सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशालकुमार जैसवाल, भारतको मोतिहारी कोटोहा–१० घर भएका ४२ वर्षीय रञ्जनकुमार र सिरहाको सिरहा नगरपालिका–५ घर भई काठमाडौंको बल्खु बस्ने ५१ वर्षीय राम कलेवर यादव छन्।
प्रहरीका अनुसार उनीहरूले असोज २६ गते दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु सडक खण्डमा उपत्यकाबाहिर जाने यात्रुलाई आफूले भनेको गाडीमा चढ्न दबाब दिने गरेका थिए।
विभिन्न यातायात कम्पनीका काउन्टर कर्मचारीहरूले यात्रुलाई जबर्जस्ती गाडीतर्फ तान्ने, सामान तान्ने, सस्तो टिकटको प्रलोभन देखाउने र आफूले भनेकै सवारीसाधनमा यात्रा गर्न दबाब दिने गरेको प्रहरीको भनाइ छ।
यात्रु मिलाइदिएको भन्दै सवारी चालकबाट रकम असुल्ने र सम्राट मेट्रो यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग रकम माग्ने गरेको पनि प्रहरीको भनाइ छ। रकम नदिए गाडी जान नदिने भन्दै धम्की दिने, सार्वजनिक स्थानमा हातपात गर्ने तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूको खोजी गरेको थियो।
खोजतलासका क्रममा जैसवाल र रञ्जनकुमारलाई बल्खुबाट तथा यादवलाई काठमाडौंको माइतीघर चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।