फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षामा लगानी बढाउन माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन युरोपका अन्य देशमा पनि फैलिन थालेको छ।
बुधबार बेल्जियमको लिजमा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो।
ग्रीस, इटाली, आयरल्यान्ड, जर्मनी र अस्ट्रियामा पनि विद्यार्थीले प्रदर्शन, हडताल र विद्यालयमै विरोधजस्ता कार्यक्रम अघि बढाएका छन्।
फ्रान्सको राजधानी पेरिस आसपास सेप्टेम्बरको मध्यतिर केही विद्यार्थीले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी आन्दोलनमा परिणत भएको छ।
विद्यार्थी, अभिभावक र शिक्षक संगठनले विद्यालयको जीर्ण भवन, कक्षाकोठामा विद्यार्थीको चाप, शिक्षक अभाव र शिक्षामा पर्याप्त सरकारी लगानी नभएको भन्दै प्रदर्शन गरिरहेका छन्।
अक्टोबर ६ मा मात्रै फ्रान्सभरि २ लाख ६६ हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएको सरकारी तथ्यांक छ।
प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच पटक–पटक झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ।
पछिल्लो दुई सातामा फ्रान्समा ६ हजार ५०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन्। यसमा अधिकांश नाबालिग रहेको अमेरिकी अनलाइन एक्सियसले जनाएका छन्। अक्टोबर ६ को प्रदर्शनमा मात्रै करिब ५०० जना पक्राउ परेका थिए।
प्रहरी कारबाहीलाई लिएर पनि विवाद बढेको छ।
उत्तरी फ्रान्सको लेन्समा सोमबार भएको प्रदर्शनका क्रममा १५ वर्षीय विद्यार्थीको हात प्रहरीको स्टन ग्रिनेड विस्फोटबाट गम्भीर रूपमा क्षतिग्रस्त भएपछि फ्रान्स सरकारले विद्यार्थी प्रदर्शनका क्रममा त्यस्ता ग्रिनेड प्रयोगमा अस्थायी रोक लगाएको छ।
गृहमन्त्री लरेन्ट नुनेजले घटनाबारे स्पष्टता नआएसम्म स्टन ग्रिनेड प्रयोग नगर्न निर्देशन दिएका हुन्। प्रहरीले गरेको कारबाहीबारे १८ वटा आन्तरिक अनुसन्धान पनि अघि बढाइएको छ।
फ्रान्ससँगै छिमेकी बेल्जियममा पनि आन्दोलन चर्किएको छ।
लिजमा अक्टोबर १ देखि सुरु भएको प्रदर्शनमा प्रहरीले कम्तीमा १३९ जनालाई पक्राउ गरेको छ। विद्यार्थीले भीडभाड भएका कक्षाकोठा, शैक्षिक स्रोतसाधनको अभाव, शिक्षा सुधारका योजना र बढ्दो शुल्कको विरोध गरिरहेका छन्।
इटालीमा टुरिन र रोमका माध्यमिक विद्यालयका विद्यार्थीले सोमबारदेखि विद्यालय कब्जा गर्न थालेका छन्। उनीहरूले ‘फ्रान्समा जस्तै गरौँ’ भन्ने नारासहित शिक्षामा कम सरकारी लगानी, जीर्ण विद्यालय भवन र बढ्दो जीवनयापन खर्चको विरोध गरेका छन्।
केही विद्यार्थी प्रतिनिधि फ्रान्सेली विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पेरिससमेत पुगेका छन्।
ग्रीसमा विद्यार्थीले बिहीबार देशव्यापी विद्यालय गतिविधि बहिष्कार, प्रदर्शन र विद्यालय कब्जालगायत कार्यक्रम गर्ने तयारी गरेका छन्।
आयरल्यान्डमा यसै महिनाको सुरुवातमा हजारौं विश्वविद्यालय विद्यार्थीले डब्लिनमा प्रदर्शन गर्दै विश्वविद्यालय शुल्क घटाउन, उच्च शिक्षामा सरकारी लगानी बढाउन र सस्तो आवासको व्यवस्था गर्न माग गरेका थिए।
जर्मनीमा पनि सेप्टेम्बरमा विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षक संगठनले शिक्षामा लगानी बढाउन, थप शिक्षक नियुक्त गर्न र सबैका लागि समान शैक्षिक अवसर सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए।
अस्ट्रियामा विश्वविद्यालयको आगामी तीन वर्षको बजेटमा करिब एक अर्ब युरो कटौती हुन सक्ने चेतावनीपछि विद्यार्थी संगठनले अक्टोबरको मध्यमा थप प्रदर्शन गर्ने तयारी गरेका छन्।
यी आन्दोलन एउटै संगठनले समन्वय गरेको युरोपव्यापी आन्दोलन भने होइनन्।
तर विभिन्न देशका विद्यार्थीका मागमा समानता देखिएको छ—शिक्षामा पर्याप्त सरकारी लगानी, शिक्षकको उपलब्धता, राम्रो भौतिक पूर्वाधार, सस्तो शिक्षा र सुधारिएको विद्यालय वातावरण।
युरोपका सरकारहरू बजेट घाटा घटाउने दबाबमा रहेका बेला शिक्षामाथिको यो असन्तुष्टि बढेको हो। फ्रान्स, बेल्जियम र अस्ट्रियाजस्ता देशमा सरकारी खर्च कटौतीको दबाब बढिरहेको छ।
त्यसले शिक्षा लगायत सार्वजनिक सेवामा कति खर्च गर्ने भन्ने विषयलाई थप संवेदनशील बनाएको छ।