गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासस्थित न्याकफेदी भिरमा विदेशी नागरिकसहित ८ जना उद्धारका लागि कुरिरहेका छन्।
आइतबार बिहान बूढीगण्डकीमा बाढी आएपछि न्याकफेदीमा बस्दै आएका स्थानीयलगायत सुरक्षाका लागि भिरमा गएका थिए।
पाँच जना विदेशी नागरिक र तीन जना नेपाली नागरिक भिरमा छन्।
विभिन्न निकायलाई सम्पर्क गर्दा पनि उद्धारका लागि नआएको फुर्बु साङ्गमोले बताइन्। ‘हामी बिहानैदेखि यहाँ उद्धारका लागि पर्खाइमा छौं। तर उद्धार गर्न हेलि आएको छैन,’ उनले भनिन्, ‘सिडिओलाई पनि फोन गर्यौं। कर्णेललाई पनि गर्यौं। आउँछौं मात्रै भन्छन्।’
उनका अनुसार त्यस क्षेत्रमा हेलिकप्टर उडे पनि उद्धारका लागि भने आएको छैन।
‘हामीलाई अहिले मौसम खराबी भनिएको छ तर अरू हेलिकप्टर उडिरहेका छन्। हामीलाई लिन आउने मात्रैका लागि मौसम खराबी हो कि के हो थाहा भएन,’ उनले भनिन्।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने यसबारे आफूले बुझ्ने र समन्वय गर्ने बताए। ‘यसबारे केही जानकारी भएको थिएन। के रहेछ म बुझेर समन्वय गर्छु,’ उनले भने।