बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृतावस्थामा फेला परेको छ।
‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत फेला परेको हो।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।
हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।
कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण (पोस्टमर्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ।
कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उनले बताए।