महाकाली नदीमा खसेका सशस्त्र प्रहरी बलका एकजना सहायक निरीक्षक (सई) बेपत्ता भएका छन्।
कञ्चनपुरमा महाकाली नदीको बाढीले क्षति पुर्याएको झोलुंगे पुल आसपास शनिबार दिउँसो सवा १२ बजेतिर सशस्त्र प्रहरी बलका सहायक निरीक्षक सागरराज थारू नदीमा खसेर बेपत्ता भएका हुन्।
बर्दियाको ठाकुरद्धारा नगरपालिका – ६ घर भइ देवीस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत थारु नेपाल टेलिकमको तार तान्ने क्रममा डुंगाबाट नदीमा खसेका थिए।
उनी सहितको टोली बाढीले क्षति पुर्याएको टेलिकमको तार तान्न खटिएको थियो ।
‘तार तान्नका लागि सात जना एउटै डुँगामा सवार थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले भने, ‘त्यस क्रममा सन्तुलन खलबलिएपछि उहाँ महाकालीमा नदीमा खसेर बेपत्ता हुनु भएको छ।’
डिएसपी रावतका अनुसार बेपत्ता थारुले लाइफ ज्याकेट लगाएको भए पनि डुबेर बेपत्ता भएका हुन्।
असोज मध्यतिर अविरल बर्षाका कारण झोलुङ्गे पुलमा पुगेको क्षतिका कारण महेन्द्रनगरदेखि दोधाराचाँदनीसम्म विस्तार गरिएको नेपाल टेलिकमको तार पनि चुँडिएको थियो।
सोही तार तानेर महाकाली नदीको वारपार बिस्तार गर्नका लागि सशस्त्र सइ थारु सहितका सात जना एउटै डुंगा चढेर काम गरिरहेका थिए।
बेपत्ता असइको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको छ।