रुसले बुधबार युक्रेनमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बालबालिकासमेत छन्।
आक्रमणमा आवासीय भवन, औद्योगिक संरचना तथा ऊर्जा पूर्वाधारमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
सबैभन्दा ठूलो क्षति उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा भएको छ।
रुसी मिसाइल प्रहारबाट पाँचतले आवासीय भवन ध्वस्त हुँदा बिहीबार बिहानसम्म २२ जनाको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ।
उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनालाई जीवितै उद्धार गरेका छन्।
राजधानी किभमा पनि रूसी आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो।
भग्नावशेषमा थप दुई शव भेटिएपछि किभमा मृत्यु हुनेको संख्या चार पुगेको छ। किभनजिकै ड्रोनको भग्नावशेष खसेर बुधबार साँझ दुई जनाको मृत्यु भएको अभियोजनकर्ताले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा देशभर करिब १०० जना घाइते भएको बताएका छन्।
उनले रुसी आक्रमणलाई ‘सबैभन्दा घृणित आक्रमणमध्ये एक’ भन्दै यसलाई जानाजान पीडादायी र प्रदर्शनात्मक बनाइएको आरोप लगाए।
जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनतर्फ ७० वटा मिसाइल प्रहार गरेको थियो।
जसमध्ये धेरै तीव्र गतिका ब्यालिस्टिक मिसाइल थिए। त्यससँगै दर्जनौँ शाहेद ड्रोन पनि प्रहार गरिएको उनले बताएका छन्।
युक्रेनी वायुसेनाका अनुसार रुसले प्रहार गरेका ४६ वटा जेट इन्जिनयुक्त ड्रोनमध्ये ८० प्रतिशतभन्दा बढी खसालिएको थियो।
पछिल्ला सातामा युक्रेनी वायु प्रतिरक्षाले यस्ता ड्रोनमध्ये करिब ५० देखि ६० प्रतिशत मात्र रोक्दै आएको थियो।
तर जेलेन्स्कीले ब्यालिस्टिक मिसाइल अझै पनि युक्रेनका लागि मुख्य चुनौती रहेको बताएका छन्। मानिसको ज्यान जोगाउन आवश्यक प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली प्राप्त गर्न आफूहरूले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ।
रुसको रक्षा मन्त्रालयले भने आक्रमण सैन्य–औद्योगिक संरचनालाई लक्षित गरेर गरिएको दाबी गरेको छ।
मन्त्रालयका अनुसार किभसहित चेर्निहिभ, किरोभोहराद, डिनिप्रोपेत्रोभ्स्क, पोल्टाभा र खार्किभ क्षेत्रमा उच्च सटीकताका स्थल, समुद्र र हावाबाट प्रहार गर्न सकिने हतियार तथा ड्रोन प्रयोग गरिएको थियो।
रुसी रक्षा मन्त्रालयले युक्रेनी रक्षा कम्पनी फायर पोइन्टले फ्लामिङ्गो क्रुज मिसाइल तथा मध्यम र लामो दूरीका ड्रोन उत्पादन र भण्डारण गर्ने संरचनालाई समेत लक्षित गरिएको जनाएको छ।
युक्रेनले गत साता फायर पोइन्टले निर्माण गरेको घरेलु ब्यालिस्टिक मिसाइल पहिलोपटक युद्धमा प्रयोग गरेको जनाएको थियो।
आक्रमणको चेतावनी पाएपछि किभका धेरै बासिन्दा रातभर भूमिगत मेट्रो स्टेसनमा आश्रय लिए। राजधानीमा रातभर पटक–पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो।
यता जेलेन्स्कीले पछिल्लो २४ घण्टामा युक्रेनी सेनाले रुसका चारवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्। उनका अनुसार तीमध्ये दुईवटा तेलसम्बन्धी संरचना र एउटा सैन्य प्रशिक्षण केन्द्र थिए।
रूसले यसअघि युक्रेनको राजधानी किभ लगायत विभिन्न सहरबाट विदेशी कुटनीतिज्ञ र नागरिकहरूलाई सहर छाड्न चेतावनी दिएको थियो।