इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडमाथि ३-० गोलको जित निकालेको छ।
आइतबार राति सकिएको खेलमा सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा गरी दुई गोल गर्दा फिल फोडेनले १८ मिनेटमा गोल गरेका थिए।
हालान्डले दुई गोल गर्नुअघि फोडेनले अग्रता दिलाउदा सिटी घरेलु मैदानमा सहज स्थितिमा देखियो। यसअघि अन्तर्राष्ट्रिय ब्रेकअघि उसले लगातार दुई खेलमा हार ब्यहोरेको थियो।
पहिलो हाफमा फोडेनबाट उत्हासित बनेको सिटीले दोस्रो हाफमा हाल्यान्डको दुई गोलको मद्दतमा शहरी प्रतिद्वन्द्वीलाई सजिलै पराजित गर्यो।
खेलमा विङ्गर जेरेमी डोकुले पहिलो दुई गोलमा महत्वपूर्ण भूमिका खेले। उनले दिएको पासमा फोडेनले १८ मिनेटमा हेडरबाट गोल गरे। सिटीले ५३ मिनेटमा अग्रता दोब्बर पार्दा पनि डोकुले नै पास दिएका थिए। उनको पासमा स्टार स्ट्राइकर हालान्डले लुक शालाई छकाउँदै सुन्दर फिनिस गरेका थिए।
युनाइटेडले फाइनल थर्डमा फेरि राम्रो गर्न नसक्दा यो सिजनमा एक मात्र जितसँगै १४औं स्थानमा झरेको छ। जबकि सिटीले जितसँगै आठौं स्थानमा उक्लियो।
हालान्डले सिजनमा चार लिग खेलमा पाँच गोल गरिसकेका छन्। उनले १०१ प्रिमियर लिग खेलमा ९० गोल पुर्याएका छन्।
लिगअन्तर्गत आइतबार नै शीर्ष स्थानको लिभरपुलले वर्नलीमाथि १-० गोलको जित निकाल्यो। लगातार चार खेलमा जित निकालेको लिभरपुलको जितमा मोहमद सलाहले दोस्रो हाफको इन्जुरी समयको पांँचौ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।