१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली टिमका फरवार्ड राजेश परियारले भारतको दोस्रो डिभिजनको लिग आई लिग-२ खेल्ने क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएका छन्।
राजेशले भारतको अहमदाबादको अरा एफसीबाट खेल्ने पक्का भएको छ। उनी अर्को महिनादेखि सुचारू गर्ने भनिएको दोस्रो डिभिजनको अन्तिम चरण खेल्न बिहीबार भारत जानेछन्।
भारतपुगेपछि क्लबसँगको सम्झौतामा हस्ताक्षर हुने परियारले सेतोपाटीलाई बताए। अहिले सम्झौता गर्नका लागि अनौपचारिक सहमति भएको र सम्झौता रकम खुलाउन नमिल्ने राजेशको भनाइ छ।
नेपालको यु१६, यु१८ हुँदै उनी गत मंसिरमा भएको सागका लागि यु२३ टिममा परेका थिए।
विमल घर्तीमगर, अञ्जन विष्ट र दिनेश राजवंशी अनुशासनको कारबाहीमा परेपछि उनीहरूको सट्टामा राजेश, प्रेजन तामाङ र राजीव लोप्चनलाई राखिएको थियो।
नेपालका लागि स्वर्ण जित्ने टिममा रहेका राजेशले ए डिभिजन लिग भने न्युरोड टिमबाट खेलेका थिए।
भारतीय क्लबमा खेल्नु उनका लागि नयाँ अनुभव हुनेछ।
आइ लिग-२ को अन्तिम चरणमा पाँच टिमबाट प्रतिस्पर्धा हुने तय छ। जसमा राजेशले खेल्ने अरासहित, कलकताको भवनीपुर क्लब, कलकताकै मोहमेडन र बंगलुरु युनाइटेडबीच खेल हुनेछ।
अन्तिम चरणमा पुगेको केरलाले भाग नलिने बताएपछि पाँच टिमबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो।
मोहमेडनमा नेपालका अर्का फरवार्ड अभिषेक रिजाल आबद्ध छन्। रिजाल पनि नेपालले सागको स्वर्ण जित्नको टिमका सदस्य हुन्। उनी भारत गएको दुई साता भइसकेको छ।
आइ लिग२ को अन्तिम चरणको विजेता आइ लिगमा बढुवा हुनेछ।