भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।
अध्यागमन विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र आफूले प्राप्त गरेको भिसाको उद्देश्य विपरीत कार्य गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, मोरङले अनुसन्धान तथा कारबाहीका लागि असोज २३ गते विभागमा उपस्थित गराएका उनीहरूको भिसा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ।
उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालाती मार्गको ‘सुन्दर डाँडा’ क्षेत्रमा रहेको नेपाल न्यू कोभिनेन्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए।
पर्यटक भिसामा नेपाल आएका उनीहरू धार्मिक गतिविधिमा सहभागी भएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
विभागका अनुसार सबै २४ जनाको भिसाको म्याद वैध रहे पनि अध्यागमन कानुनबमोजिम जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
साथै, नेपालबाट प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरूलाई प्रतिबन्ध समेत लगाइएको छ।