जेनजी युवा नेता तनुजा पाण्डेले आफू चार वर्षदेखि ब्रेन ट्युमरसँग जुधिरहेको खुलाएकी छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत आफू ब्रेन ट्युमरसँग जुधिरहेको बताएकी हुन्।
'ब्रेन ट्युमरसँगै जीवन बिताएको चार वर्ष। चार हिउँद, चार वसन्त, चार ग्रीष्म। मनभित्र एउटा अदृश्य भार बोकेर बिताएका चार वर्ष। तर आज पनि लिइने हरेक सास एउटा सानो जितजस्तै लाग्छ,' उनले लेखेकी छन्, 'आज पनि यहाँ छु, जीवनका हरेक अनुभूति महसुस गर्न पाइरहेकी छु। यसका लागि मनमा केवल कृतज्ञता।'
हामीले तनुजासँग यसबारे कुरा गर्दा उनले चार वर्षअघि आँखा जचाउँदा अप्टिक नर्भ सुन्निएपछि ट्युमर पत्ता लागेको जानकारी दिइन्।
'दसैंलगत्तैको समय थियो। दिदी बिरामी भएर अस्पताल गएकी थिएँ। त्यही बेला मैले पनि आँखा जचाएँ। आँखाको अप्टिक नर्भमा स्वेलिङ भएको देखियो,' उनले भनिन्।
त्यति बेला उनलाई कुनै पनि किसिमका लक्षण देखिएका थिएनन्। लक्षण नदेखिए पनि आँखामा समस्या देखिएपछि चिकित्सकले त्यसका दुईवटा कारण हुन सक्ने जानकारी गराएका थिए।
चिकित्सकहरूका अनुसार चोटपटकका कारण वा जन्मजात पनि यस्तो समस्या देखिन सक्थ्यो। तनुजाको भने कुनै दुर्घटना भएको थिएन।
चिकित्सकले एमआरआई गराउन सुझाव दिएपछि उनले एमआरआई गराएकी थिइन्। त्यसबाट उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको हो।
'आज मेरो रोग पत्ता लागेको ठ्याक्कै चार वर्ष भयो,' तनुजाले भनिन्, 'त्यसैले आफ्नो अनुभव अरूलाई पनि सुनाउनुपर्छ भन्ने लागेर पोस्ट गर्ने सोचेकी हुँ। यस्ता समस्या भोगिरहेका धेरै मानिस भित्रभित्रै पीडा सहेर बसिरहेका हुन सक्छन्। मेरो अनुभवले उनीहरूलाई केही हौसला र प्रेरणा दिन सक्छ भन्ने लागेको छ।'
सुरूमा उनले नेपालका मेडिसिटी र नोबेल अस्पतालमा परामर्श गरिन्। त्यहाँ ट्युमरलाई 'म्यालिग्नेन्ट' (घातक प्रकृतिको) भनिएको थियो।
उनले आफ्नी चिकित्सक दिदीमार्फत भारतका चिकित्सकसँग पनि परामर्श लिएकी थिइन्। त्यसपछि उनी उपचारका लागि भारतको मेदान्त अस्पताल पुगिन्। त्यहाँ गरिएको परीक्षणबाट उनलाई अप्टिक नर्भ ग्लियोमा भएको पत्ता लाग्यो।
ट्युमर अप्टिक नर्भमा भएकाले शल्यक्रिया गर्न कठिन थियो। शल्यक्रिया गर्दा दुवै आँखाको दृष्टि गुम्ने जोखिम रहेको उनले बताइन्।
'अपरेट गर्दा दुवै आँखाको भिजन जाने जोखिम थियो। त्यसैले रेडिएसन गरेर उपचार गरियो,' उनले भनिन्।
ट्युमर पत्ता लागेपछि उपचारका लागि भारत गएकी उनी त्यहीँ पाँच महिनासम्म उपचार गराएर फर्किएकी थिइन्।
ट्युमर पूर्ण रूपमा हटिसकेको भने छैन। रेडिएसनपछि ट्युमरको आकार घट्न समय लाग्ने भएकाले नियमित फलोअप गरिरहेको उनले बताइन्।
आठ महिनाअघि जाँच गराउँदा दोस्रो ग्रेडको ट्युमर १९ मिलिमिटरको थियो। अहिले घटेर १२ मिलिमिटर भएको उनले बताइन्।
तनुजाका अनुसार नियमित रूपमा छ–छ महिनामा फलोअप गराउनुपर्छ। यसपटक दसैं–तिहारपछि भारतको मेदान्त अस्पतालमा फलोअप गराउने उनको योजना छ।
उनका अनुसार रोग पत्ता लागेपछि उनलाई निकै डर लागेको थियो। नेपालमा गरिएको परीक्षणपछि आफूले पाएको जानकारीले झन् अन्योल र भय बढाएको उनले सुनाइन्।
'त्यस्तो अवस्थामा डर लाग्ने रहेछ। तर आफ्ना आमाबुबाका लागि पनि आफू बलियो हुनुपर्ने रहेछ। आफू नै आत्तिएर बस्दा परिवारलाई झन् गाह्रो हुन्छ,' उनले भनिन्।
उपचार र त्यसपछिको अवस्थाले उनको पढाइ तथा काममा पनि असर गर्यो। ट्युमर पत्ता लागेको समयमा उनी स्नातक छैटौं सेमेस्टरमा थिइन्।
उनले करिब एक वर्ष पढाइ र कामबाट ब्रेक लिइन्।
पछि उनी फेरि आफ्नो काममा फर्किइन्। साथीभाइको साथ र आफूलाई सामान्य गतिविधिमा व्यस्त राख्न सकेकाले पनि यो अवस्थाबाट अघि बढ्न सहज भएको उनको अनुभव छ।
'रोगबारे सोचिरहँदा मानसिक रूपमा पनि असर पर्ने रहेछ। मेरो राम्रो साथीभाइको सर्कल थियो। त्यसले मलाई यो अवस्थाबाट बाहिर निस्कन सहयोग गर्यो,' उनले भनिन्।
रोग पत्ता लागेको चार वर्ष पुगेको अवसरमा आफ्नो अनुभव सार्वजनिक गर्नुको उनको उद्देश्य पनि यही हो— यस्तै अवस्थाबाट गुज्रिरहेका अरू मानिसले आफूलाई एक्लो नठानून् र अरूका अनुभवबाट हौसला पाउन सकून्।
'अहिले पनि ट्युमर छ। तर बाहिरबाट स्वस्थ छु र अहिलेसम्म कुनै लक्षण देखिएको छैन। नियमित फलोअप गराइरहेकी छु,' उनले भनिन्, 'मेरो अनुभवले अरूलाई पनि प्रेरणा दिन सक्छ भन्ने लागेको छ।'