बाढी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
महाशाखाले विज्ञप्ती जारी गर्दै पहिरोले नदी थुनिएर फुटेपछि बूढीगण्डकीमा बाढी आएको हुन सक्ने अनुमान गरेको हो।
महाशाखाले पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्रै वर्षा भएको देखिएकाले वर्षाका कारण तत्काल बाढी आएको सम्भावना देखिँदैन।
प्रारम्भिक सूचना र भूउपग्रहका तस्बिर अवलोकन गर्दा पहिरोले नदी थुनिएर पछि फुट्दा एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो।
घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान साढे ६ बजे जलसतह २.२८ मिटर थियो।
त्यसपछि बढेर बिहान ७:५० बजे ५.०१ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर र खतरा तह ५ मिटर छ।
जलसतह त्यसपछि केही घटे पनि पुनः तीव्र गतिमा बढेको थियो।
बिहान ८:३० बजे ६.२२ मिटर पुगेको जलसतह ८:४० बजे ८.४३ मिटर पुगेको महाशाखाले जनाएको छ। त्यसलगत्तै बाढीले पुलसहित मापन केन्द्र बगाएकाले त्यसपछिको जलसतहको विवरण प्राप्त हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।
बाढीको प्रारम्भिक जानकारी बिहान ६ बजे प्राप्त हुनासाथ महाशाखाले बुढीगण्डकीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देश (एसएमएस) मार्फत पूर्वसूचना पठाएको जनाएको छ।
बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत थप जानकारी सार्वजनिक गर्दै बुढीगण्डकी नदी किनारका जोखिमयुक्त बस्ती खाली गर्न र आवश्यकताअनुसार राजमार्ग तथा करिडोरमा आवागमन बन्द गर्न आग्रह गरिएको थियो।
मुग्लिनसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा पनि सावधानी अपनाउन अपिल गरिएको महाशाखाले जनाएको छ।
बिहान ९:२५ बजे पुनः एसएमएसमार्फत सूचना पठाएर सर्वसाधारण तथा सम्बन्धित निकायलाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म त्यहीँ रहन आग्रह गरिएको थियो। महाशाखाका अनुसार दुईपटक गरी करिब दुई लाख एसएमएस पठाइएको थियो।
महाशाखाले बुढीगण्डकी नदीको तटीय र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्मै नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
नदीको बहाव घटेको देखिए पनि जोखिम नटरेको भन्दै पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।
घटनाको थप प्राविधिक विश्लेषणबाट प्राप्त निष्कर्ष र बाढीको अवस्थाबारे अद्यावधिक जानकारी सार्वजनिक गरिने महाशाखाले जनाएको छ।