भारतको दिल्लीस्थित जन्तरमन्तरलाई प्रदर्शनस्थलका रूपमा तोकिएको सूचीबाट हटाइएको छ।
दिल्ली प्रहरीले सोमबार जारी गरेको परिपत्रमा प्रदर्शन आयोजना गर्न सहरका विभिन्न स्थानमा तीन वटा नयाँ स्थल तोकिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
परिपत्रअनुसार, नागरिकले विरोध प्रदर्शन तथा धर्ना आयोजना गर्न पाउने अधिकारलाई ध्यानमा राख्दै हालको ‘तोकिएको प्रदर्शनस्थल’ को विकल्प खोज्न भारतको गृह मन्त्रालयले एउटा समिति गठन गरेको थियो।
उक्त समितिको सिफारिसका आधारमा जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाइएको परिपत्रमा उल्लेख छ।
साथै, प्रदर्शन आयोजना गर्न तीनवटा नयाँ स्थल तोकिएको छ।
रामलीला मैदान, बुराडी मैदान र शाहदरास्थित सीबीडी मैदान नयाँ प्रदर्शनस्थलको रूपमा सूचीकृत गरेको हो।
यी तीनवटै स्थलमा विरोध प्रदर्शन तथा धर्ना आयोजना गर्न सकिनेछ। ती स्थानमा प्रदर्शन आयोजना गर्ने सम्बन्धमा विस्तृत तथा संशोधित मानक सञ्चालन कार्यविधि (एसओपी) छुट्टै जारी गरिने परिपत्रमा उल्लेख छ।
यी तीन स्थलमध्ये रामलीला मैदान लुटियन्स दिल्लीको सबैभन्दा नजिक छ। जन्तरमन्तरबाट यसको दूरी करिब चार किलोमिटर छ। बुराडी मैदान करिब १८ किलोमिटर र शाहदरास्थित सीबीडी मैदान १२ किलोमिटरभन्दा बढी टाढा छन्।
गत जुनदेखि जन्तरमन्तर युवाहरूको नेतृत्वमा भइरहेका प्रदर्शनको केन्द्र बनेको थियो। अभिजित दिप्केले स्थापना गरेको ‘ककरोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा भएका प्रदर्शनले अन्ततः परीक्षा अनियमितताको आरोपबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत निम्त्याएको थियो।
जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाउने निर्णयप्रति प्रतिक्रिया दिँदै अभिजित दिप्केले अब सिंगो देश नै जन्तरमन्तर बन्ने बताएका छन्।
‘उनीहरूले जन्तरमन्तरलाई तोकिएको प्रदर्शनस्थलको सूचीबाट हटाएका छन्। हो, अब यो प्रदर्शनस्थल रहेन। कायर तानाशाहले यसलाई युद्धमैदानमा परिणत गरिसकेका थिए,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
उनले हिन्दीमा ‘अब पूरा देश जन्तरमन्तर बनेगा’ भन्दै अब सिंगो देश नै जन्तरमन्तर बन्ने बताएका छन्।
गत महिनादेखि जन्तरमन्तर फेरि चर्चामा आएको थियो। निर्वाचनसम्बन्धी अनियमितताबारे प्रश्न उठाउने एउटा खोजमूलक समाचार सार्वजनिक भएपछि यो स्थलमा पुनः प्रदर्शनको माहोल बनेको थियो।
उक्त समाचारले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि प्रश्न उठाएको थियो। साथै, विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियाको आवरणमा ‘भोट चोरी’ भइरहेको विपक्षी दलहरूको आरोपलाई थप बल पुगेको थियो।
जन्तरमन्तरलाई प्रदर्शनस्थलको सूचीबाट हटाउने निर्णयअघि सप्ताहन्तमा दिल्ली प्रहरीले ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकाहरूमा विभिन्न राज्यका पूर्वमुख्यमन्त्रीहरूसमेत थिए।
दिल्ली प्रहरीले कानुन तथा व्यवस्था कायम राख्न उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको थियो। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरूद्ध प्रदर्शन गर्ने विभिन्न संगठनको आह्वानपछि यस्तो कदम चालिएको प्रहरीको भनाइ थियो। ती संगठनमध्ये कक्रोच जनता पार्टी प्रमुख थियो।
मुख्य निर्वाचन आयुक्तविरुद्ध अहिले भइरहेका प्रदर्शनको आधार बनेको खोजमूलक समाचारअनुसार, निर्वाचन आयुक्त सुखबिर सिंह सन्धु र विवेक जोशीले पछिल्लो १० महिनामा एसआईआरसम्बन्धी निर्णय तथा आदेशबारे कम्तीमा १४ पटक औपचारिक रूपमा आपत्ति जनाएका थिए।
उनीहरूले आफूहरूको जानकारी वा सिफारिसबिनै ती निर्णय तथा आदेश जारी गरिएको भन्दै आपत्ति जनाएको समाचारमा उल्लेख छ।