तपाईंको नेता र मैले खोजेको नेता फरक छन्
तपाईंको नेता बलवान् छन्, मैले खोजेको नेता असल छन्
तपाईंको नेतालाई सुरक्षा चाहिन्छ, मैले खोजेको नेताले मलाई सुरक्षा दिन्छ
तपाईंको नेताले ठूला-ठूला विकासका कुरा गर्छ
मैले खोजेको नेताले साना-सानाको समस्याका कुरा गर्छ।
तपाईंको नेताले भन्छ, ‘सबै ठिक छ’
मैले खोजेको नेताले सोध्छ, ‘के ठिक छैन?’
तपाईंको नेताले तपाईंलाई खुसी बनाउँछ
मैले खोजेको नेताले सबैलाई सुखी बनाउँछ।
तपाईंको नेताले आफ्नो आलोचना नगर्नेहरूलाई पोस्छ
मैले खोजेको नेताले आफ्नै आलोचना गर्नेहरूलाई रोज्छ
तपाईंको नेताले भुइँलाई हेलिकप्टरबाट हेर्छ
मैले खोजेको नेताले भुइँबाट हेलिकप्टरलाई हेर्छ।
तपाईंको नेताले मेरो नेतालाई गन्दैन
मैले खोजेको नेताले आफैँलाई गन्दैन।
तपाईंको नेता तपाईंले रोजेको नेता भयो
मेरो नेता मैले खोजेको नेता मात्र भयो
किनभने तपाईंको नेता सिंहदरबारमा बस्छ
तर मैले खोजेको नेता त केवल मेरो कल्पनामा बस्छ।