आगामी फागुन २१ को निर्वाचनको तरंग मधेसलाई केन्द्र बनाएर देशैभरि फैलिसकेको छ।
दोस्रो धेरै निर्वाचन क्षेत्र, ३२ वटा रहेको मधेस प्रदेशको मुड नै राजनीतिक दलहरूको भविष्य निर्धारक बन्न सक्ने देखिँदा यहाँ सबैको चासो रहनु स्वाभाविक हो।
म आफै कांग्रेसमा आवद्ध भएको र मधेसको भएकाले मलाई लाग्छ — कांग्रेसले आफ्नो जरो र जग मधेसलाई बुझ्छ। जहाँ करिब दुई दशकयता मक्किएको आफ्नो जग पुनर्निर्माण गर्न र पकड कमजोर हुँदै गएको जरो सतहमा दह्रोसँग गाड्न र फैलाउन कांग्रेस रणनीतिक सन्देशसहित अघि बढेको छ।
विगतमा प्रभावकारी नीति लिन नसक्दा मधेससँग नेपाली कांग्रेसको सम्बन्धको डोरी तन्किएर दुरी केही बढेको पक्कै हो, तर चुँडिएकै होइन। नवीनीकृत कांग्रेस यति बेला मधेससँगको सम्बन्धमा सुधार ल्याउन प्रयत्नरत छ।
आसन्न निर्वाचनलाई नेपाली कांग्रेसले मधेससँग दुरी कम गर्ने एउटा महत्त्वपूर्ण कडी मानेको छ। मधेसको मुड बुझेर सम्बन्धको डोरीमा सन्निहित दुईतर्फी खिचावलाई ढील दिँदै आपसमा नजिकिनका लागि यो निर्वाचनलाई सदुपयोग गर्ने तर्फ कांग्रेसको मुख्य ध्येय छ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई (किशुनजी) अनि राजनीतिक चिन्तक प्रदीप गिरि जस्ता मूर्धन्य नेताहरू, जसले कांग्रेस–मधेस–देश सम्बन्ध बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो, उहाँहरूकै पथमा नवीनीकृत नेपाली कांग्रेसलाई सभापति गगन थापाले हिँडाउँदै गर्दा अहिले मधेसमा उत्साह उभारमा छ। देशैभरि उत्सुकता पनि उत्तिकै छ।
बिपीले मधेस र पहाडको भूगोललाई जहिले पनि उत्तिकै महत्त्व दिनुहुन्थ्यो। राजनीतिक हिसाबले मधेस बिपीका लागि अझै धेरै महत्त्वमा पर्थ्यो। नेपाल राष्ट्रबारे व्याख्या गर्दा बिपीले मधेस र पहाडलाई अलग्याउनु हुन्नथ्यो।
मधेस र पहाडको सुमधुर सम्बन्धको अत्यावश्यकता औंल्याउँदै बिपी भन्नुहुन्थ्यो — मुलुक भनेको एउटा नाउ (डुंगा) जस्तो हो, जसमा चढेर मानिसहरू नदी तर्छन्। तर त्यो नाउमा यात्रारतहरू आपसमै झगडा गर्न थाले वा एकअर्काको विरूद्धमा व्यवहार गर्न थाले भने नाउ त डुब्छ। र, नाउ डुब्यो भने को बाँच्छ? अर्थात् हामीमा एकता भएन र लड्यौं भने मुलुक बिग्रिन्छ र हाम्रो पनि दुर्दशा हुन्छ।
नाउको उदाहरण भावमा बुझ्दा बिपीले मधेस र पहाडबीच गहिरो एकताको चाह राख्नुहुन्थ्यो। समुदायहरूका बीचमा सदभाव चाहनुहुन्थ्यो। सबैको पहिचान र सम्मानमा जोड दिनुहुन्थ्यो। त्यसैले हुनुपर्छ, बिपीले मधेसलाई राजनीतिक रूपमा केही हदसम्म पहाडभन्दा धेरै प्रधानता दिनुभएको थियो। मधेसप्रति यति बिघ्न भरोसा थियो कि विशेष काम, रूपान्तरण वा अभियान सुरूआतको केन्द्र प्रायः यही हुन्थ्यो।
सभापति गगन थापाले मधेस प्रदेशको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिनुभएको छ। जुन कुराबाट सभापति थापाले संस्थापक कांग्रेसको विरासतलाई आत्मसात गरेको र अहमियत दिएको प्रस्टै बुझिन्छ।
सभापति थापाको सर्लाही रोजाइका थुप्रै सन्देशहरू हुन सक्छन्। सर्सर्ती हेर्दा प्रमुख चाहिँ सामाजिक माधुर्यमार्फत राष्ट्रिय एकता नै हो।
अझै पनि नेपाली समाजमा जातजाति, धर्म–सम्प्रदाय र भूगोलका आधारमा आग्रह–पूर्वाग्रह राखिएका घटना र व्यवहारहरू देखिन्छन्, जसले समुदायलाई आपसमा विभक्त गरेको छ।
जतिसुकै पूर्वाधार र प्रविधिको विकास होस्, समुदायमा सामाजिक एकता नभएसम्म मुलुकको वास्तविक उन्नयन भएको ठहरिँदैन। समुदायको फरकपनमा एकत्वको मानसिकता जगाउने आधारभूत तत्वहरू भनेकै आपसी सदभाव, समानता र सहिष्णुता हुन्।
जसको मापन कांग्रेस सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ लाई निर्वाचनको मुकाम बनाएर आफै अनुभूत गर्नुहुनेछ र त्यो अनुभूतिलाई एकत्वका लागि आजमाउनु हुनेछ भन्ने उहाँप्रति भरोसा जताउने तमाम नेपालीहरूको विश्वास हो।
पार्टीभित्रको जोरजुलुमविरूद्ध साहसिक लडाइँ लडेर आफ्नो सामर्थ्य साबित गर्नुभएका सभापति थापाले नेपाली कांग्रेसलाई राष्ट्रिय शक्ति र आफूलाई राष्ट्रिय नेताका रूपमा स्थापित गर्न यो अर्थपूर्ण पाइला चाल्नु जरूरी थियो।
अर्को कुरा, राष्ट्रिय नेता कुनै अमूक निर्वाचन क्षेत्रमा मात्र सीमित भइरहनु हुँदैन, देशको जुनसुकै भूगोलमा ऊ स्वीकार्य हुनुपर्छ भन्ने मान्यताले पनि सभापति थापालाई सर्लाहीले तानेको हुनुपर्छ। आफ्ना लागि देशभित्रका सबै भूगोल समान हुन् र आफू जुनसुकै भूगोलमा पनि दुरूस्त हुन सक्छु भन्ने आत्मविश्वास पनि सभापति थापाको सर्लाही रोजाइमा एउटा महत्त्वपूर्ण उत्प्रेरक हो भन्नु फरक नपर्ला।
नवीनीकृत नेपाली कांग्रेसका प्रमुख नेता थापाले दृढताका साथ उठाउँदै आउनुभएको महत्वपूर्ण विषय पुस्तान्तरण र रूपान्तरण नै हो। यो विषय उहाँको सर्लाही रोजाइमा प्रस्ट झल्किन्छ।
सर्लाही रोजेर सभापति थापाले एकातिर नेतृत्वको भौगोलिक दायरा फराकिलो पार्दै रूपान्तरणको अभियानमा एउटा आयाम अघि बढाउनुभएको छ भने अर्कोतिर आफूले जित्दै आएको निर्वाचन क्षेत्र युवा उम्मेदवारलाई जिम्मा लगाएर पुस्तान्तरणको मिसाल पेश गर्नुभएको छ।
त्यस्तै, संघीय सत्ता राजनीतिको प्रणालीभित्र मधेसलाई महत्त्वपूर्ण स्थानमा राख्नुपर्ने सोच सभापति थापाको देखिन्छ। संघीय सत्तामा मधेसको सारपूर्ण नेतृत्वदायी प्रतिनिधित्व स्थापित गर्ने उहाँको अभिलासा सर्लाहीमा प्रकट भएको छ।
मधेसमै जरो भएको नेपाली कांग्रेसलाई फैलाउन यहीँकै युवाहरूलाई अगाडि बढाउनुपर्ने सभापति थापाको दृढताले पनि यहाँ ठाउँ पाएको छ। सभापति थापाको निर्वाचनमार्फत सुरू भएको यो दीर्घकालीन मधेस दौराले यहाँका युवाहरूलाई राजनीतिमा अगाडि बढ्न अवश्य हौस्याउने छ।
बिपी र प्रदीप गिरि, जसको मधेस मुद्दामा उत्कृष्ट सुझबुझ थियो, सभापति थापा धेरै हदसम्म यी नेताद्वयको राजनीति र समाजप्रतिको बुझाइलाई अनुसरण गर्नुहुन्छ। धेरै हदसम्म बिपी, गिरि लगायतबाट निर्मित मधेसप्रतिको आफ्नो बुझाइको आयतन जमिनी तहबाटै परिष्कृत पार्दै अघि बढ्न पनि मधेस झर्ने निर्णय सभापति थापाले लिएको हुनुपर्छ।
सभापति थापाको यो निर्णयप्रति उहाँका धेरै चाहिताहरू अचम्मित र संशयमा पनि छन्। कतिपय नेता–कार्यकर्ता नै सोचमग्न छन्।
सधैं जिताइरहने निर्वाचन क्षेत्र छाडेर नयाँमा जाँदा नतिजा कस्तो आउने हो भन्ने चिन्ता–चासो उनीहरूमा उठ्नु अस्वाभाविक होइन। तर देशको नेतृत्व सम्हाल्ने संकल्पका साथ रफ्तार समात्नुभएका सभापति गगनका लागि निर्वाचन क्षेत्रको बदलाव कुनै खास चुनौती होइन। समग्र वस्तुस्थिति, आवश्यकता र उपलब्धि बुझेरै सभापति थापा त्यहाँ जानुभएकोमा अधिक नेता–कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू निश्चिन्त छन्।
२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरलाई बारा–५१ र बारा–५२ निर्वाचन क्षेत्रबाट जिताएर पठाएको मधेसले गुल्मी–९१ बाट समेत गरी त्यस बेला तीन ठाउँबाट विजयी भएका सुवर्ण शमशेरलाई मधेसले सर्वाधिक मत दिएर 'म्यान अफ द इलेक्सन' बनाएको थियो।
आसन्न निर्वाचनमा पनि सभापति थापालाई सर्लाही–४ ले अत्यधिक मतका साथ विजयी गराउँदै इतिहास सम्झाउने विश्वास आम कांग्रेसजनमा छ।
अर्थपूर्ण सन्देशहरूसहित सभापति थापाको नेतृत्वमा थालिएको पुस्तान्तरणमार्फत देशको रूपान्तरण अभियानलाई मधेसले फेरि पनि उत्साहपूर्वक अनुमोदन गर्ने उत्कृष्ट खुराकहरू चाँडै सार्वजनिक होलान् नै।
देश जोड्ने स्वार्थलाई प्रधान ठानेर, त्यसका लागि संघीय सत्ताको नेतृत्वमा मधेसलाई उभ्याउने सभापति थापाको चाहलाई मधेसले योपल्ट अनुमोदन गर्ने भरोसा दिलाउँदै गएको छ। जुन भरोसा एकाएक उत्पन्न भएको पक्कै होइन, इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण मौकामा मधेसले दर्साउँदै आएको राजनीतिक चेतनाले नै यो भरोसा जगाएको हो।
सभापति थापाले सर्लाही रोज्ने निर्णयका सम्बन्धमा बिपीले भन्नुभएको एउटा कुरा स्मरण गरौं।
उहाँ भन्नुहुन्थ्यो — राजनीतिमा उचित निर्णय गर्न कुनै महामानव हुनुपर्दैन, त्यसका निम्ति ठूलो विद्वान पनि हुनु पर्दैन। तपाईं इमानदार हुनुहुन्छ भने र अलिकति तपाईंमा अनुभव छ र इमानदारीपूर्वक तपाईं निर्णय गर्नुहुन्छ भने त्यो निर्णय उचित र सुझबुझको निर्णय हुन्छ।
सभापति थापालाई मधेसमा, अझ भनौं सर्लाहीबाट प्रतिनिधिसभा सदस्य चुनिने निर्णय लिन सम्भवतः बिपीको माथिको भनाइले पनि प्रेरित गरेको हुनुपर्छ।
किनभने, यो उचित निर्णय लिन बिपीले भन्नुभएझैं सभापति थापासँग अलिकति अनुभव पनि छ र इमानदारी पनि। थप कुरा, उहाँसँग काम गर्ने जुनून र क्षमता छ। अनि हामी जस्ता लाखौं–लाखको सदभाव, माया, आशीर्वादसँगै आशा र भरोसा पनि छ।
(लेखक कञ्चन झा नेपाली कांग्रेसका नेता हुन्।)