काठमाडौंको बूढानीलकण्ठमा सुन प्रशोधनका लागि बनाइएको घर गत साउनमै भाडामा लिएको खुलेको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भंगालमा रहेको घरबाट प्रहरीले २१.७५० किलोग्राम सुन बरामद गर्यो। त्यो घरमा तीन जना चिनियाँ नागरिकले विभिन्न उपकरणहरू नै राखेर सुन गालेर ठोस बिस्कुट बनाउने काम गरेको देखिन्छ।
सुन प्रशोधनका लागि लिइएको त्यो घर अर्कै चिनियाँ नागरिकले गत साउनमै भाडामा लिएको अनुसन्धानको क्रममा खुलेको हो।
हाल पक्राउ पर्नेमा चिनियाँ नागरिक हान फेइ, वाङ जियानझेन र झोउ लोङक्विन छन्।
उनीहरूलाई त्यस घरको चाबी भने नेपाल पठाउनु अगाडि चीनमै दिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानबाट खुलेको छ।
भाडामा लिने चिनियाँ नागरिक सु कान नामका व्यक्ति हुन्। उनले साउन ८ गतेदेखि चार महिनाका लागि भनेर मासिक ३ लाख ३० हजार रुपैयाँ घर भाडामा लिएका थिए।
भाडामा लिएको उक्त घरको चार महिनाकै अग्रिम भुक्तानी १३ लाख २० हजार रुपैयाँ भइसकेको थियो।
त्यसपछि सु कान साउन ३० गते चीनतर्फ गएका थिए।
सु कान चीनमा पुगेर अर्का चिनियाँ नागरिक झेन जिया ली नामक व्यक्तिलाई दिइएको थियो। झेन जिया ली यस सुन तस्करीमा प्रमुख व्यक्तिको रूपमा समेत देखिएका छन्।
उनले चाबी लिएर चीनमै हान फेइलाई दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
त्यसपछि उनीहरू नेपाल आएर घरमा सुन प्रशोधनको काममा संलग्न भएको प्रहरीको अनुसन्धान विवरणमा उल्लेख छ।
चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लीले नेपालमा रहेका व्यक्तिहरूलाई वीच्याटमार्फत निर्देशन दिने गरेको पनि खुलेको छ।
नेपालमा सुन कहाँ पुर्याउने, कसलाई बुझाउने र कसरी कारोबार गर्ने भन्ने निर्देशन चीनबाटै आउने गरेको एसएसपी खड्काले बताए।
‘उनीहरूले नेपालमा कहाँ, के-कसरी र कसलाई सुन पुर्याउने भन्ने निर्देशन चीनबाटै पाउने गरेको देखिन्छ। उनीहरूको बोसले वीच्याटमार्फत निर्देशन दिने गरेको खुलेको छ,’ उनले भने।
प्रहरीका अनुसार बरामद सुनमध्ये १० किलो ९९७ ग्राम सुन ११ वटा बिस्कुट आकारका टुक्रामा थियो। त्यस्तै, १० किलो ७५२ ग्राम अर्धठोस अवस्थामा रहेको सुन बरामद भएको थियो।
सुनको सूचना पाएपछि निगरानी
काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर सुनको अवैध कारोबार तथा ओसारपसार गरिरहेको विशेष सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निगरानी सुरू गरेको थियो। यस अपरेशनलाई प्रहरीले ब्राभो गल्फको नाम दिएको थियो।
प्रहरीलाई उक्त घरमा शंकास्पद गतिविधि भइरहेको र सुन हुन सक्ने सूचना आएको थियो। त्यसपछि कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको थियो।
असोज २२ गते बिहीबार प्रहरी टोली निगरानीमा रहेका बेला उक्त घरबाट एउटा गाडी बाहिरिन खोजेको थियो। प्रहरीले गाडी रोकेर जाँच गर्दा सुन फेला पारेपछि घरभित्र प्रवेश गरेर थप अनुसन्धान गरेको थियो।
घरभित्र सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरणहरू भेटिएका थिए। प्रहरीले त्यहीँबाट तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी पुग्दा उनीहरूले हातपात समेत गरेका थिए।
अर्थठोस सुनलाई बिस्कुट आकार
प्रहरीका अनुसार उक्त घरमा बाहिरबाट ल्याइएको अर्धठोस अवस्थामा रहेको सुनलाई विभिन्न मेसिन तथा रसायन प्रयोग गरेर प्रशोधन गर्ने गरिएको थियो। प्रशोधनपछि सुनलाई बिस्कुट आकारमा ढालेर तोकिएको ठाउँमा पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुन गाल्ने, आकार दिने, चिस्याउने तथा सफा गर्ने प्रक्रियामा प्रयोग हुने उपकरणहरू बरामद भएका छन्।
एसएसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले घरमा ल्याइएको सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने काम गर्ने गरेको देखिएको छ।
तर सुन कहाँबाट ल्याइन्थ्यो, कसले ल्याएर दिन्थ्यो र प्रशोधनपछि कसलाई बुझाइन्थ्यो भन्ने विषय अझै खुल्न बाँकी रहेको उनले बताए।
प्रहरीले सुन ल्याउन कार्गो सेवा प्रयोग भएको हुन सक्ने विवरण पनि अनुसन्धानका क्रममा पाएको छ। तर कार्गोमार्फत नै सुन ल्याइएको थियो वा अन्य कुनै माध्यम प्रयोग गरिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
बरामद गाडी पनि भाडाको
प्रहरीको अनुसन्धान विवरणअनुसार हान फेइले नेपाल आएपछि विमानस्थलबाटै गाडी भाडामा लिएका थिए।
उनले उक्त गाडी सेप्टेम्बर २७ देखि अक्टोबर ११ सम्मका लागि भाडामा लिएको विवरणमा उल्लेख छ।
गाडी भाडामा लिने सेवा प्रदायकलाई दैनिक आठ हजार रुपैयाँ तिर्ने गरी गाडी लिइएको थियो। उक्त गाडी सुन ओसारपसारमा प्रयोग भएको प्रहरीले जनाएको छ।
प्रहरीले निगरानी गरिरहेका बेला घरबाट गाडी बाहिरिन खोजेपछि रोकेर जाँच गरेको थियो। त्यस क्रममा सुन फेला परेपछि घरमा थप अनुसन्धान गरिएको थियो।
तर सुन गाडीमा राखेर कहाँ लैजान लागिएको थियो र कसलाई बुझाउने तयारी थियो भन्ने विषय खुल्न बाँकी छ। प्रहरीले गाडीको प्रयोग, पक्राउ परेका व्यक्तिहरूको आवागमन र सुन कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका हान फेइ यसअघि पनि नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनले साउन १९ गते परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्यबारे जानकारी लिएको र भदौ १३ गते चीन फर्किएको रेकर्डमा देखिन्छ।
त्यसपछि उनी पुनः नेपाल आएर सुन प्रशोधन तथा ओसारपसारको काममा संलग्न भएको प्रहरीको विवरणमा उल्लेख छ।