गोरखाको चुमनुब्री गाउँपालिका–६ मा ठूलो पहिरो गएर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले घर र पुलमा क्षति पुर्याएको छ।
बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुंगे पुल बगाएको छ। अहिलेसम्म मानवीय क्षति भएको सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी आकाश कँडेलका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएको हो।
'मुख्य पहिरो लोकपादेखि चुम्लिङको बीचमा गएको हो। त्यसपछि आएको बाढीले नदी आसपासका विभिन्न स्थानमा क्षति पुर्याएको छ,' कँडेलले भने।
उनका अनुसार चुमनुब्री गाउँपालिका–३ को म्याकफेदीमा केही होटलमा क्षति पुगेको छ।
म्याकफेदी र सिर्दीबास बजार जोड्ने दुईवटा झोलुंगे पुलमध्ये पुरानो पुल बाढीले बगाएको छ। म्याकफेदीमुनि रहेको घट्टेखोलाको आसपासका बस्तीमा पनि बाढी पसेको छ।
'घट्टेखोलाको आसपासका दुई–तीनवटा घरभित्र पानी पसेको जानकारी आएको छ,' कँडेलले भने।
त्यसैगरी धार्चे गाउँपालिका–३ को सल्ढेंगेमा एक–दुईवटा घर बगाएको सूचना प्रहरीले पाएको छ। धार्चे गाउँपालिका–५ को माथिल्लो बजारनजिकै नदीको तटीय क्षेत्रमा रहेका एक–दुईवटा घर पनि बगाएको प्रारम्भिक विवरण आएको कँडेलले बताए। बाढीले केरौंजा जाने झोलुंगे पुलसमेत बगाएको छ।
बाढीको सूचना पाएपछि प्रहरीले बिहान साढे ५ बजेदेखि नै स्थानीयलाई सतर्क गराउन थालेको थियो। स्थानीयलाई समयमै सुरक्षित स्थानमा जान भनिएकाले मानवीय क्षति हुन नपाएको कँडेलले बताए।
'बाढी आउने सूचना आउनेबित्तिकै हामीले मानिसहरूलाई सतर्क गराएका थियौँ। बाढी आउँदासम्म मानिसहरू सुरक्षित स्थानमा गइसकेका थिए। त्यसैले घरहरू बगे पनि अहिलेसम्म मानवीय क्षति भएको छैन,' उनले भने।
बाढीको जोखिम आरुघाट क्षेत्रसम्म पनि रहेको प्रहरीको भनाइ छ।
आरुघाट इलाका प्रहरी कार्यालयमार्फत त्यहाँका स्थानीयलाई पनि सतर्क गराइएको कँडेलले बताए। आरुघाट ठूलो बजार भएकाले बाढीले बस्तीमा क्षति पुर्याउन सक्ने जोखिम रहेको उनले उल्लेख गरे।
यसबीच गृहमन्त्री सुदन गुरूङले बूढीगण्डकीको बहाब निरन्तर बढिरहेको बताएका छन्।
उनले घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेको भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा जान गृहमन्त्री गुरूङले अनुरोध गरेका छन्।
(अपडेट गरिएको)