उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले आइतबार बिहान बूढीगण्डकीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको बताएका छन्।
बाढीपछि लेकमा रहेका पाँच जना गोठाला सम्पर्कविहीन छन्।
अध्यक्ष लामाका अनुसार आइतबार बिहान करिब ४:२५ बजे चुमनुब्रीको चुम्चेतस्थित उग्युलुङ खोला र स्यार खोला क्षेत्रबाट आएको बाढी तथा पहिरोका कारण बुढीगण्डकी नदी केहीबेर थुनिएको थियो।
नदीमा थुप्रिएको पानी एक्कासि खुलेपछि ठूलो बाढी आएको उनले बताए।
‘चुम्चेतको उग्युलुङ खोलाबाट आएको बाढीले बुढीगण्डकी केहीबेर थुनिएछ। बाढी फुट्दा धेरै क्षति भयो,’ लामाले भने, ‘लेकमा पाँच जना गोठाला सम्पर्कविहीन छन्। धेरै घर र हाइड्रो बगाएको छ।’
बाढीले चुमनुव्रीका सल्लेरी, घट्टेखोलालगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताए।
उनका अनुसार बाढीको सूचना पाएपछि स्थानीय बासिन्दा भागाभाग गर्दै सुरक्षित स्थानतर्फ लागेका थिए। त्यसले गर्दा मानवीय क्षति हुन नपाएको उनले बताए। तर, भौतिक क्षति भने ठूलो भएको उनको भनाइ छ।
बाढीले तल्लो तटीय क्षेत्रका सल्लेरी, जगत र सिर्दिबासलगायतका बस्तीमा समेत क्षति पुर्याएको लामाले जानकारी दिए।
बाढीले बुढीगण्डकी नदीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्पसमेत बगाएको छ।
साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनाको क्याम्प बगाउँदा ठूलो क्षति भएको अध्यक्ष लामाले बताए।
जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी सोवित निर्माण सेवाका संचालक सोवित श्रेष्ठ अनुसार साइट निर्माणको काम करिब ९६ प्रतिशत सकिएको र यही असोजमा हस्तान्तरणको तयारीमा रहेको थियो । बाढीले सबै संरचना बगाएको उनले बताए ।
‘बुढीगण्डकी हाइड्रोको हाम्रो पुरै साइट बगाएको छ,’ स्टाफलाई हामीले बिहान ४ बजे नै माथितिर भाग्न लगाएर मानवीय क्षति छैन,’ उनले भने, ‘यही महिना हस्तान्तरणको तयारी थियो । पुरै संरचना बगायो ।’
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
सम्पर्कविहीन पाँच गोठालाको अवस्था पनि थाहा हुन सकेको छैन।