बिहान ४ बजेर २५ मिनेट गएको थियो।
गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पाका ५६ वर्षीय लोप्साङ लामा मस्त निद्रामा थिए।
एक्कासि भुइँचालो आए जस्तै जमिन हल्लियो। सँगसँगै, आकाश गड्गडाए जस्तै ठूलो आवाज आयो।
लोप्साङ झस्किएर ब्युँझिए।
के भएको हो भन्ने तत्काल भेउ पाउन सकेनन्।
घरबाट करिब ५०० मिटर टाढा रहेको उङ्गिलुङ खोला नियाल्दा सामान्य रूपमै बगिरहेको थियो। तर माथिल्लो भेगबाट आएको अस्वाभाविक आवाजले उनलाई बेचैन बनाइरहेको थियो।
उनले तल्लो भेगका फिलिम र जगतमा रहेका चार–पाँच जना आफन्तलाई फोन गरे। माथिल्लो क्षेत्रमा ठूलो आवाज आएको सुनाए र सतर्क रहन भने।
लोक्पाबाट पहिरो गएको भनिएको माथिल्लो उङ्गिलुङ क्षेत्र पुग्न चार–पाँच घन्टा पैदल हिँड्नुपर्छ। त्यसैले त्यहाँ के भएको थियो भन्ने तत्काल थाहा पाउने अवस्था थिएन। तर ठूलो आवाज सुनेपछि गाउँमा कोही ढुक्कसँग सुत्न सकेनन्।
बिहान ५ बजेतिर उङ्गिलुङ खोला एक्कासि ठूलो आवाजसहित गर्जिन थाल्यो। सामान्यतया थोरै पानी बग्ने खोलामा बाढी उर्लिएर आयो।
खोलाको अस्वाभाविक रूप देखेपछि स्थानीयहरू ज्यान जोगाउन उकालो लागे। कोही नजिकैका डाँडातिर दौडिए, कोही सुरक्षित ठाउँ खोज्दै पहाड चढे।
आफूहरू सुरक्षित ठाउँ पुगेपछि उनीहरूले फेरि तल्लो भेगमा रहेका आफन्त र चिनेजानेकालाई फोन गरे।
'ठूलो बाढी आएको देखेपछि हामी तत्काल सुरक्षित ठाउँतिर भाग्यौं,' लोप्साङले भने, 'आफूहरू सुरक्षित ठाउँमा पुगेपछि तल्लो भेगका आफन्तलाई फोन गरेर बाढी आउँदै छ, सुरक्षित ठाउँमा भाग्नू भन्यौं।'
त्यसपछि एकले अर्कोलाई फोन गर्ने र मेसेज पठाउने क्रम चल्यो।
माथिल्लो गाउँबाट आएको खबर तल्लो गाउँसम्म पुग्न थाल्यो। बाढी पुग्नुअघि नै धेरै स्थानीय घर छाडेर सुरक्षित ठाउँतर्फ लागिसकेका थिए।
लोक्पामा तीनवटा होटल छन्। खोलाबाट चार–पाँच सय मिटर दूरीमा केही घर मात्रै छन्। त्यसैले बाढी आएको थाहा पाउनासाथ स्थानीयलाई नजिकैको अग्लो ठाउँमा पुग्न सहज भएको लोप्साङ बताउँछन्।
उनका अनुसार बिहान ५ बजेतिर आएको ठूलो बाढी केही समयपछि कम भए जस्तो देखिएको थियो। तर आधादेखि एक घन्टाको अन्तरमा फेरि ठूलो बाढी आयो। बिहान ७ बजेसम्म बाढी आउने र घट्ने क्रम दोहोरिइरह्यो।
त्यति बेला बाढी आउन लागेको पूर्वसूचना दिने कुनै साइरन बजेको थिएन। न सरकारी निकायबाटै चेतावनी आएको थियो।
माथिल्लो भेगबाट आएको ठूलो आवाज र खोलाको अस्वाभाविक गर्जन नै स्थानीयका लागि खतराको पहिलो संकेत बन्यो।
त्यसपछि गाउँलेहरूले एकअर्कालाई फोन गरेर दिएको सूचनाले धेरैलाई सुरक्षित ठाउँमा पुग्ने समय दियो।
बाढीसँगै आएको लेदोले दुई–तीनवटा घर बगायो। स्थानीयहरू डाँडामा बसेर आफ्नै घर बगिरहेको दृश्य हेर्न बाध्य भए। कतिपयले त्यहीँबाट फोटो र भिडिओ खिचे।
'गाउँलेहरूले समयमै एकअर्कालाई फोनमार्फत जानकारी गराएकाले तल्लो क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा भाग्न सफल भए,' लोप्साङले भने, 'ज्यान त जोगियो, तर बाढीले घर, सम्पत्ति र खेतबालीमा ठूलो क्षति पुर्यायो।'
बाढीले सिर्दिबासभन्दा तल्लो क्षेत्रका जगत, घाट्टेखोला, दोभान, तातोपानी, माछाखोला र सोतीसम्म भौतिक क्षति पुर्याएको छ।
पहिरो माथिल्लो उङ्गिलुङ क्षेत्रमा गएको भन्ने जानकारी स्थानीयले पाएका छन्। तर बाटो अवरूद्ध भएकाले त्यहाँसम्म मानिसहरू पुग्न सकेका छैनन्। त्यस क्षेत्रमा हेलिकप्टरहरू उडिरहेको लोप्साङ बताउँछन्।
गाउँमा माथिल्लो भेगमा हिमपहिरो गएको चर्चा पनि छ। तर वास्तवमा के भएको हो भन्ने पुष्टि भइसकेको छैन।
लोप्साङका अनुसार माथिल्लो क्षेत्रमा पाँच जना गोठाला र एक सयभन्दा बढी चौंरी सम्पर्कविहीन भएको खबर आएको छ।
'चुम्लिङ जाने मुख्य बाटो पूर्ण रूपमा भत्किएको छ। त्यसैले माथिबाट कोही आइपुगेका छैनन्,' उनले भने, 'बिहानदेखि अहिलेसम्म गाउँमा प्रहरी वा सेना पनि आइपुगेका छैनन्। फोन गर्नेहरूलाई यहीँको अवस्थाबारे जानकारी दिइरहेको छु।'
दिनभर खोला केही शान्त भए पनि स्थानीयको त्रास हटेको छैन। राति फेरि बाढी आउने हो कि भन्ने चिन्ताले उनीहरू सुरक्षित ठाउँमै बसिरहेका छन्।
'एकले अर्कोलाई फोन नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो'
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा पनि माथिल्लो भेगका बासिन्दाले समयमै खबर गरेकाले तल्लो क्षेत्रका धेरै मानिसको ज्यान जोगिएको बताउँछन्।
उनका अनुसार उङ्गिलुङ खोलामा आएको बाढी बूढीगण्डकीमा मिसिनुअघि नै माथिल्लो क्षेत्रका स्थानीयले खतराको संकेत पाइसकेका थिए। त्यसपछि उनीहरूले तल्लो क्षेत्रका बासिन्दालाई फोन गरेर सतर्क गराएका थिए।
'बूढीगण्डकीमा बाढी मिसिनुभन्दा अघि नै खोला गर्जिएकाले माथिल्लो क्षेत्रका स्थानीय ब्युँझिए,' अध्यक्ष लामाले भने, 'उनीहरूले तल्लो भेगमा फोन गरेर खबर गरे। एकले अर्कालाई फोन गरेकै कारण धेरैको ज्यान जोगियो।'
माछाखोलाको तल्लो बस्तीका २०–२२ वटा घरमा बाढी पसेको छ। माथिल्लो क्षेत्रबाट समयमै खबर नआएको भए त्यहाँ ठूलो मानवीय क्षति हुन सक्ने अध्यक्ष लामाको भनाइ छ।
'माथिल्लो भेगका मानिसहरूले खबर नगरिदिएका भए तल्लो बस्तीका धेरै मानिस बाढीमा पर्न सक्थे,' उनले भने।
उनका अनुसार स्थानीयले आपसमा सूचना आदानप्रदान गरेकै कारण सम्भावित मानवीय क्षति कम भएको हो। तर भौतिक क्षति भने ठूलो छ।
पालिकाको माथिल्लो भेगका खर्कमा रहेका चौंरीगोठमा क्षति पुगेको छ। पाँच जना गोठाला सम्पर्कविहीन छन्। ती गोठमा एक सयभन्दा बढी चौंरी रहेको प्रारम्भिक जानकारी पालिकाले पाएको छ।
पहिरो र बाढीले बूढीगण्डकी तथा स्यार्पु खोला आसपासका क्षेत्रमा पनि ठूलो असर पुर्याएको छ।
अध्यक्ष लामाका अनुसार गाउँपालिकाको वडा नम्बर ३ को सिटी क्षेत्रमा सबभन्दा बढी क्षति पुगेको छ। सालेरी गाउँ पूर्ण रूपमा पहिरोले बगाएको छ। त्यहाँ निर्माणाधीन ३३ किलोवाट क्षमताको जलविद्युत आयोजनाको कम्प्रेसन प्लान्टमा समेत ठूलो क्षति पुगेको छ।
त्यस्तै, जगतभन्दा तलका बगरका बस्ती र जतेबेला क्षेत्रका खोलाहरूमा पनि पहिरोले क्षति पुर्याएको छ। यस क्षेत्रमा रहेका झोलुंगे पुलका साथै आरूघाट र सोतीका पक्की पुलमा समेत क्षति पुगेको अध्यक्ष लामाले बताए।
माथिल्लो क्षेत्रमा पहिरो गएको स्थानसम्म पुग्ने बाटो अवरूद्ध छ। पाँच जना गोठालाको अवस्थाबारे यकिन जानकारी आइसकेको छैन। बाढी र पहिरोबाट भएको समग्र क्षतिको विवरण पनि आउन बाँकी छ।
तर बाढीले तल्लो बस्तीहरूमा ठूलो क्षति पुर्याउँदा पनि धेरै मानिस सुरक्षित ठाउँमा पुग्न सफल हुनुको एउटा प्रमुख कारण गाउँलेहरूबीच समयमै फैलिएको सूचना थियो।
माथिल्लो गाउँमा खतरा देख्नेबित्तिकै सुरू भएको फोन गर्ने क्रमले तल्लो गाउँका मानिसलाई घर छाडेर भाग्ने अवसर दि
***