साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको पूर्वी सहर धहरानस्थित प्रशासनिक भवनमा मिसाइल आक्रमण भएको छ।
आक्रमणबाट भवनको केही भागमा आगलागी भएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।
घटनामा मानवीय क्षति भने नभएको साउदीको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
ऊर्जा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार राति भएको घटनापछि अधिकारीहरूले आवश्यक कदम चालेको जनाएको छ।
रोयटर्सका अनुसार अरामकोको मुख्य परिसरमा ब्यालिस्टिक मिसाइल प्रहार भएको थियो।
कम्पनीका एक अधिकारीले परिसरमा रहेको कार्यालय भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताएका छन्। घटनाबारे जानकार अन्य दुई व्यक्तिले पनि भवनमा आगलागी भएको बताएका थिए।
अरामकोको उक्त परिसरमा कम्पनीको प्रमुख सञ्चालन केन्द्र छ। यसले कम्पनीका स्थल तथा समुद्रमा रहेका तेल उत्खनन केन्द्र, पाइपलाइन, प्रशोधन केन्द्र र निर्यात टर्मिनलहरूको सञ्जालको निगरानी गर्छ।
आक्रमणपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले धहरानमा अवरोध गरी नष्ट गरिएको अर्को मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ।
त्यस्तै, राजधानी रियाद र देशको दक्षिणी क्षेत्रमा प्रहार गरिएका ड्रोन तथा मिसाइल पनि अवरोध गरी नष्ट गरिएको अधिकारीहरूले बताएका छन्।
साउदी नागरिक सुरक्षा निकायका अनुसार रियादमा दुईवटा हुथी मिसाइल अवरोध गरी नष्ट गरिएपछि खसेका टुक्राले चार जना घाइते भएका छन्।
घाइते हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन्। मिसाइलका टुक्राले राजधानीका १५ घरमा सामान्य क्षति पुर्याएको निकायका प्रवक्ताले बताएका छन्।
गत शनिबार साउदी राजधानी रियादको विमानस्थलमा भएको मिसाइल आक्रमणमा १३ जनाको मृत्यु भएको थियो।
यसलाई पछिल्लो एक दशकयता साउदी अरबमा भएको सबैभन्दा घातक आक्रमण भनिएको छ। हमलापछि देशका विभिन्न स्थानमा उडानसमेत प्रभावित भएका थिए।
यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किंदै जाँदा पछिल्लो एक सातादेखि हुथीहरूले साउदी अरबका महत्त्वपूर्ण स्थानलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरिरहेका छन्।
यमनको पुनः चर्किएको गृहयुद्धमा साउदी अरबले सरकारी सेनालाई समर्थन गरेपछि हुथीहरूले आक्रमण तीव्र बनाएका हुन्।
हुथीहरूले यसअघि यमनको राजधानी सानामा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणको जवाफ कठोर रूपमा दिने चेतावनी दिएका थिए।
समूहका प्रवक्ता याह्या सारीले साउदी अरामकोको धहरानस्थित मुख्यालय र रियादको तेल प्रशोधन केन्द्रसमेत सम्भावित निशानामा रहेको बताएका थिए।
हुथीहरूले साउदी अरबका तेल उद्योगमा काम गर्ने कर्मचारीलाई सम्भावित निशानाबाट टाढा रहनसमेत आग्रह गरेका छन्।
मंगलबार हुथी सञ्चालित अल-मसिरा टेलिभिजनले साउदी नेतृत्वको गठबन्धनले सानाको बाहिरी क्षेत्रमा रहेको यमन पेट्रोलियम कम्पनीको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको जनाएको थियो।
गठबन्धनले पनि हुथीहरूको साउदी अरब, यमन र अन्तर्राष्ट्रिय जलमार्गलाई खतरामा पार्ने क्षमता कमजोर बनाउने उद्देश्यले उक्त केन्द्रसहित अन्य स्थानमा आक्रमण गरिएको जनाएको छ।