अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारका लागि तय भएको नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय फुटबल खेल रद्द गरेको छ।
सोमबार काठमाडौंमा भएको जेनजीको प्रदर्शनको कारण दशरथ रंगशालामा सुरक्षा चुनौती देखिएको भन्दै खेल रद्द गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए।
खेलका लागि अनलाइन टिकट काटेकाहरूको रकम खल्ती एपमार्फत् फिर्ता हुने बताइएको छ।
नेपाल र बंगलादेशबीचको खेल फिफा विन्डोअन्तर्गत हुन लागेको थियो। खेलपछि फरवार्ड भरत खवासले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिन लागेका थिए।
यसअघि शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ। यो खेल पनि भियतनामै हुनेछ।