बर्दियाको कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ।
जिल्लाको मधुवन नगरपालिका – ३ कोठियाघाटस्थित कर्णाली नदीमा माछा मार्न गएकी स्थानीय ५१ बर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले बताए।
लामिछाने शुक्रबार बिहान सात बजेतिर कर्णाली नदीमा माछा मार्न भनेर एक्लै गएकी थिइन्। लामिछाने अबेरसम्म घर नफर्किएपछि परिवारले उनको खोजी थालेका थिए।
नदीमा गोही हिँडेको देखिएको तथा गोहीसँगै मानिसको टाउकोसमेत देखिएको भनेर शुक्रबार दिउँसो स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।
सूचनापछि प्रहरी चौकी कोठियाघाटबाट घटना अनुसन्धानका लागि प्रहरी खटिएको थियो।
माछा मार्न गएकी लामिछाने गोहीको आक्रमण पछि बेपत्ता रहेको भन्ने खुलेपछि इलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी नायब उपरीक्षक, इलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक र सशस्त्र प्रहरी बल राजपुर बाट नायव उपरीक्षकको कमाण्डमा डुँगा मार्फत खोज तलास भएको थियो।
साथै नेपाली सेनाका उपसेनानी राधेश्याम चौधरीको कमाण्डमा ६ जना र राष्ट्रिय निकुन्जबाट २ जना कर्मचारी समेत बेपत्ता लामिछानेको खोजी तथा उद्धारका लागि खटिएका थिए।
राति सवा १० बजेतिर मात्रै लामिछानेको शव घटनास्थल आसपासमा तैरिरहेको अवस्थामा फेला परेको डिएसपी बोहराले बताए।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
त्यस्तै जिल्लाको राजापुर नगरपालिका–३ चख्खापुरमा चितुवाको आक्रमणमा बाट ४८ वर्षीय मंगल थारुको सोही दिन मध्य राततिर उपचारका क्रममा मृत्यु भएको थियो।
बिहीबार राति अबेरसम्म आफ्नो टेलरिङ पसलमा काम गरी उनी राजापुरको तिघ्रास्थित भित्री बाटो हुँदै पैदल घरतर्फ जाँदै गर्दा चितुवाको आक्रमणमा परेका थिए।