आइतबार बिहान सबेरै हिमालतिरबाट आएको भीषण बाढीमा चुमनुब्रीकी ३३ वर्षीया मिङ्मा डोमाले ७१ वर्षीय बुबा गुँदेजु मात्रै गुमाइनन्।
उनले आफ्ना चार बालबच्चाका बुबा ४१ वर्षीय श्रीमान पेम दोर्जेलाई पनि गुमाइन्। नेपाली बोल्न नजान्ने मिङ्मा डोमामाथि परेको यो बज्रपातपछि उनी र उनका माइतीजन असाध्यै पीडामा छन्।
आइतबार बिहानै उत्तरी गोरखाको मनास्लु क्षेत्रको शृङ्गी (चमार) हिमालतिरबाट एक्कासि आएको भीषण बाढीमा चुमनुब्रीकी जाम्योङ छेदुप लामाले आफ्ना प्यारा बुबा ७२ वर्षीय गुँदेजु लामा र बहिनी मिङ्मा डोमाका श्रीमान ४१ वर्षीया पेम दोर्जेलाई पनि गुमाइन्।
बिहान ४ बजेतिर आएको त्यो विपत्तिपछि चमार हिमालमुनिको खर्कमा गोठ बनाएर चौंरी र भेडा पाल्दै जीविका चलाउने दुई महिलासहित पाँच जना अझै बेपत्ता छन्।
घटनाको चौथो दिन साँझसम्म पनि उनीहरूको अत्तोपत्तो छैन।
आइतबार चुमनुब्रीमा आएको बाढीपछि बेपत्ता भएका पाँच जनामध्ये दुई जना जाम्योङ छेदुपकै परिवारका सदस्य हुन्। उनीहरू जीवितै भेटिने आशा मारेपछि परिवारले दुई दिनपछि बौद्ध विधि अनुसार भ्रागर गाउँस्थित माइतीघरमा शोकशान्ति पूजा सुरू गरेको छ।
बुबा बेपत्ता भएको शोकमा रहेकी जाम्योङ छेदुप र उनको परिवारलाई अहिले बहिनी ३३ वर्षीया मिङ्मा डोमाको भविष्यको चिन्ताले पनि सताएको छ।
आफ्नो परिवारले भोगिरहेको असह्य शोक र पीडाबारे जाम्योङ छेदुपले एकै सासमा भनिन्, 'उसका चार वटा बच्चा छन्। बुढालाई बाढीले बगाएपछि अब उनको ठूलो परिवारलाई कसले हेर्ने होला? बुढाले सात लाख रूपैयाँ, भएजति सुनचाँदी र कागजपत्र सबै माथि गोठमै लगेर राखेका थिए। अब सबै बगाएर खतम भयो। बहिनीलाई र उसका बच्चालाई अब कसले हेर्छ होला?'
मैले मिङ्मा डोमासँग मोबाइल फोनमा कुरा गर्न खोजेँ। तर, उनले नेपालीमा जबाफ दिन सकिनन्।
उनले चुमनुब्री क्षेत्रमा बोलिने लामा भाषामा केही भनिन्, जुन मैले बुझ्न सकिनँ।
त्यसपछि उनकी दिदी जाम्योङ छेदुपले फोन समातेर बहिनीको व्यथा र अवस्था सुनाइन्।
जाम्योङ छेदुपले बहिनीको पीडा फेरि दोहोर्याइन्, 'उसका तीन छोरा र एक छोरी छन्। अब श्रीमान नभएपछि मिङ्मा डोमाले एक्लैले बच्चाहरूलाई कसरी हुर्काउँछिन् होला? नेपाल सरकारले उनलाई र हामीजस्ता अन्य पीडितलाई कसरी सहयोग गर्छ होला?'
असोज २५ गते बिहान सबेरै उत्तरी गोरखाको चुमनुब्रीमा बूढीगण्डकीको मुहान क्षेत्र केहीबेर थुनिने गरी आएको भनिएको भेलबाढीले हिमाली खर्कमा गोठमा बस्दै आएका गुँदेजु लामासहित चार जनालाई बगाएको थियो। उनीहरू बेपत्ता भएपछि जीवितै भेटिने आशा मारेका परिवारजन अहिले शोकशान्ति पूजामा व्यस्त छन्। तस्बिर सौजन्य: लोबसाङ लामा
गाउँपालिका अध्यक्ष निमा लामामार्फत उनको वडा कार्यालयमा सहयोगीका रूपमा काम गर्ने लोबसाङ लामाको मोबाइल नम्बर पाएपछि जाम्योङ छेदुपको परिवारले भोगिरहेको शोक र पीडाबारे थाहा पाउन सम्भव भएको हो।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी नदीको मुहान क्षेत्र केही बेर थुनिएको र त्यसपछि अचानक फुटेको अनुमान गरिएको छ। त्यसैका कारण ठूलो भेलबाढी आएको हो।
निमा लामाका अनुसार आइतबार बिहान ४:२४ बजेतिर भेलबाढी आउनेबित्तिकै खोला किनारका बस्तीमा बस्ने मानिसलाई मोबाइल फोनमार्फत सतर्क गराइएको थियो।
त्यसैले ठूलो मानवीय क्षति हुन पाएन।
तैपनि, आकस्मिक बाढीले चुमनुब्री गाउँमा करिब ३५ घर, विद्यालय भवन र ६ वटा झोलुंगे पुल बगाएको छ।
उपल्लो मनास्लु क्षेत्रमा पर्ने शृङ्गी हिमाल नजिकैको कुनै खोँचबाट अचानक बाढी आएको अनुमान छ। त्यसले फेदीमा रहेको खर्कका चार गोठ बगाएको थियो।
बाढीमा गुँदेजु र उनका ज्वाइँ पेम दोर्जे (मिङ्मा डोमाका श्रीमान्) सहित ६८ वर्षीय सोनम लामा, ६६ वर्षीय सोमभुटी लामा र ६० वर्षीय पेम्बु आजे बेपत्ता भएका छन्।
जाम्योङ छेदुपका श्रीमान लोबसाङ लामाका अनुसार बाढीपछि आफन्तहरू गोठ रहेको क्षेत्रमा बेपत्ता पाँच जनाको खोजीमा जुटेका थिए।
'तर, हामीले दुई दिनसम्म खोज्दा पनि केही भेटिएन। नेपाली सेनाले ड्रोनले खोज्दा पनि उनीहरू कतै भेटिएनन्। त्यसपछि हामी माया मार्न बाध्य भयौं,' उनले भने।
डेढ महिनाअघि रसुवाको त्रिशूली उपत्यकामा आएको बाढीको झल्को दिने गरी चुमनुब्रीमा माथिबाट आएको भेलबाढीले लोबसाङ लामाको गाउँ मात्र होइन, नजिकैको ससुराली गाउँ भ्रागरका बासिन्दालाई पनि त्रसित बनाएको छ।
बेघर भएका करिब ३५ परिवारका लागि आवश्यक राहत सामग्री अझै पुग्न सकेको छैन।
बाढीपछि चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरूङ र अन्य पदाधिकारी राहत तथा उद्धार कार्यमा व्यस्त छन्। उनीहरू यससँग सम्बन्धित बैठकहरूमा पनि सहभागी भइरहेका छन्।
सडक सम्पर्कसँगै पदयात्रा मार्गसमेत क्षतिग्रस्त भएपछि तल्लो गोरखासहित देशका अन्य भागसँग चुमनुब्रीको सडक सम्पर्क टुटेको छ।
अध्यक्ष निमा लामाले भने, 'चुमनुब्री क्षेत्रमा ठूलो विपद आएको सबैलाई थाहै छ। अब नेपाल सरकारले तत्कालै यहाँलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ। आवश्यक राहत, उद्धार, क्षतिपूर्ति, पुनर्वास तथा पुनर्निर्माणका लागि तत्काल काम थाल्न हामी जोडदार माग गर्छौं।'
विपदपछि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरूङको व्यस्ततासँगै थकान, चिन्ता र पीडा पनि थपिएको छ।
उनी भन्छिन्, 'हेर्नुस् न, यहाँ आउने बाटो र पुल केही पनि छैन। अब हिँडेर पनि आउजाउ गर्न सकिने अवस्था छैन। इन्टरनेट त परैको कुरा, बिजुलीबत्ती पनि छैन। मोबाइल फोन चार्ज गर्नसमेत बिजुली छैन।'
उनका अनुसार घरसँगै धनसम्पत्ति र सबै कागजात गुमाएका मानिसहरू सहयोग मागिरहेका छन्। उनीहरू राहतको प्रतीक्षामा छन्। तर, अहिले राहत ढुवानी गर्न सक्ने अवस्था पनि छैन।
'घर, धनसम्पत्ति र सबै कागजात गुमाएका मानिसहरू सहयोग मागिरहन्छन्, राहत खोइ भनिरहन्छन्। तर, अहिले हामी राहत ढुवानी गर्न सक्ने अवस्थामा पनि छैनौं,' उनले भनिन्।
असोज २५ गते बिहान सबेरै उत्तरी गोरखाको चुमनुब्रीमा बूढीगण्डकीको मुहान क्षेत्र केहीबेर थुनिने गरी आएको भनिएको भेलबाढीले गोठ बगाएको हिमाली खर्क। तस्बिर सौजन्य: लोबसाङ लामा
चुमनुब्रीवासीको अपेक्षा छ— बाढीपछि खोजी तथा उद्धारमा खटिएका नेपाली सेनाका हेलिकोप्टर अब गाउँका पीडितलाई राहत पुर्याउन र सडक तथा पुल निर्माणका सामग्री ढुवानी गर्न प्रयोग हुनेछन्।
आकस्मिक भेलबाढीमा बुबासँगै अर्को गोठमा सुतेका श्रीमान पेम दोर्जे गुमाएकी चुमनुब्रीकी मिङ्मा डोमा आफ्नो शोक र पीडा नेपाली भाषामा व्यक्त गर्न सक्दिनन्।
त्यसैले म झनै जिज्ञासु हुन्छु— मिङ्मा डोमालाई कस्तो सहयोग आवश्यक होला?
उनकी दिदी जाम्योङ छेदुपले बहिनी र अन्य पीडितको आवश्यकताबारे भनिन्, 'हामीलाई तत्कालै राहत चाहिएको छ। बहिनीले श्रीमानसँगै सबै सम्पत्ति, गहना र कागजात गुमाएकी छन्। सरकारले हाम्रो अवस्था बुझिदिनुपर्छ।'
उनले थपिन्, 'साथै, हिमाली क्षेत्रमा यस्तो विपत्ति किन भइरहन्छ? त्यसको अध्ययन र अनुगमन हुनुपर्छ। त्यसका लागि सरकारले आवश्यक व्यवस्था गरेन भने हामी हिमाली क्षेत्रका मानिस कसरी बाँच्ने?'
७२ वर्षीय घरमूली गुँदेजु बेपत्ता भएको बेला ज्वाइँ पेम दोर्जे पनि बाढीमा हराएपछि लामा परिवार चार बच्चाकी आमा मिङ्मा डोमाको भविष्यलाई लिएर असाध्यै चिन्तित छ।
उनीहरू जीवितै भेटिने आशा मारेपछि आमा छिरिङ डोल्मासहित दिदीबहिनी र दाजुभाइ भ्रागर गाउँको सानो घरमा शोकशान्ति पूजामा व्यस्त छन्।
बौद्ध विधिअनुसार शोकशान्ति पूजाको यो क्रम एक वर्षसम्म चलिरहनेछ।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्।)
एक्सः @surendraphuyal