राष्ट्रिय प्रजातन्त्र पार्टी समान विचार भएका व्यक्ति समूह संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग वार्ता गर्ने भएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको नवनिर्वाचित केन्द्रीय समिति बैठकले बुधबार वार्ताका लागि समिति पनि गठन गरेको हो।
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकिरहेको छ। त्यस्तो विचारसँग समानता राख्नेहरूसँग वार्ता गर्न नवनिर्वाचित केन्द्रीय पदाधिकारी बैठकबाटै समिति गठन गरिएको हो।
समिति महामन्त्री धवलशमसेर राणाको संयोजकत्वमा गठन गरिएको छ। समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी र पुष्पराज पुरूष सदस्य छन्।
लिङ्देनले एकता महाधिवेशनमा आफू विजयी भए तुरून्तै समान विचार भएकासँग वार्ता र संवाद गर्ने बताएका थिए।
यसैगरी, राप्रपा बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी महामन्त्री भुवन पाठकको नेतृत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।
यस्तै, नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारणका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको नेता मोहन श्रेष्ठले बताए।
महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि पुस महिनाको पहिलो हप्तासम्म बैठक राख्न, संगठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, संघीय निर्वाचन क्षेत्रीय समिति, प्रदेश सभा निर्वाचन समिति, स्थानीय तह अन्तर्गतका समितिलाई निर्देशन दिइएको उनले बताए।