सामाजिक सञ्जालमा स्ट्रिमिङ गर्दै आएका ‘झापालिस’ भनेर चिनिने मनिष पाण्डेमाथि प्रहरीले सोधपुछ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले उनलाई सोमबार राति नियन्त्रणमा लिएको थियो। उनीमाथि सोधपुछ गरी राति नै छाडिएको डिएसपी रञ्जन आवले जानकारी दिए।
उनका अनुसार झापालिसले सामाजिक सञ्जालका भिडिओमा अश्लिल तथा आपत्तिजनक शब्दहरू प्रयोग गरेको भन्दै उजुरी आएको थियो।
‘उहाँले सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरी भिडिओहरू राख्नुभयो भनेर उजुरी आएको थियो। त्यसै विषयमा बुझ्न बोलाएका थियौं,’ उनले भने।
उनलाई सोधपुछ पछि राति नै छाडिएको पनि डिएसपी आवले बताए।
झापालिसले युट्युबसहित विभिन्न प्लेटफर्ममा स्ट्रिमिङ गर्छन्। उनको युट्युबमा ४ लाख ६३ हजार सब्स्क्राइबर्स छन्। उनका र्याप गीतहरू पनि चर्चित छन्। लामो समयसम्म अमेरिका बसेका उनी पछिल्लो समय झापाबाटै स्ट्रिमिङ गर्दै आएका छन्।