अर्थशास्त्र तर्फको सन् २०२६ को नोबेल स्मृति पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डले संयुक्त रूपमा पाएका छन्।
समष्टिगत आर्थिक स्थिरता कायम राख्ने नीतिको सूक्ष्म आर्थिक आधारसम्बन्धी अनुसन्धानका लागि उनीहरूलाई पुरस्कार प्रदान गरिएको एसोसिएटेड प्रेसले जनाएको छ।
क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयसँग आबद्ध हल र न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयका वुडफोर्डलाई स्विडेनको राजधानी स्टकहोमस्थित रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार विजेता घोषणा गरेको हो।
अर्थशास्त्र पुरस्कार छनोट समितिका अध्यक्ष जोन ह्यासलरका अनुसार उनीहरूको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक र सरकारहरूले प्रयोग गर्ने आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको छ।
‘विजेताहरूको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक र सरकारहरूले अहिले प्रयोग गर्ने मोडेलका लागि स्थिर सैद्धान्तिक आधार दिएको छ,’ पुरस्कार घोषणा गर्दै जारी गरिएको विज्ञप्तिमा ह्यासलरले भने।
उनका अनुसार यस अनुसन्धानले ऊर्जा संकट वा घरपरिवारको उपभोगमा अचानक आउने परिवर्तन जस्ता आर्थिक धक्काको सामना गर्न सरकार र केन्द्रीय बैंकलाई थप सक्षम बनाएको छ।
‘माइक्रो इकोनोमिक्सले’ व्यक्ति, घरपरिवार र व्यवसायले कसरी आर्थिक निर्णय लिन्छन् भन्ने अध्ययन गर्छ। समष्टिगत अर्थशास्त्र (म्याक्रो इकोनोमिक्स) ले भने समग्र अर्थतन्त्रको उत्पादन, रोजगारी, मुद्रास्फीति र आर्थिक वृद्धिजस्ता विषयको अध्ययन गर्छ।
हल र वुडफोर्डको अनुसन्धानले यी दुई क्षेत्रबीचको सम्बन्ध स्पष्ट पार्दै समग्र अर्थतन्त्रलाई स्थिर राख्ने नीतिको सैद्धान्तिक आधार विकास गर्न योगदान पुर्याएको छ।
यस पुरस्कारको औपचारिक नाम ‘अल्फ्रेड नोबेलको स्मृतिमा प्रदान गरिने स्विडेनको केन्द्रीय बैंकको आर्थिक विज्ञान पुरस्कार’ हो। स्विडेनको केन्द्रीय बैंकले सन् १९६८ मा यो पुरस्कार स्थापना गरेको थियो।
अल्फ्रेड नोबेल १९औं शताब्दीका स्विडिस व्यवसायी तथा रसायनशास्त्री थिए। उनले डाइनामाइट आविष्कार गरेका थिए र आफ्नो सम्पत्तिबाट नोबेलका पाँच मूल पुरस्कार स्थापना गरेका थिए।
अर्थशास्त्र तर्फको पुरस्कार भने नोबेलले स्थापना गरेका मूल पाँच पुरस्कारमध्ये पर्दैन। यो पछि स्थापना गरिएको भए पनि अन्य नोबेल पुरस्कारसँगै प्रदान गरिँदै आएको छ।
गत वर्ष अर्थशास्त्र तर्फको नोबेल स्मृति पुरस्कार व्यावसायिक नवप्रवर्तन सम्बन्धी अध्ययन गरेका तीन अनुसन्धानकर्ताले पाएका थिए। नयाँ उत्पादन र आविष्कारले कसरी आर्थिक वृद्धि तथा मानव कल्याण बढाउँछन् र पुराना कम्पनीलाई प्रतिस्पर्धामा पछाडि पार्छन् भन्ने व्याख्या गरेबापत उनीहरूलाई पुरस्कृत गरिएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)