कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट सवारी चेकजाँचमा खटिएका तीन प्रहरी घाइते भएका छन्।
मोटरसाइकलको ठक्करबाट प्रहरी सहायक हवलदार ३८ का उज्जवलसिंह साउद, हवलदार ३८ वर्षीया राधिका शाही र ३५ वर्षीया सहायक हवल्दार कमला खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार सहायक हवलदार साउदलाई बढी चोट लागेको छ। उनको एउटा खुट्टा फ्र्याक्चर भएको छ भने टाउको र छातीमा पनि चोट लागेको छ।
उनको आइसियूमा उपचार भइरहेको छ।
हवलदार शाहीको छातिमा र खुट्टामा चोट छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै सहायक हवलदार खत्रीको छाती र खुट्टामा चोट छ। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइ रहेको छ । घाइते तीनै जना प्रहरी सुदुरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत छन् ।
बुधबार बेलुका धनगढी उपमहानगरपालिका– २ पेट्रोल पम्प नजिकै संयुक्त रुपमा सवारी चेकजाँचमा खटिएका प्रहरीलाई से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
मोटरसाइकल कञ्चनपुरको पुनर्वास नगरपालिका-११ का २३ वर्षीय आशिष चौधरीले हाँकेका थिए।
डिएसपी तिमिल्सिनाका अनुसार आशिषले मदिरा सेवन गरी मोटरसाइकल हाँकेको पुष्टि भएको छ। तीव्र गतिमा हाँकेको मोटरसाइकलले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई ठक्कर दिएको थियो।
आशिष अहिले प्रहरी नियन्त्रणमा छन्। मोटरसाइकलको पछाडि सवार कैलालीको बर्दगोरीया गाउँपालिका – ६ का १७ बर्षीय समिर चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले जानकारी दिए।