दाङको तुलसीपुर उपमहानगरपालिका–१४ करङ्गास्थित नमूना प्राथमिक विद्यालयका शिक्षक लुमबहादुर रिजालले विद्युतीय ह्विलचेयर पाएका छन्।
सक्षमता विकास समाज नेपाल र रोटरी क्लब अफ तुलसीपुर सिटीको आर्थिक सहयोगमा एक लाख २० हजार रुपैयाँ मूल्य पर्ने विद्युतीय ह्विलचेयर शुक्रबार उनलाई प्रदान गरिएको हो।
४५ वर्षीय रिजाल पाँच वर्षको उमेरदेखि नै दुवै खुट्टा चलाउन नसक्ने अवस्थामा पुगेका थिए। उनले आमाको प्रेरणामा कठिन संघर्ष गर्दै अध्ययन पूरा गरेका थिए। आइएडसम्मको शिक्षा हासिल गरेपछि उनी शिक्षण पेसामा लागेका हुन्।
रिजालले विगत १६ वर्षदेखि शिक्षण पेसामा रहेर ग्रामीण क्षेत्रका विद्यार्थीलाई पढाउँदै आएका छन्। उनी घरदेखि विद्यालयसम्म सामान्य ह्विलचेयर हातले ठेलेर आवतजावत गर्दै आएका थिए। यसका लागि उनलाई दैनिक ४५ देखि ५० मिनेटसम्म लाग्ने गरेको थियो।
विद्युतीय ह्विलचेयर पाएपछि अब १० मिनेटमै विद्यालय आवतजावत गर्न सक्ने उनले विश्वास व्यक्त गरे।
‘अब पहिले जस्तै हातले ह्विलचेयर ठेल्नुपर्ने दुःखका दिन गए जस्तो लाग्यो,’ उनले भने, ‘मेरो दुःख र संघर्ष देखेर सहयोग गर्नुहुने सबैप्रति आभारी छु।’
उनले आफ्नो जीवनमा आमाको हौसला र प्रेरणाको ठूलो भूमिका रहेको बताए। शिक्षाले नै अपाङ्गता भएका व्यक्तिलाई अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देवेन्द्र केसीका अनुसार रिजालले हातले ह्विलचेयर चलाएर कष्टका साथ विद्यालय आवतजावत गरिरहेको थाहा पाएपछि उनको दैनिकी सहज बनाउन विद्युतीय ह्विलचेयर प्रदान गरिएको हो।
व्यवसायी तथा क्लबका पूर्वअध्यक्ष विमल रिजालको पहलमा ह्विलचेयर उपलब्ध गराइएको हो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूले शिक्षक रिजाललाई थप हौसलाका साथ शिक्षण पेसामा लाग्न आग्रह गरेका थिए।