा अधिवक्ता बिनु लामाले जानकारी दिइन्।
उनका अनुसार अन्य देशहरूमा पहिलादेखि नै सुत्केरीका श्रीमान वा परिवारका अन्य सदस्यलाई कसरी हेरचाह गर्ने भनेर सिकाइन्छ।तर हाम्रोमा त्यो अभ्यास छैन। चिकित्सकहरूले औषधि खाने समय र फलोअपमा कहिले आउने मात्र भनिदिन्छन्।
'दोस्रो/तेस्रो बच्चा हुने र संयुक्त परिवारमा बस्नेलाई सुत्केरी हेरचाहबारे थाहा भए पनि पहिलो सन्तान जन्माउनेलाई थाहा हुँदैन,' अधिवक्ता लामाले भनिन्, 'त्यसैले अस्पतालले यस बारेमा प्रष्ट जानकारी गराउनुपर्छ भन्ने लाग्छ।'
सुत्केरी सेवाबारे प्रष्ट जानकारी दिने प्रावधान नै ल्याउनुपर्छ। जबसम्म कानुनी प्रावधान हुँदैन तबसम्म अस्पतालहरूले यसबारेमा चासो दिँदैनन्। र कर्मचारीहरू छुट्टाउँदैनन्। त्यसैले अहिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ अधिकार ऐन २०७५ लाई संशोधन गर्न नयाँ विधेयक बनिरहेका छन्। त्यसमा सुत्केरी हेरचाहबारे जानकारी दिने विषयमा पनि छलफल हुनुपर्ने उनको भनाइ छ।