बाढीबाट ज्यान जोगाउन भाग्दै गर्दा ५२ वर्षीया निमा तामाङलाई एक्कासि छोराको सम्झना आयो।
उनी आफै ज्यान जोगाउन सुरक्षित ठाउँतर्फ भागिरहेकी थिइन्। तर मनमा आफ्नोभन्दा बढी चिन्ता छोराको थियो।
छोरा बूढीगण्डकी नदी नजिकै रहेको आफन्तको घर गएका थिए।
बाढीले त्यता के गर्यो होला? छोरा सुरक्षित त होलान्?
निमालाई छोरासँग कुरा नगरी चित्त बुझ्ने अवस्था थिएन।
उनी जसोतसो भागेर सुरक्षित ठाउँ पुगिन्। त्यसपछि मोबाइल निकालेर छोरालाई फोन गर्न खोजिन्।
तर मोबाइलमा ब्यालेन्स थिएन।
रिचार्ज गरौं भने पसल पनि बाढीले बगाइसकेको थियो।
आफू सुरक्षित ठाउँ पुगे पनि छोराको अवस्थाबारे केही थाहा नपाउँदा उनको चिन्ता झन् बढ्यो।
त्यही बेला उनले नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा निःशुल्क फोन र डेटा सेवा उपलब्ध गराएको खबर पाइन्।
उनले त्यही सुविधा प्रयोग गरेर छोरासँग सम्पर्क गरिन्।
'आफू भागेर सुरक्षित ठाउँ पुगेपछि छोरालाई फोन गर्न खोजेँ तर मोबाइलमा ब्यालेन्स थिएन। रिचार्ज गर्ने पसल पनि बाढीले बगाइसकेको थियो। त्यही बेला टेलिकमको निःशुल्क कल र डेटा चलेको खबर पाएँ,' उनले सेतोपाटीसँग भनिन्, 'त्यही सुविधा लिएर छोरासँग सम्पर्क गरेँ।'
गोरखाको लाप्पाकी निमाका लागि त्यो फोन सामान्य कुराकानी थिएन। बाढीको त्रासबीच छोराको अवस्थाबारे बुझ्ने साधन थियो।
असोज २५ गते बूढीगण्डकी आसपास आएको बाढी बेला निमाले भोगेको घटनाले विपदमा सञ्चार सेवाको महत्त्व देखाउँछ।
सामान्य अवस्थामा मोबाइलमा ब्यालेन्स सकिनु सानोतिनो समस्या हुन सक्छ। तर बाढीपहिरोजस्ता विपदमा आफन्त कहाँ छन्, सुरक्षित छन् कि छैनन् भन्नेसमेत थाहा पाउन नसक्नु ठूलो चिन्ताको विषय बन्छ।
निमाको अनुभवमा मोबाइल सेवा बाढीपछि छोरासँग सम्पर्क गर्ने माध्यम बन्यो।
त्यही बाढी बेला गोरखाकै अर्का स्थानीयको मोबाइल फोनले भने जोखिमबारे समयमै खबर पुर्याउने काम गरेको थियो।
बिहान साढे ४ नबज्दै लोप्साङले गरेका ती फोन
असोज २५ गते, आइतबार बिहान ४ बजेर २५ मिनेट गएको थियो।
गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पाका ५६ वर्षीय लोप्साङ लामा निदाइरहेका थिए।
एक्कासि जमिनै हल्लिए जस्तो ठूलो आवाज आयो।
उनको निद्रा खुल्यो। तर के भएको हो भन्ने भेउ पाउन सकेनन्।
घरबाट करिब पाँच सय मिटर टाढा रहेको उङ्गिलुङ खोला नियाले। पानी सामान्य रूपमै बगिरहेको थियो।
तर माथिल्लो भेगबाट आइरहेको आवाज असामान्य थियो। खोला उर्लिएर आएजस्तो डरलाग्दो आवाजले उनलाई ढुक्क हुन दिएन।
उनले तत्काल तल्लो भेगमा रहेका आफन्तलाई खबर गर्ने निर्णय गरे।
मोबाइलबाट फिलिम र जगतमा रहेका चार–पाँच जना आफन्तलाई फोन गरे। माथिल्लो भेगमा ठूलो आवाज आएको सुनाउँदै सतर्क रहन आग्रह गरे।
नभन्दै केही बेरमै उङ्गिलुङ खोलामा लेदोसहितको ठूलो बाढी आयो।
लोप्साङले फेरि फोन उठाए।
यसपालि तल्लो भेगका थप पाँच–छ जनालाई बाढी आइरहेको जानकारी गराए।
'मौसम ठिकै थियो। टेलिकमको नेटवर्कमा कुनै समस्या थिएन,' उनले भने, 'समयमै खबर गर्न पाएकाले तल्लो भेगका आफन्तको ज्यान जोगियो।'
उनले थपे, 'यो फोनले आजकाल ज्यान जोगाउने काम गरिरहेको छ।'
लोप्साङको भनाइमा समयमै फोन गर्न पाएकाले तल्लो क्षेत्रमा रहेका आफन्तलाई खतराबारे सावधान गराउन सम्भव भयो।
त्यस दिन उनको मोबाइल फोन यतिमै सीमित रहेन।
बाढीपछि विभिन्न सञ्चारमाध्यम, जनप्रतिनिधि र मन्त्रीहरूले पनि फोनमार्फत लोक्पाको अवस्थाबारे जानकारी लिइरहे।
उनका अनुसार फोन सम्पर्क सम्भव भएकाले त्यहाँको अवस्था बुझ्न तत्काल घन्टौं पैदल हिँडेर वा हेलिकप्टरबाट पुगिरहनुपर्ने अवस्था भएन।
लोप्साङले आफन्तलाई फोन गरिरहेका बेला त्यही वडाका शेराप गुरूङ भने सामाजिक सञ्जालमार्फत बाढीको खबर फैलाइरहेका थिए।
ठूला ढुंगासहितको लेदो स्यार खोलामा मिसिएर बूढीगण्डकीतर्फ बढिरहेको थियो। बूढीगण्डकीका मुख्य दुई सहायक खोला स्यार र उङ्गिलुङ हुन्।
शेरापले बाढीको दृश्य फेसबुकमा लाइभ गरे। सामाजिक सञ्जालमा पोस्ट राखे।
त्यससँगै तल्लो भेगका मानिसलाई फोन गरेर बाढीको जोखिमबारे तत्काल जानकारी गराए।
'तत्काल फेसबुक लाइभ गरेँ, पोस्ट राखेँ,' उनले भने, 'त्यसले धेरै मानिसहरू बाँचे।'
उनको अनुभवमा सामाजिक सञ्जालमा राखिएका भिडिओ र फोनबाट दिइएका सूचनाले बाढीको खतराबारे मानिसलाई समयमै सचेत गराउन सहयोग पुर्यायो।
यसरी एउटै बाढीका बेला सञ्चार प्रविधि फरक–फरक रूपमा प्रयोग भयो।
लोप्साङले फोन गरेर तल्लो भेगमा चेतावनी दिए। शेरापले सामाजिक सञ्जाल र फोनबाट जोखिमको खबर फैलाए। निमा भने बाढीपछि छोरासँग सम्पर्क गर्ने उपाय खोजिरहेकी थिइन्।
तर बाढीले सञ्चारका सबै माध्यमलाई सामान्य अवस्थामा रहन दिएन।
स्थानीयका अनुसार बाढीपछि विद्युत र इन्टरनेट सेवा अवरूद्ध भएको थियो। यस्तो अवस्थामा पनि नेपाल टेलिकमको मोबाइल नेटवर्क सक्रिय रहँदा फोनमार्फत सम्पर्क कायम राख्न सकिएको उनीहरू बताउँछन्।
यी अनुभवले विपदमा मोबाइल फोनको दोहोरो भूमिका देखाउँछन् — विपद आउनुअघि खतराको खबर पुर्याउने र विपदपछि आफन्त तथा सम्बन्धित निकायसँग सम्पर्क जोड्ने।
मोबाइलमा एसएमएस आएपछि विद्यालय दौडिए राजाराम
गोरखामा स्थानीयले फोन गरेर दिएको चेतावनीले मानिसहरूलाई सतर्क हुन सहयोग पुर्याएको थियो। भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीमा भने धादिङका केही बासिन्दाले मोबाइलमा प्राप्त आपतकालीन एसएमएसबाट खतराको जानकारी पाएका थिए।
धादिङका राजाराम अधिकारी आफ्ना बालबालिकालाई विद्यालय पठाएर घरमै मोबाइल चलाइरहेका थिए।
त्यही बेला उनको मोबाइलमा नेपाल टेलिकमबाट एउटा सन्देश आयो।
सन्देशमा त्रिशूली नदीमा बाढी आउँदै गरेको जानकारी दिँदै त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।
सन्देश देख्नेबित्तिकै राजारामलाई आफ्ना बालबालिकाको चिन्ता भयो।
उनीहरू विद्यालय गइसकेका थिए।
घरबाट विद्यालय पुग्न १०–१५ मिनेट लाग्थ्यो।
राजाराम हतारहतार विद्यालयतर्फ लागे।
त्यहाँ पुग्दा उनी एक्ला थिएनन्। अरू अभिभावक पनि आफ्ना बालबालिका लिन आत्तिँदै आइरहेका थिए।
राजारामले आफ्ना बालबालिकालाई विद्यालयबाट सुरक्षित घर ल्याए।
उनका अनुसार पछि त्यही विद्यालय बाढीले पूरै पुरियो।
'बाढी आउनुअघि नै एसएमएसबाट जानकारी पाएका थियौं। त्यसैले आफ्ना बच्चाहरूलाई स्कुलबाट सुरक्षित ल्याउन सफल भयौं,' उनले भने, 'विपद बेला समयमै सूचना पाएकाले ज्यान बच्यो।'
लोप्साङ र राजारामको अनुभवमा एउटा महत्त्वपूर्ण समानता छ।
लोप्साङले जोखिमको संकेत पाएपछि आफै अरूलाई खबर गरेका थिए। राजारामले भने सरकारी निकायसँगको समन्वयमा पठाइएको चेतावनी सन्देशबाट बाढीको जोखिमबारे थाहा पाए।
दुवै घटनामा समयमै प्राप्त सूचनाले सुरक्षित हुने अवसर दिएको उनीहरूको अनुभव छ।
विपद व्यवस्थापनमा पूर्वसूचनाको महत्त्व पनि यही हो।
बाढी आइसकेपछि उद्धारमा खटिनुभन्दा जोखिममा रहेका मानिसलाई पहिले नै सावधान गराउन सकियो भने उनीहरूले आफू र परिवारलाई सुरक्षित स्थानमा पुर्याउने समय पाउन सक्छन्।
तर यसका लागि सूचना सही समयमा सही व्यक्तिसम्म पुग्नुपर्छ।
गल्छी गाउँपालिका–७ का वडा सचिव रविन्द्र रेग्मी पनि बाढीपहिरोजस्ता विपदमा मोबाइलमार्फत सूचना आदानप्रदान गर्न पाउँदा राहत तथा उद्धारको काममा सहयोग पुगेको बताउँछन्।
उनका अनुसार प्रभावित क्षेत्रमा एसएमएस पठाउने तथा निःशुल्क भ्वाइस कल, एसएमएस र डेटा सुविधा उपलब्ध गराउने व्यवस्थाले नागरिकलाई आफन्तसँग सम्पर्क गर्न सहज बनाएको थियो।
यसले स्थानीय तह, सुरक्षाकर्मी र उद्धारमा खटिएका स्वयंसेवकबीच समन्वय गर्न पनि सहयोग गरेको उनको भनाइ छ।
बाढीको चेतावनी मोबाइलसम्म कसरी पुग्छ?
भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र चितवनको नदीछेउका बासिन्दालाई बाढीको पूर्वसूचना दिन ६ लाख ७९ हजार २९५ वटा एसएमएस पठाइएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढीपहिरो बेला मोबाइलमा आउने चेतावनी सन्देश कुनै एउटा दूरसञ्चार कम्पनीको एकल प्रयासबाट मात्र सम्भव हुँदैन।
जोखिमको पहिचान गर्ने सरकारी निकाय, सूचना प्रवाहको व्यवस्था मिलाउने संयन्त्र र सन्देश नागरिकसम्म पुर्याउने दूरसञ्चार सेवा प्रदायकबीच समन्वय आवश्यक पर्छ।
यसका लागि सरकारको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र र नेपाल टेलिकमबीच सहकार्य भएको छ।
सरकारले सञ्चालनमा ल्याएको आपतकालीन टोल फ्री नम्बर ११४९ मार्फत बाढीपीडित तथा जोखिममा परेका बासिन्दाले चौबिसै घन्टा निःशुल्क सहायता र उद्धार माग गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, गृह मन्त्रालय र जल तथा मौसम विज्ञान विभागसँगको समन्वयमा बाढीपहिरोको उच्च जोखिम रहेका तटीय र पहाडी क्षेत्रका बासिन्दालाई लक्षित गरी ठूलो संख्यामा एसएमएस पठाउने व्यवस्था मिलाइएको छ।
यस संयन्त्रअन्तर्गत नदीको जलसतहले खतराको बिन्दु पार गर्दा वा पहिरोको जोखिम बढ्दा सम्बन्धित स्थानका नागरिकलाई मोबाइलमार्फत चेतावनी पठाउने व्यवस्था गरिएको छ।
यस्ता पूर्वचेतावनीको उद्देश्य मानिसलाई सम्भावित जोखिमबारे समयमै जानकारी दिएर आवश्यक सतर्कता अपनाउने अवसर दिनु हो।
यद्यपि सन्देश पठाउने व्यवस्था हुनु र जोखिममा रहेका सबै मानिसले समयमै सूचना पाउनु एउटै कुरा होइन।
चेतावनीको प्रभावकारिता त्यसको समय, पहुँच र सूचना पाएपछि मानिसहरूले सुरक्षित स्थानमा जान सक्ने अवस्थासँग पनि जोडिन्छ।
धादिङका राजारामको हकमा भने एसएमएस आउँदा विद्यालय पुगेर बालबालिका निकाल्न समय बाँकी थियो। त्यसैले उनी त्यो सन्देशलाई आफ्ना बालबालिकाको ज्यान जोगाउन सहयोग पुर्याउने महत्त्वपूर्ण सूचना मान्छन्।
बत्ती बन्द भएपछि मोबाइल चार्ज गर्ने अर्को समस्या
विपद बेला समयमै सूचना प्राप्त गर्नु जति महत्त्वपूर्ण हुन्छ, त्यसपछि पनि सञ्चार सम्पर्क कायम राख्न सक्नु उत्तिकै आवश्यक हुन्छ।
तर बाढीपहिरोले विद्युत आपूर्ति अवरूद्ध गरिदिँदा मोबाइल चार्ज गर्नु नै समस्या बन्न सक्छ।
नेटवर्क उपलब्ध भए पनि मोबाइलमा ब्याट्री नहुँदा आफन्त, सुरक्षाकर्मी वा उद्धारमा खटिएका व्यक्तिसँग सम्पर्क गर्न कठिन हुन्छ।
भोटेकोशी–त्रिशूली बाढीपछि धादिङको गल्छी क्षेत्रमा यस्तै समस्या देखिएको थियो।
गल्छी गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत ३० वर्षीया पशु सेवा प्राविधिक हिरामाया तामाङका अनुसार बाढीका कारण एक–दुई दिनसम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भयो।
त्यस अवधिमा स्थानीयलाई मोबाइल चार्ज गर्न कठिनाइ भयो। आफन्तसँग सम्पर्क गर्न पनि समस्या भएको थियो।
उद्धार तथा राहतमा खटिएका स्वयंसेवक र सुरक्षाकर्मीलाई समेत सञ्चार साधन सञ्चालनमा राख्न चुनौती थियो।
'यहाँ स्वयंसेवकहरू मिलेर काम गरिरहनुभएको छ। सुरक्षाकर्मीहरू पनि धेरै जना आउनुभएको छ। मोबाइल चार्ज गर्न ठूलो समस्या थियो। टेलिकमले चार्जिङ पोर्ट उपलब्ध गराएपछि धेरै सहज भयो,' हिरामायाले अनुभव सुनाइन्, 'बाढीका कारण एक–दुई दिनसम्म बत्ती पूर्ण रूपमा बन्द थियो। यसले आफन्तहरूसँग पनि सम्पर्क हुन सकेको थिएन।'
नेपाल टेलिकमले भदौ १३ गते गाउँपालिकाको भवनमा मोबाइल चार्जिङ पोर्ट जडान गरिदिएको थियो।
हिरामायाका अनुसार उक्त सुविधाले उद्धार तथा राहतमा खटिएका व्यक्ति र सहायता लिन आउने सेवाग्राहीलाई मोबाइल चार्ज गर्न सहज बनायो।
'चार्जिङ स्टेसन भनेको सामान्य देखिने तर विपद व्यवस्थापनमा निकै उपयोगी पूर्वाधार रहेछ,' उनले भनिन्।
बाढीले विद्युत र इन्टरनेट सेवा अवरूद्ध पारेको गोरखाका स्थानीयको अनुभव तथा गल्छीमा मोबाइल चार्ज गर्न भएको कठिनाइले विपद बेला सञ्चार पूर्वाधारको निरन्तरतामा आउने चुनौती पनि देखाउँछन्।
आपतकालीन सूचना प्राप्त गर्ने माध्यम उपलब्ध हुनु एउटा पक्ष हो। त्यसलाई विपदभर प्रयोग गर्न सक्ने अवस्थामा राख्नु अर्को पक्ष।
राहत वितरणमा समेत इन्टरनेटको भर
विपद बेला सञ्चार सुविधाको आवश्यकता प्रभावित नागरिक र उद्धारकर्मीमा मात्र सीमित रहँदैन।
राहत वितरणको अभिलेख व्यवस्थापन र सरकारी निकायबीच समन्वय गर्न पनि इन्टरनेट आवश्यक पर्ने गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सामाखुसीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनबाट राहत वितरण गरिरहेको छ।
त्यहाँ राहत लिने र दिने दुवै पक्षको विवरण अनलाइन प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुपर्ने व्यवस्था छ।
यसका लागि निरन्तर इन्टरनेट सेवा आवश्यक परेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरेका थिए।
त्यसपछि उक्त स्थानमा डेढ महिनादेखि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ।
जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाका अनुसार उक्त सुविधाले राहत वितरणको विवरण व्यवस्थापन गर्न सहज भएको छ।
'एउटा कम्प्युटरसहित १४–१५ जना कर्मचारीले निरन्तर मोबाइल र ल्यापटप चलाइरहनुभएको छ। इन्टरनेटमा कुनै किसिमको समस्या आएको छैन। हामीले सहज रूपमा काम गर्न पाएका छौं,' बर्देवाले भनिन्, 'भरपर्दो इन्टरनेट सेवा उपलब्ध भएपछि राहत वितरणको सम्पूर्ण विवरण अनलाइनमा समयमै प्रविष्ट गर्न र व्यवस्थापनका अन्य काम द्रूत गतिमा अघि बढाउन सजिलो भएको छ।'
उनको अनुभवमा इन्टरनेटले राहत वितरणका प्रशासनिक कामलाई सहज र छिटो बनाउन सहयोग पुर्याएको छ।
यसरी विपदमा सञ्चार सेवाको उपयोग खतराको पूर्वसूचना दिनेदेखि प्रभावितसँग सम्पर्क गर्ने, उद्धारमा समन्वय गर्ने र राहत वितरणको अभिलेख राख्नेसम्म फैलिएको देखिन्छ।
विपदमा निःशुल्क सेवा दिन कति खर्च भयो?
भोटेकोशी–त्रिशूली र बूढीगण्डकी बाढी बेला प्रभावित क्षेत्रमा उपलब्ध गराइएको सञ्चार सेवा तथा अन्य सुविधाबारे हामीले नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेसँग पनि कुरा गरेका छौं।
उनका अनुसार विपद प्रभावित नागरिकलाई निःशुल्क सञ्चार सेवा उपलब्ध गराउने, उद्धार तथा राहतमा खटिएकाहरूका लागि मोबाइल चार्जिङ सुविधा मिलाउने र सरकारी निकायलाई इन्टरनेट सेवा उपलब्ध गराउने कामलाई टेलिकमले प्राथमिकता दिएको थियो।
'विपदको समय नागरिकहरूलाई एकअर्कासँग जोड्नु नै टेलिकमको महत्त्वपूर्ण पाटो हो,' उनले भने।
लामिछानेका अनुसार संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा नियमित तथा आपतकालीन सहयोग गर्दै आएको छ।
उनले यस वर्ष मात्रै विपदमा कुल २० करोड रूपैयाँ बराबरको सहयोग पुर्याएको बताए।
त्यसमध्ये प्रभावित क्षेत्रका नागरिकलाई भ्वाइस कल, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउँदा करिब आठ करोड रूपैयाँ खर्च भएको उनको भनाइ छ।
यद्यपि विपदमा सञ्चार सेवाको प्रभावलाई खर्चको आकारले मात्र मापन गर्न सकिँदैन। जोखिममा परेका कति मानिससम्म समयमै सूचना पुग्यो, कतिले त्यसको आधारमा सुरक्षित हुने अवसर पाए र विपदपछि कति प्रभावकारी रूपमा सम्पर्क कायम रह्यो भन्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
गोरखा र धादिङका स्थानीयले सुनाएका अनुभव यसैका केही उदाहरण हुन्।
कसैले मोबाइलमा आएको चेतावनी पाएर आफ्ना बालबालिकालाई विद्यालयबाट निकाले। कसैले माथिल्लो भेगमा सुनेको असामान्य आवाजपछि तल्लो बस्तीका आफन्तलाई फोन गरेर सतर्क गराए।
अर्कातर्फ बाढीले विद्युत र इन्टरनेट बन्द गरिदिँदा सञ्चार सम्पर्क कायम राख्न कठिन भएको अनुभव पनि उनीहरूले सुनाए।
यी घटनाले विपद बेला सञ्चार सेवाको आवश्यकता र त्यसलाई निरन्तर सञ्चालनमा राख्नुपर्ने चुनौती दुवै देखाउँछन्।
गोरखाकी निमा तामाङको अनुभव भने केही फरक थियो।
उनीसम्म बाढीको खबर पुर्याउन फोन आवश्यक परेको थिएन। बाढी आइसकेको थियो। उनी ज्यान जोगाउन भागिसकेकी थिइन्। तर सुरक्षित ठाउँ पुग्दा पनि उनको मन शान्त थिएन।
बूढीगण्डकी नजिकै आफन्तको घर गएका छोराको अवस्थाबारे थाहा नपाउँदा उनी चिन्तित थिइन्।
मोबाइल थियो, तर ब्यालेन्स थिएन। रिचार्ज गर्ने पसल बाढीले बगाएको थियो।
त्यस्तो अवस्थामा निःशुल्क फोन गर्ने सुविधा पाएपछि उनले छोरासँग सम्पर्क गर्न सकिन्।
निमाका लागि त्यस दिन सञ्चार सेवाको महत्त्व कुनै प्रविधि वा पूर्वाधारको विवरणमा होइन, छोरासँग कुरा गर्न पाएको अनुभवमा थियो।
त्यसैले उनी भन्छिन्, 'हाम्रा लागि त यो फोन सेवा यसपालि हराएको खुसी र आशा फर्काउने माध्यम बन्यो।'
***