काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न/नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।
उनले दसैँका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताए।
प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ।